
दार्चुला ।
दार्चुलाको अपिहिमाल गाउँपालिकाको कार्यालयसम्म पहिलोपटक जिप पुगेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ खण्डेश्वरीसम्म सडक विस्तार भएपछि बुधबार पहिलोपटक जिप पुगेको हो ।यसअघि मकरीगाडसम्म मात्रै जिप पुग्थे । मकरीगाडबाट गाउँपालिकाको कार्यालय पुग्न पैदल हिँड्नुपर्ने बाध्यता थियो । अहिले मकरीगाडदेखि खण्डेश्वरीसम्म करिब ९ किलोमिटर सडक विस्तार भएपछि गाउँपालिकाको कार्यालयसम्मै गाडी पुग्न थालेका छन् ।
गाउँपालिकाको जिप कार्यालय परिसरमा पुगेपछि स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले खुसीयाली मनाएका छन् । जिपलाई फूलमाला र बेलुनले सजाएर एकअर्कालाई बधाई दिँदै खुसी साटासाट गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए । अध्यक्ष बोहराले मकरीगाडदेखि काफलधारसम्म संघीय सरकारको बजेटबाट सडक निर्माण गरिएको बताए । काफलधारदेखि गाउँपालिकाको कार्यालयसम्म भने गाउँपालिकाले आफ्नै लगानीमा सडक विस्तार गरेको बोहराले जानकारी दिए ।
‘गाउँपालिकाको कार्यालयसम्म जिप पुग्दा हामी निकै खुसी छौँ । अब खाद्यान्न ढुवानी गर्न, निर्माण सामग्री ल्याउन र दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज हुनेछ,’ अध्यक्ष बोहराले भने । सडक पुगेपछि बिरामीलाई उपचारका लागि लैजान तथा आवतजावत गर्न पनि सहज हुने अपेक्षा गरिएको छ । यसअघि पैदल हिँडेर पुग्नुपर्ने गाउँपालिकाको केन्द्रसम्म अब जिपमै पुग्न सकिने भएको छ ।
सडक विस्तारले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ । अब पर्यटकहरू जिपमै गाउँपालिकाको केन्द्रसम्म पुगेर त्यहाँबाट नौपाटा होमस्टे लगायतका पर्यटकीय गन्तव्यमा जान सक्नेछन् । गाउँपालिकाले अब खण्डेश्वरी गाउँ बजार हुँदै वडा नम्बर ३ सम्म सडक विस्तार गर्ने लक्ष्य राखेको अध्यक्ष बोहराले बताए । ‘अब क्रमशः अन्य बस्तीमा पनि सडक पु¥याउने लक्ष्य छ । त्यसका लागि प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले भने ।
दुर्गम भौगोलिक अवस्थाका कारण लामो समयदेखि यातायातको सहज पहुँचबाट टाढा रहेको अपिहिमालमा गाउँपालिकाको कार्यालयसम्मै जिप पुग्नु स्थानीयका लागि खुसीको विषय बनेको छ । सडक विस्तारसँगै दैनिक जनजीवन सहज हुने र स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय रुकमा ठेकरे जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्