खजुरामा निःशुल्क स्वास्थ्य शिविरबाट १५३ जनाले सेवा पाए



खजुरा (बाँके) ।

बाँकेको खजुरा गाउँपालिका–२, बावादियानमा सुर्खेती समाज बाँकेले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरमार्फत डेढ सयभन्दा बढी स्थानीयले स्वास्थ्य परामर्श, उपचार र औषधि सेवा प्राप्त गरेका छन् । सुर्खेती समाज बाँकेका अध्यक्ष राजाराम सुवेदीका अनुसार शिविरमा १५३ जनाले प्रत्यक्ष लाभ उठाए ।

सुवेदीकै नेतृत्वमा गएको कार्यसमिति र स्वयंसेवक टोलीले बिहानदेखि बेलुकासम्म सेवा प्रदान गरेको थियो । उनले गाउँघरमा स्वास्थ्य सुविधाको सहज पहुँच नपाएका समुदायलाई लक्षित गरेर यस्तो शिविर आयोजना गरिएको बताए । शिविरमा नेपालगन्ज नेशनल हस्पिटल बाँकेको प्राविधिक सहयोग रहेको थियो । अस्पतालका वरिष्ठ फिजिसियन डा. कमलकुमार रस्तोगीले प्रत्यक्ष उपचार सेवा प्रदान गरेका थिए ।

शिविरमा विभिन्न रोगको सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप जाँच, मधुमेह परीक्षण, आवश्यक औषधि वितरण र स्वास्थ्य परामर्श गरिएको आयोजकले जनाएको छ । स्थानीय बासिन्दाले यस्तो खालको शिविर गाउँमै आयोजना हुँदा आफूहरूलाई ठूलो राहत भएको बताएका छन् । अध्यक्ष सुवेदीका अनुसार समाजले आगामी दिनमा पनि बाँकेका विभिन्न गाउँ–बस्तीतिर पुगेर यस्ता शिविर गर्ने योजना बनाएको छ ।

उनले विपन्न र स्वास्थ्य सुविधाबाट वञ्चित वर्गलाई लक्षित गर्दै समाज निरन्तररूपमा सामाजिक कार्यमा संलग्न रहने प्रतिबद्धता जनाए । सुर्खेती समाज बाँकेले शिक्षा, स्वास्थ्य र सामाजिक सचेतनामूलक कार्यहरू गर्दै आएको छ । यस पटकको शिविरले ग्रामीण बस्तीमा बसोबास गर्ने नागरिकलाई आधारभूत स्वास्थ्य सेवाप्रति सजग गराउनुका साथै, नियमित स्वास्थ्य जाँचको आवश्यकताबारे पनि सचेत गराएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतबार