अछाम ।
सुदूर पहाडमै पहिलोपटक अछामको बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटाका ३० वर्षीय युवक निरोज भुलको सफलतापूर्वक शल्यक्रिया भएको हो ।
अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकको टिमले सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
‘एमआरआई हेर्दा निरोजको बाँया खुट्टाको हिपको पूर्णरुपमा मरेको थियो,’ डाक्टर मन्दिपले भने, ‘उनको पुरै हिप रिप्लेसमेन्ट (खुट्टाको कम्मरमा रहेको गेडी)को प्रत्यारोपण गर्नुपर्ने थियो । हामीले उनको हिप रिप्लेमेन्ट गर्ने गरी शल्यक्रियाको तयारी ग¥यौँ । उनको बायाँ खुट्टाको हिप रिप्लेसमेन्ट गर्न सफल भयौँ ।’
डा. मन्दिपको नेतृत्वमा भएको यस शल्यक्रियामा वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर भाष्करराज पन्त, अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारी समेत संलग्न थिए । सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको यस शल्यक्रियामा साथ दिन डा. पन्त र डा. भण्डारी शुक्रबार मात्रै काठमाडौँबाट अछाम पुगेका थिए ।
बिरामीलाई अर्धबहोस गराई भित्र बिग्रिएको, खिइएको, हिँड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिप जोर्नीको हड्डी (गेडी) काटेर त्यसलाई झिकेर त्यसको ठाउँमा कृत्रिम गेडी राखिएको र त्यसमा गोलीगाँठो चल्ने घर (ठाउँ) समेत कृत्रिम बनाइएको डा. पन्तले जानकारी दिए । दुर्गम ठाउँमा पहिलोपटक भएको यो शल्यक्रियामा जोखिम हुन सक्ने र स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सम्भावनाका बिच डा. मन्दिप नेतृत्वको टिमले सफल शल्यक्रिया गरेपछि अस्पताल परिवार खुसी भएका छन् ।
शल्यक्रियामा संलग्न डा. पन्तका अनुसार निरोजलाई १ दिन मात्रै अस्पतालमा राखेर दोस्रो दिन शनिबार हिँड्न लगाएर आइतबार घर फर्काउने तयारी छ । निरोजको पूर्ण हिप जोर्नी प्रत्यारोपणका लागि बयालपाटा अस्पताल पुगेका अर्थोपेडिक सर्जन डा. पन्तका अनुसार सुदूर पहाडमै पहिलोपटक यस्तो खालको शल्यक्रिया बयालपाटा अस्पतालमा भएको बताए ।









प्रतिक्रिया दिनुहोस्