भिरमा कोरिएको नेपालको नक्साले तान्दै पर्यटक



जुम्ला ।

कुनै समय प्रयोगविहीन अवस्थामा रहेको जुम्लाको एउटा भिरालो डाँडा अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । सिंजा गाउँपालिका–३ स्थित राईकेडाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेको हो । भिरालो पहाडको विशाल पाखामा कोरिएको नेपालको भौगोलिक नक्साले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्न थालेको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा ताल पुग्ने पर्यटकका लागि अहिले राईकेडाँडा अर्को आकर्षण बनेको हो ।

नाग्म–गमगडी सडक हुँदै रारा जाने पर्यटकले सडकको छेउबाटै देखिने नेपालको विशाल नक्सा देखेपछि आफ्नो यात्रा केहीबेर रोकेर तस्बिर खिच्ने र दृश्य कैद गर्ने गरेका छन् । मोटरसाइकल, जिप तथा अन्य सवारीसाधनमा यात्रा गर्ने पर्यटक नक्सा देख्नासाथ ओर्लिएर फोटो र भिडिओ बनाउन थालेपछि यस क्षेत्रमा पर्यटकीय चहलपहलसमेत बढेको हो ।

राराको प्राकृतिक सौन्दर्य हेर्न मुगुतर्फ लागेका पर्यटकका लागि जुम्लाको राईकेडाँडा अहिले यात्राबीचको आकर्षक गन्तव्य बनेको छ । पुस्तक र नक्सामा देख्दै आएको नेपालको भौगोलिक आकृति वास्तविक पहाडको पाखामा विशाल स्वरूपमा देख्न पाउनु पर्यटकका लागि नौलो अनुभव बनेको हो । यही नौलोपनले राईकेडाँडालाई छोटो समयमै चर्चामा ल्याएको हो ।

ममता निर्माण सेवाले करिब ५२ लाख रूपैयाँँ लागतमा निर्माण गरेको नेपालको विशाल नक्सा १५० मिटर लामो र ४५ मिटर चौडा छ । सुरुमा करिब एक करोड रूपैयाँँ लागत अनुमान गरिएको उक्त संरचना ठेक्का प्रक्रियामार्फत करिब ५३ लाख रूपैयाँँमा निर्माण गरिएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजनाले ठेक्का आह्वान गरेपछि निर्माण प्रक्रिया अघि बढेको हो ।

नक्सा निर्माणको उद्देश्य पहाडमा नेपालको आकृति बनाउनु मात्र थिएन । ऐतिहासिक खस सभ्यता, भाषा, साहित्य र संस्कृतिको उद्गमस्थलका रूपमा परिचित सिंजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको नक्सामा स्थापित गर्नु पनि यसको प्रमुख लक्ष्य थियो । अहिले पर्यटकको बढ्दो आकर्षणले उक्त उद्देश्य क्रमश सार्थकतातर्फ अघि बढेको स्थानीयको बुझाइ छ ।

रारा ताल पुग्ने पर्यटकका लागि नाग्म–गमगडी सडक महत्वपूर्ण मार्ग हो । यही सडकको छेउमा रहेको राईकेडाँडाको नक्सा यात्रुका लागि सहजै देखिने भएकाले पनि यसको आकर्षण बढेको हो । अन्य पर्यटकीय संरचना खोज्दै भित्री बस्ती वा कठिन बाटो पुग्नुपर्ने अवस्था यहाँ छैन । सडकबाटै देखिने विशाल नक्साले यात्रुलाई रोक्न बाध्य बनाउने गरेको छ ।

जुम्ला तातोपानी–२ का दीपक परियार पहिलोपटक रारा जाँदा बाटोमा नेपालको विशाल नक्सा देखेपछि रोकिएर तस्बिर तथा भिडिओ खिचेको अनुभव सुनाउँछन् । उनका अनुसार नक्सा देखेपछि मोटरसाइकल तथा जिपमा आउने अधिकांश यात्रु केही समय रोकिने र तस्बिर खिचेर मात्रै अघि बढ्ने गरेका छन् । सामाजिक सञ्जालमा नक्सासँग खिचिएका तस्बिर र भिडिओ सार्वजनिक हुन थालेपछि यसको प्रचारप्रसारमा पनि सहयोग पुगेको छ । सिंजा गाउँपालिका–२ का वडाध्यक्ष तीर्थबहादुर वडका अनुसार नेपालको विशाल नक्सा हेर्न र त्यससँग तस्बिर खिचाउन नेपालका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् ।

नका अनुसार पर्यटकको आकर्षण बढ्दै गए पनि व्यवस्थित अभिलेख राख्ने, फोटो खिच्ने स्थान व्यवस्थापन गर्ने तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्ने काम भने अझै बाँकी छ । पर्यटनको सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेका कर्णालीका धेरै स्थानमध्ये राईकेडाँडाले नयाँ सम्भावना देखाएको हो । एउटा संरचनाले पर्यटकलाई रोक्न थालेपछि आसपासका स्थानीय बजार, होटल तथा अन्य सेवा व्यवसायमा समेत आर्थिक गतिविधि विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।

राईकेडाँडामा नेपालको नक्सा निर्माण गर्ने योजना गाउँपालिकाको पर्यटन प्रवद्र्धनसम्बन्धी सोचबाट अघि बढेको हो । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार विगतमा प्रयोगविहीन अवस्थामा रहेको डाँडालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी संघीय सरकारसँग बजेट माग गरिएको थियो ।

बजेट स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढेको र अहिले त्यसले पर्यटक आकर्षित गर्न थालेको अध्यक्ष धितालले बताए । उनका अनुसार खाली रहेको डाँडाको सदुपयोग गर्दै सिंजाको ऐतिहासिक पहिचानलाई पर्यटनसँग जोड्ने उद्देश्यले योजना अघि सारिएको थियो । अहिले नक्सा हेर्न आउने पर्यटक बढ्न थालेपछि राईकेडाँडालाई थप व्यवस्थित, आकर्षक र पर्यटकमैत्री बनाउने योजना गाउँपालिकाले अघि सारेको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा राईकेडाँडामै नेपालको राष्ट्रिय झन्डा निर्माणका लागि तीन लाख रूपैयाँँ विनियोजन गरेको छ । नक्सासँगै राष्ट्रिय झन्डा निर्माण भएपछि उक्त क्षेत्रको दृश्यात्मक आकर्षण थप बढ्ने र पर्यटकलाई केही समय बिताउने वातावरण तयार हुने गाउँपालिकाको अपेक्षा छ । नक्सा निर्माणको शिलान्यास २०८२ वैशाख ७ गते तत्कालीन पूर्वप्रतिनिधिसभा सदस्य विनिता कठायतले गरेकी थिइन् । सिंजा गाउँपालिका अध्यक्ष धितालको समन्वयमा पूर्वसांसद कठायतले यसका लागि बजेट विनियोजन गरेकी थिइन् ।

सिंजा नेपालको इतिहास, भाषा, साहित्य र संस्कृतिको दृष्टिले विशिष्ट महत्व बोकेको क्षेत्र हो । नेपाली खस भाषाको विकास, खस सभ्यता र ऐतिहासिक विरासतसँग जोडिएको सिंजामा यसअघि निर्माण भएको खस संग्रहालयले पनि यहाँको सांस्कृतिक पहिचानलाई उजागर गर्दै आएको छ । विष्टबाडामा रहेको खस संग्रहालय र राईकेडाँडामा निर्माण भएको नेपालको विशाल नक्साले सिंजाको पर्यटनलाई फरक–फरक आयामबाट अघि बढाउने सम्भावना देखाएका छन् । एउटा संरचनाले ऐतिहासिक तथा सांस्कृतिक विरासतको परिचय दिन्छ भने अर्कोले राष्ट्रिय भौगोलिक पहिचानलाई पर्यटकीय आकर्षणसँग जोडेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १२ गते शुक्रबार