नेपालगन्ज ।
बाँकेको नेपालगन्ज प्रदेश राजधानी बन्न नसक्ने संघीय सरकारका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले बताएका छन् । जुनसुकै प्रदेशमा गाभिए पनि अहिलेलाई नेपालगन्ज राजधानी हुने अवस्था नभएको उनले दाबी गरे ।
आइतबार नेपालगन्जमा प्रादेशिक महोत्सव २०७५ को उद्घाटन गर्दै मन्त्री राईले सो कुरा बताएका हुन् । ‘अन्य प्रदेशमा गाभिए पनि अहिलेलाई नेपालगन्ज प्रदेशको राजधानी बन्ने अवस्था देखिँदैन’ उनले भने, ‘त्यसैले जनतालाई ललिपप देखाएर भ्रममा नपार्दा हुन्छ ।’ नेपालगन्जमा राजधानी नभएर कर्णाली प्रदेशमा जाने भन्ने कुरालाई मन्त्री राई बेमौसमको कुराको संज्ञा दिए ।
उद्घाटन समारोहमा अघि बोल्ने वक्ताहरुले ५ नम्बर प्रदेशको राजधानी बाँके नभए कर्णाली प्रदेश गाभिनुपर्ने बताएपछि मन्त्री राईले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘जुनसुकै प्रदेशमा बाँके बर्दिया गए पनि अहिले नेपालगन्ज राजधानी हुन सक्दैन’ उनले भने, ‘प्रदेश राजधानीको नाममा जनतालाई ललिपप देखाउन अहिले आवश्यक छैन ।’
संविधान संशोधनबाट मात्र सम्भव हुने संवेदनशिल कुरामा जनतालाई बहकाउन नहुने उनले बताए । केही समययता यहाँको एउटा समूह बाँकेलाई राजधानी तोक्न माग गर्दै अभियान चलाइराखेको हो । त्यही क्रममा आइतबार समेत महोत्सवको उद्घाटन सत्रमा बोल्ने यहाँका अगुवाहरुले संघीयताले नेपालगन्जलाई पछाडी पार्ने संकेत गरेका थिए ।
मन्त्री राईले अन्य जिल्लाले समेत बाँकेबाट विकासको नमुना सिक्नेगरी विकासको काम भइरहेको बताए । ‘अबका केही वर्षमा ७६ जिल्लाले बाँकेबाट विकास के हो भन्ने कुरा सिकेर जान्छन् । विकास र समृद्धिमय बाँके बन्छ ।’
उनले भने जाती, धर्म, सम्प्रदायको संरक्षण हुने तर त्यसैका नाममा राजनीतिक गरेर नेपालगन्जलाई मनोबैज्ञानिकरुपमा बिभाजन गर्ने दिन गए । प्रादेशिक महोत्सवको उद्घाटन समारोहमा संघिय, प्रदेश सांसद, व्यवसायी लगायतले आफ्ना धारण राखेका थिए ।










प्रतिक्रिया दिनुहोस्