कोहलपुर ।
एकै गाउँका दुई युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि राप्तीपारीको सर्रा गाउँ शोकमा डुबेको छ । शनिबार बिहानै बाँकेको राप्तीसोनारी गाउँपालिका ७ मा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा स्थानीय दुई युवकको मृत्यु भएको थियो । एउटै सवारी दुर्घटनामा एकै गाउँका दुई युवकको निधन भएपछि गाउँ नै शोकमा डुबेको स्थानीय सियाराम थारुले जानकारी दिए । ‘एकाबिहानै गाउँको नराम्रो खबर सुन्नुप¥यो’ उनले भने, ‘एकैपटक गाउँका दुई होनाहार युवाले ज्यान गुमाएपछि कसैका आँखा ओभाएका छैनन् ।’ हुलाकी राजमार्गमा पर्ने भगवती सामुदायिक भवन अगाडि शनिबार बिहान साढे १ बजे ट्याक्टर र मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनाको केहीबेरमा नै मोटरसाइकलमा सवार दुवै जनालाई स्थानीयले उपचारका लागि नेपालगञ्ज पु¥याएका थिए ।
नेपालगञ्ज नर्सिङहोममा पु¥याएलगत्तै डाक्टरले उनीहरुलाई मृत घोषणा गरे । अस्पताल नपुग्दै दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नरैनापुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको १ त २९०१ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आइरहेको म २ प ७०३४ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परेर राप्तीसोनारी गाउँपालिका ७ सर्राका २४ वर्षिय सुमन कुमार थारु र सोही ठाउँका १५ वर्षिय सन्जीत धमलहवा रहेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । मृतकहरु नाताले दाजुभाई हुन् । मृतक सुमनले स्थानीय एक प्रेट्रोल पम्पमा काम गर्दथे भने सन्जीतले नेपाल राष्ट्रिय मावि सर्रीमा कक्षा ९ मा पढ्दै थिए । ‘एकैपटक गाउँले दुई युवाहरु गुमाउँदा ठूलो क्षती पुगेको छ’ वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले भने ।
उनका अनुसार दुई युवकको सवारी दुर्घटनामा परेर एकैपटक ज्यान भएपछि सर्रा गाउँसहित ७ नम्बर वडा नै शोकमा डुबेको छ । ‘हुलाकी सडक बनेसँगै गाउँहरु खुसी भएका थिए’ वडा अध्यक्ष थारुले भने, ‘चौडा ठाउँमा नै सवारी दुर्घटना हुँदा युवाहरुले ज्यान गुमाएपछि स्थानीयहरु चिन्तित छन् ।’ गाउँ गाउँमा सडकको पहुँच पुगेसँगै अब ट्राफिक सचेतना फैलाउनुपर्ने आवश्यकता उनले औल्याए । ‘पहिले सुगम जिल्लाको कर्णाली भनिने चिनिने बघौडामा राम्रो सडकको पहुँच पुगिसकेको छ’ वडा अध्यक्ष थारुले भने, ‘अब सवारी दुर्घटना न्युनिकरणको लागि यता तिर पनी ट्राफिक प्रहरीले ध्यान दिनुपर्छ । नत्र अझै सवारी दुर्घटनाका कारण धेरैको अकालमा ज्यान जानसक्छ ।’
फरार ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए । स्थानीयका अनुसार क्षमता भन्दा बढी काठ बोकेको ट्याक्टरको अगाडिको एउटा लाइट बल्ने गरेको थिए । मध्यरातमा ट्याक्टरको एउटा मात्र लाइट बलेका कारण मोटरसाइकल चालक झुक्किएर दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् । ‘ट्याक्टरका दुवै लाइट बलेका भए दुर्घटना नहुन पनी सक्थ्यो’ एक स्थानीयले भने, ‘लोभर लोड बोकेर आइरहेको ट्याक्टर त्यसैमा पनी एउटा मात्र लाइट बल्दा ट्याक्टरमा मोटरसाइकल ठोक्किन पुग्यो ।’
जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका अनुसार हुलाकी राजमार्ग निर्माण भएसँगै सवारी दुर्घटनाको दर समेत बढ्दो क्रममा रहेको छ । केही महिना पहिले नरैनापुरमा ट्राफिक प्रहरी पठाइए पनी स्थानीयबासीले सहयोग नगर्दा फिर्ता भएका थिए । अहिले हुलाकी राजमार्गमा ट्राफिक प्रहरी नहुँदा सार्वजनिक तथा निजी सवारी साधनहरु ट्राफिक नियम मिचेर सञ्चालन भइरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्