17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बाँकेमा हराउँदै सीमा स्तम्भ, बेखबर सरकार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १, २०७८  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेटक्वाटर बागेश्वरीका अनुसार खजुरा गाउँपालिका–१, स्थित मान खोलाले एक, डडुवा गाउँपालिका–१ स्थित एक र नरैनापुरस्थित गंगापुरमा दुईवटा मुख्य स्तम्भ खोलाले बगाएको छ । सशस्त्र प्रहरीका अनुसार दुई सय ७९ वटा सहायक स्तम्भमध्ये सातवटा बगेका छन् ।

कोहलपुर । 

बाँकेको पूर्व र दक्षिण गरेर भारतसँगको करिब ६५ किलोमिटर खुल्ला सिमाना जोडिएको छ । पूर्वतर्फ नेपाल भएर भारतमा बग्ने राप्ती नदी हुँदै राप्तीसोनारी वडा नम्बर ४ को महेशपुर र दक्षिणमा मान खोलासम्म गरी ६५ किलोमिटर भारतसँगको खुल्ला सिमाना छ ।

खुल्ला सिमाना भएकै कारण नेपाल–भारत सीमा छुट्याउने सीमास्तम्भ क्रमशः हराउने र सर्ने क्रम जारी छ । जिल्लाको मान खोलादेखि राप्तीसोनारीको महेशपुरसम्म आठवटा मुख्य सीमास्तम्भ हराएका छन् भने दजर्न बढी सहायक सीमास्तम्भ हराएका छन् । दिन प्रतिदिन सहायक सीमा स्तम्भ नेपालतिरको जमिनमा सर्ने क्रम रोकिएको छैन ।

बाँकेको सीमामा मुख्य र सहायक गरी तीन सय सातवटा स्तम्भ छन् । ३२ मुख्य स्तम्भमध्ये चारवटा खोलाले बगाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेटक्वाटर बागेश्वरीका अनुसार खजुरा गाउँपालिका–१, स्थित मान खोलाले एक, डडुवा गाउँपालिका–१ स्थित एक र नरैनापुरस्थित गंगापुरमा दुईवटा मुख्य स्तम्भ खोलाले बगाएको छ । सशस्त्र प्रहरीका अनुसार दुई सय ७९ वटा सहायक स्तम्भमध्ये सातवटा बगेका छन् । नरैनापुरमा चार र डुडुवामा तीनवटा सीमा स्तम्भ खोलाले बगाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेटक्वाटर बागेश्वरीका अनुसार नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित सहायक स्तम्भ अहिलेसम्म भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेटक्वाटर बागेश्वरी स्थापना हुनुअगावै यी स्तम्भ हराएका थिए । ६३८।११(१०।३), ६३८।१२(१०।४), ६३९।१९(११।१९) र ६३९।२०(११।२०) नम्बरका सहायक स्तम्भ हराएका हुन् ।

खजुरा गाउँपालिका–१ देखि डुडुवा गाउँपालिका–१, सम्म एक सय ४३ वटा सीमा स्तम्भहरु दुवै पक्षको संयुक्त टोलीले मर्मत तथा नयाँ निर्माण गरिरहेको थियो । मर्मतकै समयमा कोभिड–१९ (कोरोना भाइरस) का कारण सीमा स्तम्भको मर्मत तथा नयाँ निर्माणको काम अवरुद्ध भयो । अहिले पुनः उक्त कार्य सञ्चालन हुन सकेको छैन । त्यस्तै सशस्त्र प्रहरीका अनुसार डुडुवा गाउँपालिका–१ देखि राप्तीसोनारी गाउँपालिका–१, स्थित जिल्लाको सीमा इलाकासम्मका एक सय ६८ सीमा स्तम्भहरु मर्मत तथा नयाँ निर्माण गर्न बाँकी छन् ।

खोलाले बगाएका सीमा स्तम्भ पुनस्र्थापना नहुनु र दिन प्रतिदिन सीमा स्तम्भ जीर्ण हुँदै जाँदा पनि नेपालतर्फका सरोकारवाला निकायले ध्यान नदिएको प्रति सीमावासी चिन्तित भएका राप्तीसोनारी–४ झुरहुवाका स्थानीय भूषण थारुले बताए । २०७० साउन ३२ गते नरैनापुर गाउँपालिका–६, गंगापुरस्थित राप्ती नदीले ६४३ (१४) नम्बरको मुख्य सीमास्तम्भ बगायो । उक्त पिलर स्थानीयले खोज्ने प्रयास गरे पनि पत्ता लागेन । ‘गाउँ हुँदै नदी भारततिर बगेको छ । बालुवाको बगर छ । पानी र बालुवामा नेपाल–भारत सीमा यकिन हुन समस्या छ,’ स्थानीय नरैनापुर–५ का जाकिर नाउ भन्छन्, ‘समयमै सीमास्तम्भ पहिचान गरिएन भने भविष्यमा सीमा विवाद हुन सक्छ ।’

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले त्यहाँ निगरानी बढाउँदै आएको स्थानीय बताउँछन् । तर, नेपाल सरकार भने सचेत देखिन्न । सीमास्तम्भ खोज्ने प्रयास हालसम्म भएको छैन । दुई मुलुकको जिल्लास्तरीय सुरक्षा अधिकारीबीचको काउन्टर पार्ट मिटिङमा त्यसबारे छलफल हुने गरेको छ । तर, केन्द्रबाट मात्रै सीमाको खोजी, जीर्णको मर्मत हुने निर्णय गर्नुपर्ने प्रावधान भएकाले कार्यान्वयन नभएको हो ।

सीमा सुरक्षाका लागि बाँकेको राप्तीसोनारी क्षेत्रमा खटिएको सशस्त्र प्रहरी ४२ नम्बर गण शम्शेरगन्जका प्रहरी उपरीक्षक शषी पाण्डेले नियमित पेट्रोलिङ गस्ती गरिरहेको उल्लेख गरे । एक वर्ष अघि राप्तीसोनारी–४ महेशपुरमा बिओपी स्थापना गरेर उक्त क्षेत्रमा पर्ने सीमास्तम्भ ८० देखि ८४ नम्बर पिलरलगायतका नेपालको भूमि रक्षाको लागि तदारुकताका साथ सुरक्षा दिइरहेको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेको भनाइ थियो ।

सीमा स्तम्भ मर्मत भएन

नेपाल र भारतको सीमास्तम्भ मर्मत गर्ने सहमतिअनुसार भारतीय पक्षले आफ्नातर्फको जीर्ण सीमास्तम्भ मर्मत गरिसकेको छ । तर, नेपाल सरकारको प्राथमिकतामा भने सीमास्तम्भ मर्मत परेको छैन ।

अधिकारीहरुका अनुसार भारतीय पक्षले बाँकेको सीमामा रहेको ६१८ र बर्दियाको ८२ नम्बरको सीमास्तम्भ मर्मत गरिसकेको छ । तर, बाँकेको ५२५, ६२३ र बर्दियाको ९४ नम्बरको सीमास्तम्भ नेपालको तर्फबाट मर्मत हुन सकेको छैन ।

सीमामा नेपाली सुरक्षाको उपस्थिति न्यून

राप्तीसोनारी–४ महेशपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक तेजबहादुर सुनारको नेतृत्वमा सीमा रक्षाको लागि प्रहरी टोली छ । सीमा क्षेत्रका आधा दर्जन बढी गाउँबाहेक अहिलेसम्म राज्यको उपस्थिति थिएन ।

२०३४ सालबाट बसोबास गर्दै आएका झुरहवा, बाँसखोली, गुर्दनगौरी, महेशपुर, खयर भट्टीलगायतका आधा दर्जन बढी गाउँका स्थानीय सीमा स्तम्भ नजिक घर बनाएर रक्षा गर्दै आएका थिए ।

निकै विकट बिजुली खानेपानी सञ्चारबाट विहीन स्थानीय बासिन्दा र सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले बल्लबल्ल सीमा स्तम्भमा गस्ती बढाएका छन् ।भारतसँग जोडिएको बाँकेको करिब ६५ किलोमिटर खुला सीमा छ ।

त्यसको हरेक तीन÷तीन किलोमिटर दूरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) तैनाथ छ । नेपालतर्फ भने सशस्त्र प्रहरीको उपस्थिति न्यून छ । बाँकेको सीमामा एसएसबीको करिब १५ स्थानमा सुरक्षा जाँच पोस्ट छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १, २०७८     2:29:39 PM  |