कोहलपुर/ नेपाल विद्युत प्राधिकरण कोहलपुरले बाँकी बक्यौता रहेको विद्युत महसुल नबुझाउने ग्राहकको विद्युत लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मंसिर १ गतेदेखि विद्युत चुहावट घटाउने तथा संकलन बढाउने अभियान अन्र्तगत बाँकी बक्यौता रकम नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको प्राधिकरण कोहलपुरका प्रमुख जगन्नाथ लामिछानेले बताए ।
‘हामीले बढी रकम भएका ग्राहकको ६० दिन भित्र र कम रकम बक्यौता रहेका ग्राहकहरुको ९० दिन भित्र रकम नबुझाएका गा्रहकको लाइन काट्ने गरेका छौँ’ प्राधिकरण प्रमुख लामिछानेले भने ।
प्राधिकरणले यस आर्थिक वर्षको सुरुवातदेखि मसिंर १७ गतेसम्म २ सय ९१ जना बाँकी बक्यौता रकम नबुझाउने ग्राहकको विद्युत लाइन काटेको छ भने काटिएको मध्ये १ सय ८६ जना ग्राहकले पुनःविद्युत लाइन जडान गरेका छन् ।
प्राधिकरणको करिब ८३ लाख ८ सय ४ रुपैयाँ उठ्नुपर्नेमा ६७ लाख ९६ हजार ९ सय ४२ रुपैया संकलन भएको र बाँकी १ सय ५ जना ग्राहकको काटिएको विद्युत लाइनबाट करिब १५ लाख ३ हजार ८ सय ६२ रुपैयाँ उठ्न बाँकी रहेको प्राधिकरणकी आय प्रमुख रमा श्रीषले जानकारी दिइन् ।
प्राधिकरणका मातहतमा रहेका ५ वटा फिडर मध्ये हाल राझाँ फडिर र चिसापनी फिडरमा रहेको बाँकी रहेको महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । बाँकी रकम नबुझाउने ग्राहककोे लाइन काट्दा र पुनः विद्युत लाइन जडान गर्दा समेत ग्राहकले नै थप ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।
प्राधिकरणको नयाँ अभियान अन्र्तगत रुख कटान गर्ने, नेपाल प्रहरी, शस्त्र प्रहरी र प्राधिकरणका कर्मचारीहरुको संयुक्त टोलीले रात्री समयमा अनुगमन गर्ने कार्य समेत गरेको छ ।
यस आर्थिक वर्षमा करिब १९ जना विद्युत चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरी १ लाख ८१ हजार २ सय ५८ रुपैयाँ जरिवाना वापत संकलन गरिएको छ । त्यस्तै गत आर्थिक वर्षमा विद्युत चोरी गर्ने व्यक्तिहरुबाट जरिवाना वापत ५० लाख ९० हजार ८ सय रकम संकलन गरिएको थियो ।
यो तथ्याङ्कबाट विद्युत चोरीमा निकै कमी आएको प्रधिकरण प्रमुख लामिछानेको भनाइ छ । प्राधिकरणमा एक वटा मात्र गाडी रहेको र सो गाडी विद्युत मर्मत, लाइन कटान तथा जडान गर्नेमा प्रयोग गर्नुपर्ने बाध्यताका कारण सास्ती भइरहेको बताइएको छ । प्राधिकरणका मातहतमा हाल ३३ हजार ४ सय ३१ ग्राहक रहेका छन् ।