16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

ढाका ‘ब्रान्डिङ’ गर्ने महिला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर १७, २०७९  


शुभाकर विश्वकर्मा । कोहलपुर ।

समूहः ज्ञानज्योति ढाका महिला समूह
स्थानः कोहलपुर–१२, चप्परगौडी
सञ्चालक संख्याः ११ जना
स्थापना मितिः २०७७ पुस १२ गते

माथि उल्लेखित समूहबाट गृहिणीले उद्योग सञ्चालन गरेका छन् । ढाका उद्योग सञ्चालनको उद्देश्य हो, ‘नेपाली पहिचानको रूपमा रहेको ढाकालाई ‘ब्रण्डिङ’ गर्ने ।’ यस्तै ढाका पहिचान स्थापित गर्ने र जीविकोपार्जनको स्रोतसँग जोड्ने पनि छ । यो उद्योग पश्चिम क्षेत्र कै पहिलो उद्योगको रूपमा स्थापित छ । जिल्लामा अहिलेसम्म संस्थागतरुपमा ढाका उद्योग सञ्चालनमा छैनन् ।

तीन वर्षदेखि समूहले उद्योग चलाइरहेको उद्योगकी सचिव कमला विश्वकर्माले बताइन् । उक्त उद्योगले बिस्तारै आफ्ना उत्पादन बजारीकरण गरिरहेको छ । समूहमा आबद्ध सबै महिला यहाँका मालिक, सञ्चालक र कामदार सबै आफैँ हुन् । ११ जनै महिला ढाकाका उत्पादन हातैले बुनेर निर्माण गर्छन् । प्रत्येकजनासँग ढाका बुन्ने एकएकवटा मेसिन छन् ।

उद्योगले ढाकाको सारी, टोपी, पछ्यौरा, कोट, चोलो, कपडा, दोसल्ला र सल उत्पादन गरिरहेको सचिव विश्वकर्माको भनाइ छ । यी उत्पादनको न्यूनतम मूल्य आठ सयदेखि १२ हजारसम्म छ । ‘हामी ब्राण्डिङका लागि लागिरहेका छौँ । महिलाको समूह मिलेर उद्योग सञ्चालन गरिएको हो । बिस्तारै यसको बजारीकरण गर्दै छौँ । उत्पादनसमेत बिक्री भइरहेको छ,’ उनी भन्छिन् ।

समूहमा आबद्ध महिलाले उद्योग सञ्चालनका लागि मासिकरुपमा केही रकमसमेत बचत गर्दै आएका छन् । उनीहरु मासिक पाँच सय रूपैयाँका दरले बचत गर्छन् । महिला समूह बनाएर आर्थिकरुपमा सवल हुने उद्देश्यले बचत गर्न थालेका थिए । पछि समूहमा आबद्ध महिलाका लागि तालिमको अवसर जु¥यो । त्यतिबेला भने २० जनाको समूह थियो ।

समूहमा आबद्ध सबैले तीन महिने ढाका बुनाइ तालिम लिए । तालिममा सिकेको सीप सदुपयोग गर्ने सल्लाह भयो । अनि ११ जना सहमत भए । त्यसपछि उद्योगको स्थापना भएको थियो । उद्योगलाई कुनै पनि सरकारी निकायबाट अहिलेसम्म सहयोग प्राप्त भएको छैन । आफ्नै सीमित स्रोत साधनमा उद्योग सञ्चालन भइरहेको समूहकी सदस्य विन्दु खड्का बताउँछिन् ।

ढाकालाई ब्राण्डिङ गर्न कस्सिएका उनीहरुलाई पहिचानको अभाव छ । पहिचान अभावमा अपेक्षितरुपमा बजारीकरण हुन नसके पनि सन्तोषजनकरुपमा उत्पादन बिक्रीवितरण भइरहेको छ । समूहलाई आधिकारिकरुपमा दर्ताका लागि प्रक्रिया थालेको छ । यहाँबाट उत्पादन सामग्री बाँकेका बजार क्षेत्र र सुर्खेतसम्म पुग्ने गरेको सचिव विश्वकर्माले बताइन् ।

समूहमा आबद्ध महिला मासिकरुपमा १५ देखि २० हजारसम्म कमाइ गर्छन् । ‘नगरपालिकाले तालिम दियो । हामीले सीप सिक्यौ । सीपलाई कार्यान्वयन गरिरहेका छौँ । हामीलाई अहिले सबै क्षेत्रको हौसलाको खाँचो छ,’ समूहकी समस्य बिना खत्री भन्छिन् । निरन्तर दिनरात नभनी उद्योगलाई स्थापित बनाउन लागिपरेको उनको भनाइ छ । उद्योगलाई थप बजबुद बनाउन उनीहरु अहिले स्थानीय सरकारसँग सहयोग मागिरहेका छन् ।

प्रकाशित मितिः शनिबार, मंसिर १७, २०७९     9:36:56 AM  |