सुरक्षित वैदेशिक रोजगारबारे अन्र्तक्रिया



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका जनप्रतिनिधिहरुसँग सुरक्षित आप्रवास परियोजना (सामी)ले अन्र्तक्रिया कार्यक्रम गरेको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सञ्चालन भैरहेको छ ।

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले सुरक्षित आप्रवास परियोजना (सामी) अन्तर्गतका कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने बताए । सामी परियोजनाका कामहरु प्रभावकारी भएको भन्दै उनले यो कार्यक्रम प्रत्येक वडा वडामा लैजानुपर्नेमा जोड दिएका थिए । अब प्रत्येक वडाहरुमा बैदेशिक रोजगार जाने र आउने व्यक्तिको तथ्यांक संकलन गर्ने वडाअध्यक्षहरुलाई उनले निर्देशन समेत दिएका थिए ।

यस्तै सामी परियोजनाका संयोजक मिना चौधरीले बाँके जिल्लामा भएका काम र प्रगतिहरुको विस्तृत रुपमा प्रस्तुतिकरण गरेकी थिइन् । यो परियोजनाको मुख्य उद्देश्य भनेको वैदेशिक रोजगारमा जाने युवाहरुलाई सूचना तथा परामर्श गर्ने र ठगीमा परेका वा समस्यामा परेकाहरुलाई न्यायमा पैरवी गर्ने, वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई सही सदुपयोग गर्न वित्तीय साक्षरता कक्षा सञ्चालन तथा वैदेशिक रोजगारको कारण उत्पन्न भएको मनोसामाजिक समस्या तथा मानसिक समस्यामा परेकाहरुलाई परामर्श सेवा प्रदान गर्ने बताइन् ।

बाँकेमा चालु आर्थिक वर्षमा ४ हजार ५ सय जनालाई सेवा प्रदान गर्ने परियोजनाको लक्ष्य रहेको छ । तर असार मसान्तदेखि अहिले सम्म १७ सय जनालाई सेवा प्रदान गरिएको बताइएको छ । यो परियोजनाबाट २१ लाख ६० हजार रकम बैदेशिक रोजगारमा पठाउने विभिन्न संघसंस्थाबाट ठगिएका व्यक्तिहरुलाई रकम फिर्ता दिलाएको उनको भनाइ थियो ।

अन्र्तक्रियामा इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकाय, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपाली, कार्यपालिका सदस्य दिल बहादुर परियाल लगायत वडाअध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत ४ गते बुधबार