बर्दिया/ क्षतिपूर्तीका सम्बन्धमा सहमती जुट्न नसक्दा बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको अझै अन्त्यष्टी हुन सकेको छैन । उनको शव अस्पतालमा राखिएको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरिगाउँ खण्डमा नजिक सोमबार बिहान बसको ठक्करबाट ठाकुरबाबा नगरपालिका ६ बकुवाकी १४ वर्षीया बालिका निर्मला चौधरीको घटनास्थलमै ज्यान गएको थियो ।
क्षतिपूर्तीका सम्बन्धमा सुदुरपश्चिम यातायात व्यवसायी समिति र पिडित पक्ष बिच मंगलबार दिनभर छलफल भएपनि सहमती जुट्न सकेन । पिडित पक्षले २० लाख माग गर्दै आएको भएपनि छलफलका क्रममा उक्त रकम घटाएर १० लाख रुपैँया क्षतीपूर्ती माग गर्दै आएको छ भने बस समिति उक्त रकम दिन नसक्ने जनाएपछि पहिलो चरणमा सहमती जुटन नसकेको छलफलमा सहभागी संचारकर्मी भावुक योगीले जानकारी दिए । छलफलमा पिडित पक्षका तर्फबाट ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, वडा अध्यक्ष पदम खड्कासहितको टोली र बस समितिको तर्फबाट सुदुरपश्चिम यातायात समितिका उपाध्यक्षको टोली रहेको छ ।
पहिलो चरणको छलफलमा सहमती नजुटेपछि दोस्रो चरणको छलफल प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितीमा भइरहेको बताइएको छ । पिडित पक्षले क्षतीपुर्ती वापत १० लाख रुपैँया पाउनु पर्ने अडान नछाडेको बताइएको छ । दुबै पक्षको आआफनौ अडानका कारण सहमती जुटाउन गाह्रो भइरहेको छलफलमा सहभागी नगरप्रमुख घननारायण श्रेष्ठले बताए । दुबै पक्षले लचकता नअपनाउँदा मंगलबार दिन भरिको छलफलमा कुनै टुंगो लागेन ।
घटना भएकै दिन अर्थात सोमबार नै क्षतिपूर्तीका सम्बन्धमा छलफल गर्न यातायात समितिलाई बोलाइए पनि उक्त दिन समितिका तर्फबाट कोही पनि आएको थिएन । छलफलका लागि यातायात समिति मंगलबार विहान घटना स्थल आएको थियो । समितिले वेवास्ता गरेको भन्दै पिडित र स्थानियबासीले सोमबार दिनभर पूर्वपश्चिम राजमार्गको भुरिगाउँ खण्ड अवरुद्ध गरेका थिए । छलफलका लागि मंगलबार विहान पनि समितिका पदाधिकारी समयमै नआइपुग्दा स्थानियले ६ बजेदेखि ११ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । समितिका पदाधिकारी आएपछि बल्ल स्थानियबासी राजमार्ग खुला गरि छलफलमा बसेका थिए ।
माग सम्बोधन नहुञ्जेल बालिकाको अन्तेष्टी नगर्ने परिवारजनले बताएका छन् । मंलगबार अबेरसम्म सहमती नजुटे बुधबारदेखि पूर्व पश्चिम राजमार्गमा सुदुरपश्चिम यातायात समितिबाट सञ्चालित कुनै पनि सवारी साधन चल्न नदिने पिडित पक्षले जनाएको छ ।
कालिकोटबाट कैलालीको टिकापुरतर्फ गइरहेको ना ४ ख ५३७५ नम्बरको बसले सोमबार विहान करिव ७ पूर्वपश्चिम राजमार्गको भुरिगाउँ खण्डमा ठक्कर दिँदा ठाकुरबाबा नगरपालिका ६ बकुवाकी १४ वर्षीया बालिका निर्मला चौधरीको घटनास्थलमै ज्यान गएको थियो । ज्यान गुमाएकी बालिका भुरिगाउँ बजारस्थित भेरी पब्लिक शिक्षालय कक्षा ९ मा अध्ययनरत थिइन् ।