खो–खो खेलका खेलाडीले पाए खेल सामाग्री



बर्दिया/  राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेल खेलिरहेका खो–खो खेलका खेलाडीहरुलाई एक व्यक्तिले खेल सामाग्री प्रदान गरेका छन् । ठाकुरबाबा नगरपालिमा स्थायी घर भई हाल काठमाण्डौ बसोबास गरिरहेका समाजसेवी विनय रावलले खो खो खेलका खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरेका हुन् ।

समाजसेवी रावलले खेलाडीलाई खेलका क्रममा आवश्यक पर्ने एल्बो प्याड, नी प्याड र जुत्ता प्रदान गरेका हुन् । अभ्यास खेल खेलिरहेका जिल्लाका ३५ जना खेलाडीलाई एक–एक जोर एल्बो प्याड, नी प्याड र जुत्ता गरी करिव ५० हजार रुपौयाँ बराबरको खेल सामाग्री समाजसेवी रावलले प्रदान गरेको खो–खो संघ बर्दियाका अध्यक्ष छत्र शाहीले जानकारी दिए । रावलले अभ्यास खेल खेलिरहेका खेलाडीलाई खाजाका लागि नगद रु ३० हजारसमेत प्रदान गरेको अध्यक्ष शाहीले बताए ।

सामाग्रीको अभावमा खेलाडीलाई खेल अभ्यास गर्न गाह्रो भइरहेको जानकारी पाएपछि उनीहरुको खेललाई सहयोग गर्न सामाग्री उपलब्ध गराएको समाजसेवी रावलले बताए । रावलले यस अघि क्रिकेट खेलाडीका लागि करिव ८० हजार रुपैयाँ बराबरको क्रिकेट सामाग्री प्रदान गरेका थिए ।

जिल्लामा १४ देखि २१ वर्ष उमेरका १४ पुरुष, २१ महिला गरी ३५ जनाले खो खो अभ्यास खेल गरिरहेका छन् । खेल सामाग्री पाएपछि आफुहरु निकै खुशी भएको खेलाडी गोपी तिमिल्सेनाले बताए । ‘खुट्टामा जुत्ता नभएर खाली खुट्टा दौडेर खेलको अभ्यास गरिरहेका थियौँ । अब जुत्ता र प्याड पायौँ । खेल्न झनै सजिलो हुने भयो ।’ खेलाडी तिमिल्सेनाले खुशी हुँदै भने खेलाडीका लागि अझै सेफ्टी प्याडको आवश्यक रहेको खेल प्रशिक्षक नवराज न्यौपानेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १७ गते शनिबार