कोहलपुर/ आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ अन्तर्गत क्रिकेट तर्फको खेल बाँकेको कोहलपुरमा हुने निश्चित भएको छ ।
कोहलपुरमै पुर्वाधार सहितको क्रिकेट मैदान निर्माण गर्ने प्रक्रिया अगाडी बढाइएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए ।
बाँकेको नेपालगन्जमा हुने भनिएको राष्ट्रिय प्रतियोगिता अन्तर्गत विधागत खेलहरुको स्थान तय नहुँदा संरचना निर्माणमा ढिलाई भएको अध्यक्ष वलीले दावी गरे । यद्यपी खेल मैदानको सम्भाव्यताका आधारमा क्रिकेट विधा तर्फका खेलहरु कोहलपुरमै सञ्चालन गरिने वलीले बताए ।
यसअघि प्रतियोगिता सञ्चालनका लागि आवश्यक संरचना निर्माण गर्नेबारे सम्वद्ध पक्षहरुबिच कोहलपुर नगरपालिकामा सर्वपक्षिय छलफल गरिएको थियो ।
उक्त छलफलबाट कोहलपुर क्रिकेट मैदान जोड्ने बाटो मर्मत गर्ने र त्यसका लागि कोहलपुर नगरपालिकाले पहल गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कोहलपुर–नेपालगन्ज सडकखण्डदेखि कोहलपुर क्रिकेट मैदान जोड्ने बाटो मर्मत गरिने कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
रावतले राष्ट्रिय प्रतियोगिता कोहलपुरमा संचालन हुन आफैमा गौरवको कुरा भएको बताउँदै त्यसकालागी आवश्यक सम्पूर्ण पूर्वाधारहरु तयार गरिने बताए । उनले यथाशिघ्र मैदान निर्माण कार्यलाई अगाडी बढाउन क्षेत्रिय खेलकुद विकास समितिलाई आग्रह समेत गरे ।
कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता हुने या नहुने भन्ने अन्यौलता बढ्दै गइरहेको अवस्थामा मैदान मर्मत कार्य सुरु हुनु सुखद् पक्ष भएको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्