1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

बाँसगढीबाट ४ जना फरार अपराधी पक्राउ

रावन विश्वकर्मा
प्रकाशित मितिः आइतवार, कार्तिक ११, २०७५  

 बर्दिया/  इलाका प्रहरी कार्यालय बाँसगढीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४ जना अपराधीलाई पक्राउ गरेको छ । जिल्ला अदालतले बर्दियाले फैसला गरी सजाय तोकिएका ४ जना फरार अपराधीहरुलाई दशैको बिचमा पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालत पठाएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक बसन्त गौतमले बताए ।

पक्राउ पर्नेमा आफ्नै श्रीमती हत्या गरी फरार रहेका बाँसगढी–४ नेवाडाका ३२ वर्षीय राजाराम थारु रहेका छन् । उनलाई जिल्ला अदालतले २०६४ असार १० गते १९ वर्ष ११ महिना २६ दिन सजाय तोेकेको थियो ।

थारुलाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय मोतिपुरको संयुक्त टोलीले पक्राउ गरेको थियो । त्यस्तै ज्यु मास्ने बेच्नेमा ३ वर्ष सजाय तोकिएका बाँसगढी डेउढाकलाका ५२ वर्षका मदन खत्री, सरकारी कागज किर्ते गरेको अभियोगमा ११ महिना ११ दिन सजाय तोकिएका बाँसगढी–८ ककौराका ३६ वर्षीय भिम बहादुर बिकलाई पक्राउ गरी जिल्ला पठाइएको छ ।

त्यस्तै काठ चोरी निकासीमा २ वर्ष कैद १० हजार जिरिवाना तोकिएका बाँसगढी–८ भैसासुरका पुर्ण बहादुर खत्रीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय बर्दिया पठाइएको प्रहरी निरीक्षक गौतमले बताए ।

इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले यो आर्थिक वर्षमा मात्रै ७ जना फरार अपराधिलाई पक्राउ गरी सकेको जनाएकोे छ । प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनाली बर्दियामा आए पछि फरार रहेका अपराधिहरुलाई निकै साचोका साथ हेरिएको छ । दिन प्रतिदिन बर्दियाका विभिन्न स्थानहरुबाट फरार अपराधिहरु पक्राउ हुने क्रम बढेको छ ।

अपराध गरी फरार रहेका अपराधीहरुको मनोबल वृद्धि भई अन्य थप अपराध गर्न सक्ने भएकाले फरार अपराधी पक्राउका लागि प्रहरीले सक्रियता बढाएको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक ११, २०७५     8:20:57 AM  |