20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

ज्ञानज्योतिमा सिभिल ईन्जिनियरिङ भवनको उद्घाटन

कविन्द्र परियार
प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका—१२ चप्परगौडीस्थित ज्ञान ज्योति माध्यामिक विद्यालयमा शुक्रबार एक समारोहका विच सिभिल ईन्जिनियरिङ भवनको उद्घाटन गरिएको छ । भवनको प्रमुख अतिथि तथा अतिथि बाँके क्षेत्र नं. १ का संघिय सांसद महेश्वर गहतराज ‘अथक’ र प्रदेश सांसद कृष्णा केसी नमुनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गहराजले देशलाई आवश्यक पर्ने र देश विदेशसँग प्रतिस्पर्धा गर्ने सक्ने क्षमता भएका ईन्जिनियर उत्पादन ज्ञानज्योतिबाट हुने बताए । अहिलको आवश्यकता भनेको प्राविधिक शिक्षा भएको भन्दै विद्यालयलाई उत्कृष्ट सिभिल ईन्जिनियरिङ विद्यलायको रुपमा विकास गर्न स्थानी, यप्रदेश र संघिय सरकार सदैव विद्यालयको पक्षमा लाग्ने बताए । साथै उनले ३ वर्षे सिभिल ईन्जिनियरिङ कोर्षहरु सकिएपछि ईन्जिनियरिङ क्याम्पस बनाउने समेत प्रतिबद्धता जनाए ।

समारोहमा बोल्दै प्रदेश सांसद कृष्णा के.सी नमुनाले यस क्षेत्रको सामुदायिक विद्यलयमा सिभिल ईन्जिनियरिङ पढाई हुने कुरामा सबै हर्षित भएको बताइन् । उनले भनिन् ‘सिभिल ईन्जिनियरिङ खोल्नु ठुलो कुरा होइन तर यसलाई कसरी टिकाउने हो भन्ने कुरा महत्वपुर्ण हो ।’ साथै निरन्तरताको लागि स्थानीय, प्रदेश र संघीय सरकार विद्यालयसँगै रहेको बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका सञ्चालक समिति अध्यक्ष नरेन्द्र न्यौपानेले अभिभावकले गुणस्तरिय शिक्षाका लागि चर्को शुल्क नतिरी अब सामुदायिक विद्यालयबाट गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिने बताए ।

त्यस्तै सिटीभिटी प्रदेश कार्यालयका प्रमुख यादव सुवेदीले अहिले देशका कुना कुनामा प्राविधिक शिक्षाको विकास भइरहेको बताउँदै गुणस्तरिय जनशक्ति उत्पादनमा प्राविधिक शिक्षाको निकै महत्व रहेको बताए ।

विद्यालयको आन्तरिक स्रोत रु २० लाख ७३ हजार ७ सय ८९ र कोहलपुर नगरपालिकाको रु १ लाख सहयोग गरी जम्मा २१ लाख ७३ हजार ७ सय ८९ लागतमा सिभिल ईन्जिनियरिङ भवन निमार्ण गरिएको हो । समारोहमा विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई पुष्पगुच्छा सहित स्वागत गरिएको थियो ।

समारोहमा विभिन्न समयमा विभिन्न क्रियाकलापमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए ।

समारोहमा कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का, वडा नं १३ का वडाध्यक्ष ओम प्रकाश वली, कोहलपुर नगर शिक्षा शाखा प्रमुख दानबहादुर विष्ट, नेकपाका नेता सुर्य ढकाल, अशोक कोइराला, रेणुका खड्का, कोहलपुर नगर विकास समितका अध्यक्ष अवराज खड्का अभिभावक विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५     8:17:00 AM  |