कोहलपुर,२२ जेठ/ उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले मंगलबार सिक्टा सिंचाई परियोजनाको स्थलगत अनुगमन गरेका छन् ।
बाँकेको अगैयास्थित सिक्टा सिंचाई आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गर्दै मन्त्री पुनले आयोजना प्रमुखसँग आयोजनाको काम कारबाहीको बारेमा जानकारी लिएका थिए ।
बाँके, बर्दियामा तथा सुर्खेतमा संचालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षणका क्रममा बाँके आइपुगेका मन्त्री पुनले सिक्टा परियोजना सम्पन्न गर्नका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिबद्वता समेत जनाए ।
नहरको काम सम्पन्न भएको ठाउँहरुमा क्रमिक रुपमा किसानहरुलाई पानी दिने आफूहरुको तयारी रहेको उनको भनाई थियो ।
यसैबिच प्रदेश नं. ५ की प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले बाँकेका दुई गाउँपालिका राप्तीसोनारी र नरैनापुरको अवस्थाका बारेमा मन्त्री पुनलाई जानकारी गराएकी थिइन् ।
उनले ती दुई गाँउपालिकामा विद्युतको समस्या बिकराल रहेको भन्दै तत्काल विद्युत लाईन विस्तारका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
सांसद नमुनाले राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका स्थानीयहरुले वर्षौदेखि भोग्दै आएका समस्याहरुका साथै विद्युत, सिंचाई र तटबन्धको उचित प्रवन्धका लागि मन्त्रालयस्तरबाटै पहल गर्नुपर्ने मागसहितको ज्ञापन पत्र समेत हस्तान्त्रण गरेकी थिइन् ।
यस्तै राप्तीसोनारी गाँउपालिकाका अधिकांश वडाहरुमा वर्षातका समयमा डुबान हुने हुँदा केन्द्रिय सरकारले दिर्घकालिन योजनाहरु बनाउन राप्ति सोनारी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष लखन थारुले मन्त्री पुनलाई आग्र गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले सम्बन्धित पक्षलाई युद्धस्तरमा गुणरस्तरीय काम गर्न निर्देशन दिएका थिए ।
आफू विगतदेखि नै राप्तीपारीका समस्याका विषयमा जानकार रहेको बताउँदै मन्त्री पुनले विद्युत, सिंचाई र तटबन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताए ।
उर्जा मन्त्री पुनले बर्षौदेखि समस्याका रुपमा रहेको विद्युत, सिंचाई र तटबन्धको समस्या समाधान गर्नका लागि गुरुयोजना तयार पारिएको र छिट्टै स्थानीयहरुले महशुस गर्नेगरी प्रतिफल प्राप्त गर्ने प्रतिबद्धता समेत जनाए ।
मंगलबार नै मन्त्री पुनसहितको टोलिले भेरी बबई डाइभर्सनको समेत स्थलगत निरीक्षण गरेको छ ।