18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

अटोरिक्सा चलाएरै ६ जनाको परिवार पाल्छिन् कृष्ण कुमारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

भीम रावत : कोहलपुर,७ फागुन/    कोहलपुर नगरपालिका –२ बस्ने कृष्ण कुमारी चौधरीले विगत तीन वर्ष देखि अटोरिक्सा चलाएर आफ्नो ६ जनाको परिवार पालिरहेकी छिन् ।

सानै देखि मिहिनेती चौधरीले ३ वर्ष अघि अरुले चलाएर रामै्र आम्दानी गरेको सुनेपछि आफूलाई पनि रहर लागेर अटोरिक्सा चलाउन लागेको तर आज यही नै आफ्नो र परिवार पाल्ने बाध्यकारी पेशा भएको बताइन् ।

उनले रु १ लाख ५० हजारमा ‘सेकेण्डहाण्ड’ अटोरिक्सा किनेर कोहलपुर र यस आसपासका क्षेत्रमा चलाउदै आएकि छिन् । कृष्णको घरमा आफू , श्रीमान, ५वर्षकी एक छोरी, सासु–ससुरा र एक भाइ गरी ६ जनाको परिवार रहेको छ ।

कृष्णले भनिन् , ‘ सबैलाई यही अटोको कमाईले पाल्ने हो । महिनामा रु २० हजार किस्ता तिर्नु पर्छ । दिनको रु १ हजार देखि १२ सय सम्म बच्छ । कहिले काही अलि धेरै त कहिले काही थोरैमा पनि चित्त बुझाउनु पर्छ । यसैबाट गुजारा चलिरहेको छ ’।

ऐलानी थोरै जग्गामा एक कच्की घर रहेको र त्यसैमा दिन बितिरहेका बताउने कृष्ण कुमारी चौधरी ट्राफिक प्रहरीको व्यवहार देखेर हैरान हुने गरेको बताउछिन् । कृष्णले भनिन् ,‘ म सँगै लाइसेन्स र अटोरिक्साको ब्लुबुक हुन्छ ,तर पनि ट्राफिक प्रहरीले अनावश्यक रुपमा दुःख दिन्छ’ ।

उनको दुखेसो छ ः सोझासिधा मानिसहरुलाई आफैले केही गरेर आफ्नो परिवार पालौं भन्दा नि अनावश्यक दुःख दिइन्छ जस्तो लाग्छ । त्यस्तै उनको अर्को दुखेसो छ , ‘केटाहरु अटोमा चढेपछि अलि टाढाको दुरी सम्मको यात्रा गर्दा तपाईको बुढा घरमा छन् कि छैनन् भनी सोध्छन् ।

कुरा गर्दै थाहा हुन्छ कि पतिपयको नियत ठिक नभएको आभाष भइहाल्छ । त्यस्तोलाई घरमै यही हुनुहुन्छ भनिदिन्छु । तर अति परिपक्क मानिस वा असल नियतले बोलेको छ भने बिदेश हुनुहन्छ भन्छु । जस्तो हजुरहरुलाईभने ।’

कृष्णसँगको छोटो कुराकानीमै थाहा हुन्छ कि अझै पनि हाम्रो समाजले एउटै प्रकृतिको काम गर्दा पनि महिला र पुरुषका समस्याहरु फरक–फरक छन् । पुरुष भैदिएको भए अलि अबेर सम्म अटोरिक्सा चलाएर उनले बढी आम्दानी गर्ने मन छ कृष्णको ।

तर उनलाई महिला भएकाले डर लाग्छ र उनी प्रायः अँध्यारो नहुँदै घर पुग्छिन् । कृष्ण आफू र परिवारको आर्थिक जोहो गर्न कसै कहाँ हात थाप्न जान नपरेकाले ढुक्क सँग बाँचेको जस्तो लागेकोमा खुशी देखेन्छिन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     6:45:57 AM  |