हामी युग परिवर्तन गर्ने भाग्यमानी पुस्ताका मान्छे हौं : रायमाझी



भीम रावत : कोहलपुर,५ माघ/   नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवं पूर्व उर्जा मन्त्री टोप बहादुर रायमाझीले नेपालमा भएको राजनीतिक परिवर्तनलाई सकारात्मक रुपमा लिदै अहिलेको पुस्ता नेपालमा युग परिवर्तन गर्ने र नेपाललाई नयाँ युगमा लैजाने भाग्यमानी पुस्ता समेत भएको विचार व्यक्त गरेका छन् ।

रायमाझीले नेपालमा रहेको करिब २ सय ५० वर्षको राजतन्त्र फाल्ने र नेपालको सिङ्गो राज्यसत्तालाई पूनः संरचना गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याउने पुस्ता पनि हामी नै भएको बताए ।

रायमाझीले सो विचार नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) नेपाल विद्युत प्राधिकरणको दुई दिने केन्द्रीय भेला तथा प्रशिक्षण कार्यक्रमको विहिबार नेपालगञ्जमा उद्घाटन गर्दा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रायमाझीले आफू नौ महिना मात्रै उर्जा मन्त्री रहे पनि त्यस बेला नै नेपालमा विद्युत विकासका लागि आफूले राजनीति जोखिम मोलेर नयाँ कामको थालनी गरेको त्यसकै निरन्तरताले मात्र नेपाल लोडसेडिङ मुक्त हुन सकेको स्पष्ट पारे ।

रायमाझीले भने ,‘ मैले नेपालमा उर्जाको क्षेत्रमा रहेको बेथितिलाई ब्रेक गर्न विभिन्न ट्रेड युनियनहरु र विद्युत क्षेत्रका विज्ञहरुसँग लामो छलफल र परामर्श गरी ‘उर्जा दशक’ घोषणा गर्दा धेरैले मलाई आरोप समेत लगाएका थिए ।’ उनले थपे, ‘ नेपालमा उर्जाको क्षेत्रमा केही गर्ने हो भने ट्रेड युनियनहरु प्नि राजनीतिक आस्था भन्दा माथि उठेर सहयोग गर्न तयार हुनु पर्छ । ’

उनले एक फरक प्रशंगमा रायमाझीले नेपालमा राजनीतिक अस्थिरताका कारण आर्थिक विकास हुन नसकेका राजनीतिक समिक्षा गरी नेपाल करिब दुई तीहाई जनमत रहेका प्रमुख वामपन्थी दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर चुनावी तालमेत गरेको बताए ।

अब यी दुई दल बीच छिटै पार्टी एकिकरण हुने र पाँच वर्ष एउटै पार्टीको स्थीर सरकार हुँदा देशमा नेपाली जनतालाई आशा जगाउने काम गर्न सकिने दावी समेत गरे ।

त्यस्तै बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले केन्द्रीय प्रशिक्षण तथा भेलाको सफलताको शुभकामना दिदै विभागीय मन्त्रालयको नेतृत्व र त्यसलाई बुझ्न सक्ने कर्मचारी तन्त्र भए छोटो समयमा पनि आम जनतालाई प्रत्येक्ष राहात हुने काम गर्न सकिन्छ भन्ने उदाहरण नेपाल विद्युत प्राधिकरणमा देखिएको बताए ।

भेलाको उद्घाटन शत्रमा संगठनका केन्द्रीय उपाध्यक्ष झुली राम थापाले आगन्तुक सबैलाई स्वागत गरेका थिए । उद्घाटन शत्रमा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यलय नेपालगञ्जका प्रमुख विनोद कुमार उपाध्याय, नेपाल राष्ट्रिय कर्मचारी संगठन संयोजन समितिका संयोजक सिताराम थापा, नेविप्र कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल, नेविप्र केन्द्रीय कर्मचारी प्रशासन शाखा प्रमुख रोसन सुनार, सवारी चालक कल्यान कोषका अध्यक्ष देव कुमार श्रेष्ठ, आधिकारिक ट्रेड युनियनका केन्द्रीय सह–अध्यक्ष शंकर वाराकोटी, कर्मचारी कल्यान परिषदका केन्द्रीय अध्यक्ष सुरेन्द्र बहादुर पाण्डे लगायतले केन्द्रीय भेला तथा दुई दिने प्रशिक्षण सफलताको शुभकामना व्यक्त गरेका थिए ।

”अराजकताको अन्त्य गरी मर्यादित ट्रेड युनियन निर्माण हाम्रो प्रण, लोडसेडिङ मुक्त देश, जनताको साथमा सुदृढ विद्युत प्राधिकरण” भनने नारा सहित नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) नेपाल विद्युत प्राधिकरणको दुई दिने केन्द्रीय भेला तथा प्रशिक्षणमा नेराकस सँग आवद्ध देशभरीबाट झण्डै तीन सय प्रतिनिधि तथा प्रवेक्षकहरु सहभागी रहेको आयोजक समितिका महासचिव माधव अधिकारीले जानकारी गराए ।

बिहिबारको उद्घाटन शत्र नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयूक्त) नेपाल विद्युत प्राधिकरण केन्द्रीय समितिका अध्यक्ष खगेन्द्र शाहीको सभापतित्वमा तथा महासचिव माधव अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रबार