कविन्द्र परियार : कोहलपुर,२६ पुस/ बाँकेको कोहलपुर नगरपालिकालाई दुई वर्ष अघि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे पनि प्रभावकारी अनुगमन नहुँदा घोषणमै सिमित भएको छ । नगरपालिकालाई पुर्व तयारी नै नगरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका कारण घोषणाको औचित्य नरहेको स्थानीयवासीको भनाई रहेको छ ।
२०७२ भदौमा नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिए पश्चात नगरपालिका स्वास्थ्य तथा सरसफाई सममन्वय समिति मार्फत अनुगमन गरिने बताइएको थियो ।
तत्कालिन अवस्थामा संघीय संरचना नबनेको र स्थानीय तहमा जनप्रतिनिधि समेत नरहेको अवस्थामा नगरपालिकाका कार्यकारी प्रमुखको संयोजकत्वमा अनुगमन समिति रहने प्रबन्ध गरिएको थियो । तत्कालिन कार्यकारी प्रमुख गोविन्द प्रसाद पाण्डे त्यस समितिका संयोजक थिए ।
तर घोषणा पश्चात हाल सम्म एक पटक पनि अनुगमन नगरिएको पाइएको छ । स्थानीय तहको निर्वाचन पश्चात सो समितिको कामलाई वातावरण तथा विपद् व्यवस्थापन समितिले गर्ने कार्यक्षेत्र रहेको छ । कोहलपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष दिपक जंग शाहको संयोजकत्वमा हाल सो समिति रहेको छ ।
खुल्ला दिसामुक्त घोषणा गरिएको नगरपालिकामा जतात्यतै खुल्ला शौच गरिरहेको अवस्थाको बारेमा संयोजक शाहसँग बुझ्दा शाहले भने,– ‘ जनप्रतिनिधिको रुपमा हामी आएपछि नगरकार्यपालिकाले मलाई सो समितिको जिम्मा दिए पनि हाल सम्म कुनै चिजको पनि अनुगमन गरिएको छैन र कसरी गर्ने भन्ने बारेमा समितिले अनुगमन नगर्दा कुनै औचित्य नभएको बताए ।
कोहलपुर नगरपालिकाको पतिपय स्थानमा त शौचालय नै निमार्ण नगरी खुल्ला रुपमा शौच गर्ने गरेको पाइएको छ । खास गरी नगरपालिका भित्र रहेका कोहलपुर चौराह क्षेत्र ,चपरगौडी, डुडुवा लगायतका क्षेत्रहरुमा खुल्ला रुपमा शौच गर्ने गरेको पाइएको छ । कोहलपुर नगरपालिकाको वडा नं १४ को ढोरपुरमा त शौचालय भए पनि पराल तथा घाँस जस्ता समाग्रीहरु राख्ने गरेको पाइएको छ ।
कोहलपुर नगरपालिका उप– प्रमुख सञ्जु कुमारी थारु सहितको पत्रकारहरुको टोलीले अनुगमन गर्दा उक्त तथ्य बाहिर आएको हो । कोहलपुर नगरपालिकाको चौराह नजिक रहेको शौचालय समेत बन्द अवस्थामा रहेको छ ।
सार्वजनिक शौचालय समेत बन्द हुदा स्थानीय तथा अन्य आवतजावत गर्ने मानिसहरुले समेत खल्ला रुपमा शौच गर्न बाध्य छन । २ वर्ष अघि लुमन्ती,प्लान नेपाल,लगायतका संघ संस्थाको समन्वयमा कोहलपुर नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिपनि औपचारीकता मात्र पुरा गर्न घोषणा गरिएको नाम नखुलाउने चाहने एक स्थानीयले बताएका छन ।
कोहलपुर नगरपालिककले आवश्यक तयारी नगरी खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नुले कुनै अर्थ नभएको स्थानीवासीको भनाई रहेको छ । नगरपालिकाले आफूले घोषणा गरेका कार्यक्रमहरु लागु गर्न नसक्दा स्थानीय तह प्रति नै जनताका विश्वास घट्ने अवस्था आउने एक स्थानीयले बताए ।
नगरपालिकाको क्षेत्र भित्र आवश्यक पर्ने स्थानहरुमा सार्वजनिक शौचालयहरु छैनन् भने भएका शौचालयहरु पनि व्यवस्थित रुपमा सञ्चालन गरिएका छैनन् ।









प्रतिक्रिया दिनुहोस्