उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको विपरित बसे, उनको छेउमा कांग्रेस नेता विमलेन्द्र निधि थिए । गह्रुँगो मन लिएर बालुवाटार पुगेका थापाले आफ्नो वह पोखे, ‘अहिले लोकतान्त्रिक गठबन्धन बनाऊँ भन्दै हुनुहुन्छ । हामीले पहिलेदेखि नै यो भनेका हौं तर पार्टी फुटको पीडा बेहोर्नु पर्यो ।’सामान्य छलफलपछि राप्रपा अध्यक्ष कमल थापा १८ असोज साँझ नेताद्वय बुद्धिमान तामाङ र दीलनाथ गिरीलाई लिएर बालुवाटार पुगे ।
संविधान संशोधन विधेयकको पक्षमा भोट हाल्छौं भन्दाभन्दै पार्टी फुटाएको बताउँदै उनले अहिले के आधारमा लोकतान्त्रिक गठबन्धन बनाउने भन्ने प्रश्न गरे । थापाले त्यसो भनिरहँदा देउवा र निधिका साथै पशुपतिशमशेर राणा पनि मौन बसेका थिए ।
राणाले पार्टी फुटाएर नयाँ दल खडा गर्नुमा देउवा सरकारलाई पनि दोषी मानेको छ, राप्रपाले । राप्रपाका एक नेता भन्छन्, ‘पार्टी विभाजनको पीडा र अपमानजनक व्यवहार सम्झिने हो भने त हामी कांग्रेसतिर फर्किन पनि नहुने हो ।’
तर, राप्रपाको आफ्नै बाध्यता छ । राष्ट्रिय पार्टी हुन समानुपातिकमा तीन प्रतिशत मतसँगै प्रत्यक्षमा कम्तिमा एक सिट जित्नुपर्छ ।
राप्रपा विभाजनअघि दीपक बोहरा, विक्रम पाण्डे र सुनिलबहादुर थापा गरी प्रत्यक्ष निर्वाचित तीन सांसद थिए । उनीहरुले फेरि पनि जित्न सक्ने आकलन थियो । तर, तीनै जना राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकतिर लागिदिए ।
त्यसमाथि वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनेपछि राप्रपा प्रत्यक्षतर्फ शून्य हुने खतरा छ । राप्रपाकै एक नेताका अनुसार सोही जोखिमका कारण उक्त पार्टी गठबन्धनको सहारा लिन चाहन्छ । तर, एमाले-माओवादी गठबन्धन बनाउन कस्सिएका नेताहरुले राप्रपासँग सल्लाह गरेनन् । राप्रपा अध्यक्ष थापा स्वयंले एमाले र माओवादी नेताहरुसँग ‘माया मारेको’ बताउँदै गुनासो गरेका छन् । एमाले-माओवादी गठबन्धनका नेताहरुले छलफल गरौंलासम्म भनेका छन् ।
यद्यपि, राप्रपा वाम गठबन्धनमा अटाउने सम्भावना कम छ । त्यसैले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा जाने बाटो नै उक्त पार्टीका लागि उपयुक्त बन्दै गएको छ । लोकतान्त्रिक गठबन्धनका लागि गृहकार्य गर्न गठित कार्यदलमा बुद्धिमान तामाङलाई राप्रपाले खटाउनुको कारण पनि त्यही हो ।
तथापि, राप्रपाको शर्त छ, गठबन्धनमा आफ्नो हैसियत प्रष्ट हुनुपर्छ । गठबन्धनका सम्भावित सदस्यहरु कांग्रेस, संघीय समाजवादी फोरम र राजपापछि आफू रहेको बताउँदै राप्रपाले प्रतिनिधिसभामा १५ र प्रदेशमा २५ सिट दाबी गरेको छ ।
कार्यदल बैठकमा सबै पार्टीले आ-आफ्नो दाबी पेश गर्ने र कांग्रेसले उदारता देखाएको खण्डमा लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने राप्रपा नेता दीलनाथ गिरी बताउँछन् । भन्छन्, ‘अहिले चुनावी तालमेलका लागि शुरुवाती चरणमा छलफल भएको हो ।’
राप्रपाले मागेका जिल्ला
राप्रपाले प्रतिनिधिसभाका एक सय ६५ मध्ये १५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई गठबन्धनले सघाउनुपर्ने प्रस्ताव राखेको छ ।