20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

भन्सार खुकुलो नगराउन व्यवसायीको ज्ञापन पत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४  

कोहलपुर, १९ भदौ, भारतबाट आयत गरिने दैनिक उपभोग्य वस्तुलाई भन्सार छुट नगर्ने कोहलपुर तथा नेपालगन्जका व्यवसायीहरुले नेपालगंज भन्सार कार्यलयलाई ज्ञापन पत्र बुझाएका छन् । कोहलपुरमा रहेको साझा समावेशी व्यवसायी समूहको अगुवाईमा नेपालगंज तथा कोहलपुरमा रहेका व्यवसायी र उनीहरुका संगठनहरुको पहलमा  सो ज्ञापन पत्र बुझाएको हो ।
भारतीय बजारबाट किनमेल गर्ने उपभोक्तालाई नेपालगन्ज भन्सारले ‘नरम’ नीति लिएको कारण  आफुहरुको उद्योग व्यावसाय धराशायी भएको  वसायीहरुको ठम्याई रहेको छ । साझा समावेशी व्यवसायी  समूह कोहलपुरका संयोजक विष्णुप्रसाद खनाल, नेपालगन्ज उद्योग बाणिज्य संघका कार्य वाहाक अध्यक्ष अब्दुल वाहिद मन्सुरी, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष अशोक विष्ट र होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष बलराम भट्टराईद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भारतीय बजारबाट खरिद गरिएको सामानमा भन्सार कार्यालयले नरम नीति नलिन उल्लेख गरिएको छ ।ज्ञापन पत्रमा भनिएको छ, ‘भारतबाट खुला सिमानाको फाईदा उठाउदै विभिन्न पर्व, साँस्कृतिक कार्यको बाहानामा बिना राजस्व लाखौको दैनिक उपभोग्य सामाग्री तथा लत्ताकपडा लगायतका विभिन्न बस्तुहरु भित्रिने गर्दा यसको प्रत्यक्ष असर बाँकेका उद्योगीे व्यवसायीको व्यापार व्यवसाय परेकाले यस्तो अनियमिता रोक्नको लागि नेपालगन्ज भन्सार कार्यालय मार्पmत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ ।’
‘नेपालगंज भन्सारको नरम नीति कारण सीमापारीको व्यावसाय फस्टाउदो र सिमा वारीको व्यवसाय दिन प्रतिदिन घट्दो क्रममा  रहेकाले हामीले ज्ञापन पत्र बझाएका हौँ’ साझा समावेशी व्यवसायी समूहका अध्यक्ष विष्णु खनालले बताए ।
त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष अशोक विष्टले राज्यका निकायले व्यवसायी र उद्योगको संरक्षण गर्नुपर्ने बताए । उनले भने–‘हामी राज्यलाई नियमित तोकेको कर राजस्व तिर्ने गरेका छौ हाम्रो व्यवसायको संरक्षणको जिम्मा पनि राज्यकै हो त्यसैले भारतीय बजारमा दैनिक उपभोग्य वस्तुको खरिदको लागि जाने उपभोक्तसंग नेपालगन्ज भन्सार कार्यालयले कडाईका साथ भन्सार लिन आवश्यक छ ।’ नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यले भन्सार कार्यालयले राजस्व उठाउनमा कुनै कसर नछोडेको बताए । उनले भन्सार कार्यालयले कुनैपनि उपभोक्तलाई  नरम नीति लिनु पर्ने कारण नै नभएको जिकिर गरे ।
उनले भने–‘कार्यालयले भन्सार राजस्व लिने कुरामा नरम भएको छैन, हामी भन्सार चुहावटमा पनि विभिन्न निकायसंग समन्वय गरी क्रियाशिल छौ । सबैको सहयोग र समर्थन पाए अझै कडा पार्नेछौ ।’ उनले भन्सार राजस्व चुहावट र दैनिक उपभोग्य वस्तुमा भन्सार मिनाह गर्ने कुरामा कुनै पनि किसिमको सम्झौता नहुने दावी गरे । उनले आम उपभोक्तालाई भारतमा भन्दा नेपालमा नै गुणस्तरिय सामान पाईन्छ भन्ने सचेतना मुलक सन्देश प्रवाह गरी भन्सार चुहावटमा समेत सबैको सहयोग भए आगामी दिनमा अझ राम्रो नतिजा दिन आफु र आफ्नो टिम तयार रहेको बताए ।
ज्ञापन पत्र बुझाउने समूहमा नेपाल घरेलु तथा साना उद्योग  महासंघ बाँकेका कोषाध्यक्ष अमृत सिग्देल, कोहलपुरका व्यवसायीहरु मधु खड्का, नेपालगंजका उद्योग वाणिज्य संघका महासचिव अजय टण्डन, सदस्य टंक धामी, नेपाल घरेलु उद्योग महासंघ का निवर्तमान अध्यक्ष इन्द्र बहादुर थापा, पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सूवेदी लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४     1:16:58 PM  |