20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बर्दियामा ५ हजार घर डुबानमा, दुईजनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन २९, २०७४  

दीपक शर्मा
 बर्दिया २९ साउन,  । नदी र खोलाहरुमा आएको बाढीले बर्दियाका पाँच हजार घर परिवार डुबानमा परेका छन् । बाढीका कारण बर्दियामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बाढी प्रभावित क्षेत्रबाट ५ हजार एक सय ३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सुरक्षित हुने प्रयासमा घरको छतमा बसेका र रुखमा चढेकाहरुलाई पनि उद्धारको प्रयास भइरहेको छ । बर्दियाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन पनि पूर्णरुपमा बन्द छ ।बाढीका कारण सदरमुकाम गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिका बढी प्रभावित बनेका छन् । ति स्थानहरुमा करिब ५ हजार जति घरमा क्षति पुगेको जिल्ल्ाा आपतकालिन उद्धार सेवा केन्द्रका सूचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

दुई जनाको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिका-२ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका-१० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ ।
साहुनीको डुबानमा परेको घर भत्किएर र राजेन्द्रको नदीबाट दाउरा निकाल्ने क्रममा मृत्यु भएको हो ।

यसैगरी बाँसगढी नगरपालिका-१ चेपाङमा तुलबहादुर विकको घर भत्किँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये ६० वर्षीया नरकली विकको अवस्था चिन्ताजनक छ । उनलाई उपचार गर्न बाँकेको कोहलपुर लगिएको छ । अन्य घाइते ३६ वर्षीय सेते नेपाली र उनकी छोरी १८ वर्षीया भुमसरा विक सामान्य घाइते छन् ।

यसैबीच गृहमन्त्री जनार्दन शर्मा आइतबारै बर्दियाका बाढी प्रभावित क्षेत्र निरीक्षण गरेर फर्किएका छन् ।

प्रकाशित मितिः आइतवार, साउन २९, २०७४     2:27:56 PM  |