हुम्ला ।
जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीको पाँच हजार मिटर अग्लो लाप्चा क्षेत्रमा पर्यटकीय संरचना बनाइएको छ । मानसरोवर कैलाशको दर्शन गर्न सकिने उक्त स्थानमा पर्यटकका लागि भौतिक संरचनाहरू निर्माण गरिएको हो । आन्तरिक तथा बाह्र पर्यटकहरूलाई मानसरोवर कैलाशको दुरदर्शन गर्न असहज भएको बेला पर्यटन बोर्डले संरचना निर्माण गरेको छ ।
गत असारमा काम सम्पन्न भएको हो । आवश्यकता देखिएपनि हालसम्म निर्माण हुन नसकेका आधारभूत भौतिक पुर्वाधारका संरचनाहरू निर्माण भएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । उनका अनुसार दृश्यावलोकन गर्न सकिने क्षेत्रमा पर्यटकहरूलाई भित्रैबाट बसेर हेर्न सकिने गरी भवन निर्माण गरिएको छ । भवनका झ्यालमा सिसा राखिएको छ ।
भने हल, शौचालय, फोहोर फाल्ने पाँच वटा डस्बिन, चार वटा फोहोर जलाउने खाल्डो, दुई वटा स्तुपाहरू निर्माण गरिएका छन् । हलको भित्र फर्निचरसमेत राखिएको वडाध्यक्ष तामाङले बताए । यसका लागि पर्यटन बोर्डले कैलाश मानसरोवर बहुक्षेत्र योजनाका नाममा संरचनाहरू निर्माण गरेको हो । जसका लागि गतवर्ष यसको डीपीआर तयार पारिएको थियो
। परियोजना अन्र्तगत पहिलो वर्ष एक करोड बजेट खर्च गरेर ती संरचनाहरू निर्माण गरिएका हुन् । गत जेठ पहिलो हप्ता यी संरचना लिमीका स्थानीयले निर्माण सम्पन्न गरेको उल्लेख छ । छोटो अवधिमा निर्माण सम्पन्न भई हाल प्रयोगमा आएको जनाइएको छ । पर्यटन बोर्डबाट यी संरचना निर्माणमा चासो भएपनि नजिकको सरोकारवाला निकाय गाउँपालिका र प्रदेश सरकारबाट हालसम्म कुनै पनि सहयोग प्राप्त नभएको वडाध्यक्ष तामाङको भनाइ छ ।
उनले भने, ‘जनप्रतिनिधिहरू सबैले भन्नलाई लिमी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने भन्छन्, तर त्यो कुरा बोलिमै सिमित हुन्छ व्यवहारमा देखिदैन ।’ यसअघि शौचालय नहुँदा खुला रूपमा दिसापिसाब गर्नुपर्ने बाध्यता थियो । जसले गर्दा पर्यटकलाई असहज महसुस हुन्थ्यो । अब भने शौचालयमै सौच गर्ने व्यवस्था मिलाइएको छ । फोहोरहरू पनि यत्रतत्र छरिएर दुर्गन्धित हुने अवस्था थियो ।
यो समस्या पनि समाधान हुने अपेक्षा छ । मानसरोवर कैलाशको दुरदर्शनपछि आफूसँग बोकेर लिएका खानेकुरा र प्रसाद पनि हलमा बसेर खान सकिने छ । भने हावा लागेको समयमा हल भित्रैबाट दुरदर्शन सर्न सकिने छ । यसअघि यी संरचना नहुँदा मौसम बिग्रेको समयमा चिसोले गर्दा दर्शनार्थीहरू छिट्टै फिर्ता हुनुपर्ने र हुुस्सुलाग्दा दुरदर्शन गर्न नपाइने अवस्था थियो ।
अब यस्तो अवस्थामा हलमा बसेर आनन्द लिन सकिनेछ । थप आवश्यक संरचनाहरू आगामी वर्ष पनि निर्माण गर्ने तयारी छ । अब लाप्चामा पर्यटकहरूलाई आर्कषण गर्न सकिने अवस्था सिर्जना भएको छ ।









प्रतिक्रिया दिनुहोस्