पाँच करोडको क्षति
नेपालगन्जको मुख्य क्षेत्र मानिने धम्बोजीमा भिषण आगलागी हुँदा पाँच करोडको क्षति भएको छ । नेपालगन्जको धम्बोजी चोक नजिक रहेको श्रेया इन्टेरियम डेकोर्समा भिषण आगलागी भएको हो ।
घरको बिद्युतको तार सर्ट भई आगलागी भएको खुल्न आएको बाँके प्रहरीले जनाएको छ । बिहान सवा ९ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब ३ घण्टा पछि नियन्त्रणमा ल्याइएको थियो । आगलागीका कारण घर तथा पसलमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ ।
दुई घाइते आगो नियन्त्रणका क्रममा २ जना घाइते भएका छन् । नेपाल प्रहरीका जवान निराजन बिक र नेपाल राष्ट्र बैंक धम्बोझीमा कार्यरत नेपाली सेनाको सिपाही सन्तोस थापा मगर घाइते भएको प्रहरीले जनाएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न नसकेपछि छिमेकी जिल्ला बर्दियाको गुलेरिया नगरपालीका, बाँकेको कोहलपुर नगरपालिका र नेपालगन्ज बिमानस्थलको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
पसलमा फर्निसिङ्ग तथा सजवटका सामाग्रीहरु धैरै भएकोले आगो नियन्त्रणमा लिनका लागि कठिन भएको थियो । आगो नियन्त्रणका लागी नेपालगन्जको धम्बोजी चोक देखि पुष्पलाल चोकसम्मको सडक अबरुद्ध गरिएको थियो । आगो नियन्त्रणमा मध्यपश्चिम प्रहरी तालिम केन्द्र नेपालगन्ज, दङ्गा प्रहरी नियन्त्रण गणबाट हजारौंको संख्यामा प्रहरीहरु परिचालन गरिएको थियो । तर, दमकल तत्काल आउन नसकेका कारण धेरै क्षति हुन पुगेको बाँके प्रहरीले जनाएको छ ।