
१७ वैशाखमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाभियोग दर्ता भए लगत्तै त्यसप्रति असन्तुष्टि जनाउँदै निधिले प्रधानमन्त्री समक्ष राजीनामा बुझाए पनि उनको राजीनामा स्वीकृत भइसकेको थिएन ।
आज विहान कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि निधिले पूर्ववत पदमा फर्कन निधो गरेका हुन् ।
“सभापति र प्रधानमन्त्रीसँगको भेटमा दुवैजनाले राजीनामा फिर्ता लिई पूर्ववत पदमा फर्कन आग्रह गर्नुभयो,” निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने, “दुवैसँगको छलफलपछि उपप्रधानमन्त्रीले पनि राजीनामा फिर्ता लिनुभएको छ ।”
राजीनामा फिर्ता लिए पनि निधि आज मन्त्रालय पुगिसकेका छैनन् । जनकपुरमा रामजानकी महोत्सवमा सहभागी हुन निधि त्यसतर्फ जाँदै गरेको दाहालले जानकारी दिए ।
यसअघि हिंजो बेलुका पनि कांग्रेस सभापति देउवा र निधिबीच एक घण्टाभन्दा लामो छलफल भएको थियो ।
निधिले आफूलाई कुनै जानकारी नदिई प्रधानमन्यायाधीश सुशीला कार्की बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकोले राजीनामा दिएको सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए । त्यसअघि प्रहरी महानिरीक्षकको नियुक्ति, सरकारमा वरियताको विषयलाई लिएर पनि निधि असन्तुष्ट थिए ।