कोहलपुर, १७ बैशाख / नेकपा (माओवादी केन्द्र) कोहलपुरले मध्यपश्चिम क्रिकेट क्लबका खेलाडीहरुलाई शनिबार सम्मान गरेको छ ।
काठमाडौंमा भएको नेक्सस यू–१६ क्रिकेट प्रतियोगितामा उप–विजेता हुन सफल मध्यपश्चिमका खेलाडी, प्रशिक्षक तथा टिम ब्यवस्थापकलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।
क्लबलाई आफ्नै गृह जिल्ला बाँकेमा पहिलो पटक स्वागत तथा सम्मान गरिएको हो । खेलाडीहरुको मनोबल उच्च राख्दै खेलप्रतिको मोहलाई बढावा दिने उद्देश्यले सम्मान गरिएको माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।
क्षेत्रकै प्रतिनिधीत्व गर्दै केन्द्रीय प्रतियोगितामा सहभागी भएको क्लबले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो । मोफसलमा समेत उत्कृष्ट क्रिकेट खेलाडीहरु उत्पादनमा क्रिकेट क्लबले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै थप हौसलाका लागि क्लबका खेलाडीहरुलाई सम्मान गरिएको माओवादी केन्द्र कोहलपुर अध्यक्ष तेजप्रसाद चापागाँईले बताए ।
कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का तर्फबाट कोहलपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार तथा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले कोहलपुरमा रहेको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गर्नका लागि अब आउने नेतृत्व सक्षम हुनुपर्ने बताए । उनले नयाँ सोच र नेतृत्वले मात्र युवामैत्री योजनाहरु लागु गराउन सक्ने भएकाले आफुले नगर प्रमुख पदका लागि उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको धारणा समेत ब्यक्त गरेका थिए ।
कोहलपुरस्थित क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरमा निर्माण गर्ने गरी वर्षौ पहिले घोषणा गरिएको भएपनि हालसम्म त्यसको निर्माणका लागि राज्य पक्ष उदासिन भएको भन्दै न्यौपानेले क्रिकेट मैदान निर्माणका लागि जुनसुकै कदम उठाउन आफु तयार गरेको उद्घोष समेत गरेका छन । वर्तमान सरकारका खेलकुद मन्त्री स्वयंले समेत मैदान निर्माणका लागि चासो दिदै बजेट निकासा गरिसकेको न्यौपानेले जानकारी दिए ।
मैदान निर्माणका लागि अघिल्ला वर्षहरुमा समेत बजेट निकासा हुँदै आएको भएपनि कार्य प्रारम्भ नहुँदा बजेट फ्रिज भएर जाने गरेको थियो । प्रत्येक वर्ष आउने बजेटलाई सहि सदुपयोग गर्न नसकेकै कारण मैदान निर्मण कार्य रोकिएको उल्लेख गर्दै राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान लेखबहादुर क्षेत्रीले यस आवको बजेटको सहि सदुपयोगका लागि पहल कदमी लिन सबैसँग आग्रह गरेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १७, २०७४