धादिङ २ वैशाख / पछिल्लो समय राजमार्ग अतिक्रमण बढ्दै जानथालेपछि सडक विभागले यस पटक पनि फेरि सडक विस्तारको काम सुरु गरेको छ ।
विगत केही वर्षदेखि सुरु गरिएको अतिक्रमण हटाउने काम अझै पूरा नभएपछि पुनः सुरु गरिएको हो । डिभिजन सडक कार्यालयले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रमा सडकको दायाँबाँया १५ मिटर क्षेत्र खाली गरी सडक विस्तारको कामलाई अगाडि बढाएको हो ।
पटक-पटक राजमार्गका स्थानीयवासीलाई १५ मिटर क्षेत्र खाली गर्न सूचना गर्दासमेत बेवास्ता गरेर अटेर गरी बस्दै आएकोमा अहिले भने सडक विभाग आफैँले सडककोबीच भागबाट १५ मिटर क्षेत्र दायाँबाँया खाली गरी सडक विस्तारको कामलाई तीव्रता दिन थालेको हो । त्रिभुवन राजपथको नागढुङ्गादेखि १५ मिटर क्षेत्र खाली गर्न सुरु गरिएको छ ।
सडक अतिक्रमणका कारण बढेको सवारी दुर्घटना कम गर्नका साथै राजमार्गमा अवरोधरहित तरिकाबाट सवारी सञ्चालनमा सहजता ल्याउनका लागि सडक दायाँबाँयाका क्षेत्र खाली गरेको सडक विभागले जनाएको छ । यसैगरी पृथ्वी राजमार्गमा आसपासमा वन अतिक्रमण गरेर मानवबस्ती बस्न खोजेको भन्दै जिल्ला वन कार्यालय धादिङले अतिक्रमण हटाउने कामको सुरुवात गरेको थियो ।
सडक क्षेत्र बढाइ दायाँबाँया नै नाली निमार्ण गर्न लागिएको सडक विभागले बताएको छ भने राजमार्गका स्थानीयवासीले भने हरेक वर्ष १५ मिटर र २५ मिटर खाली गर्ने निहुँमा सडक खनेर त्यतिकै छाडिदिने गरेको आरोप लगाएका छन् । सडक विभागले भने अब तीव्रगतिमा नागढुङ्गादेखि मौवा खोलासम्मको सडककै दायाँबाँया १५ मिटर खाली गराउने र क्रमश विस्तार गरेको सडकमा नाली निमार्ण गर्ने कालोपत्रे समेत गर्ने जनाएको छ । रासस