रावन विश्वकर्मा
बाँसगढी, असार 2
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानबाट सबैको अधिकार संस्थागत भैसकेकाले आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् । बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको बुधबार उद्घाटन गर्दै उनले संविधानमा सबैका मागहरु सम्बोधन गर्न कै लागि संविधानको पहिलो संशोधन समेत गरिसकेको उनले बताएका हुन् ।
मन्त्री राईले आन्दोलनमा रहेका दलहरुलाई निर्णायक वार्तामा आएर छिट्टै मुलुकलाई निकास दिने विश्वास व्यक्त गरे । उनले अबको समय देश विकास र पुनर्निर्माण गर्ने बेला भएकाले सहमति र सहकार्यको विकल्प नभएको बताए । उनले सबै धर्म संस्कृति मान्ने समुदायहरुको लागि आधुनिक सूचना र प्रविधीमैत्री केन्द्रको रुपमा सामुदायिक पुस्तकालयको विकास हुने र सबै मिलेर गर्नुपर्नेमा जोड दिए । उनले बाँसगढी स्रोत केन्द्रलाई अत्याधुनिक बनाउन सरकारको तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत जनाए ।
त्यस्तै कार्यक्रममा रिड नेपालका सूचना तथा सञ्चार केन्द्रका केन्द्रीय अध्यक्ष भोला कुमार श्रेष्ठले बालक देखि बृद्धबद्धा सम्मको लागि पुस्तकालयको स्थापना गरेको बताए । कार्यक्रममा संविधान सभाका सांसद निर्मल प्रकाश सुबेदी, लिला राना, पुर्व सांसद गोबिन्द बिक्रम शाह, रिड नेपालका कार्यकारी निर्देशक छत्र खत्री, प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा, स्थानिय बिकास अधिकारी तेजराज शर्मा, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, शिक्षक बुद्धिजिबी, समाज सेबी लगायतको उपस्थिति थियो ।
यस्तै कार्यक्रममा रेडियो गुर्वावा एफएमका कार्यकारी निर्देशक एकराज चौधरीले नेपालको संविधान २०७२ को थारु भाषाको पान्डुलीपि सञ्चार मन्त्री राईलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बिभिन्न संस्कृती झल्कने झाँकि समेत देखाइएको थियो । रिड नेपाल, रेसरेस डेभल्भमेन्ट र बाँसगढी नगरपालीकाको करिब ७० लाख बढी आर्थिक सहयोगमा भवन निर्माण तथा आवश्यक भौतिक सामाग्री स्रोत केन्द्रमा रहेका छन् । सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बिभिन्न ५ ओटा कक्ष, तालिम हल, आर्यआर्जनको लागि ३ ओटा सटर समेत रहेका छन् । कार्यक्रम बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद शर्माको सभापतित्वमा भएको थियो ।
प्रकाशित मिति : २०७३ असार २ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्