एकीकृत सम्पत्ति कर लगाउने तयारी



केशव राना
कोहलपुर, जेठ ३२
कोहलपुर नगरपालिका कार्यालयले उठाउँदै आएको घरजग्गा कर व्यवहारिक नभएको भन्दै एकीकृत सम्पत्ति कर लागू गर्ने प्रक्रिया बढाइएको छ । आगामी आ.व. २०७३÷०७४ बाट शुरु गर्ने गरी एकीकृत सम्पत्तिकर लगाउने तयारी गरिएको हो ।

IMG_2821
के हो एकीकृत सम्पत्ति कर ?
एकीकृत सम्पत्ति भन्नाले नगर क्षेत्रको जग्गा र त्यस्तो जग्गामा बनेको भवन, सेड, ग्यारेज जस्ता भौतिक संरचना सम्झनुपर्छ । यो करको दायरामा नगर क्षेत्रभित्र आफ्नो स्वामित्वमा जग्गा वा संरचना भएका सम्पूर्ण व्यक्तिहरु आउँदछन् । यो कर लागेपछि मालपोत लाग्दैन र यो कर तिरेको निस्सा नै जग्गामा लाग्ने पोत तिरेको प्रमाण समेत हो ।
नगरपालिकाले घरजग्गा कर उठाउँदै आएकोमा यसरी विभिन्न शीर्षकमा कर उठाउनुभन्दा एकमुष्ठ रूपले कर उठाउनु व्यवहारिक हुनेभएपछि कार्यालयले एकीकृत कर लागू गर्ने प्रक्रिया अघि बढाएको हो । एकीकृत सम्पत्ति करको प्रभावकारी कार्यान्वयनबाट राजश्व परिचालनमा वृद्धि गर्ने उद्देश्यका साथ तयारीलाई तीव्रता दिइएको छ ।
सम्पत्ति कर लागू भएपछि मालपोत भूमिकर (तिरो) र घरजग्गा कर विस्थापित हुनेछन् । हाल नगरवासीले तिरो र घरजग्गा कर दुवै तिर्दै आएको अवस्था छ । जग्गाको मूल्यांकन मालपोत कार्यालयले तोके बमोजिम हुँदा घरजग्गा कर धेरै तिर्नुपरेको  थियो ।
एकीकृत सम्पत्ति कर लागू भएपछि १ लाख देखि १० लाख सम्पत्तिसम्म रु. २५ देखि दुई सय कर, १० लाख १ देखि २० लाखसम्म रु. दुई सय ५० देखि चार सय, २० लाख १ देखि ३० लाखसम्म रु. पाँच सय देखि एक हजार, त्यसपछि ३० लाख १ देखि ५० लाखसम्म रु. १२ सयदेखि तीन हजार, त्यसपछि ५० लाख १ देखि एक करोडसम्म रु. ३५ सयदेखि १० हजार, त्यसपछि एक करोड १ देखि दुई करोडसम्म रु. १२ हजारदेखि २० हजार, त्यसपछि २ करोड १ देखि पाँच करोडसम्म २५ हजार देखि ६० हजार र पाँच करोडदेखि माथि दुई रुपैयाँ प्रतिहजार तिर्नुपर्ने हुन्छ । एकीकृत सम्पत्ति करका विषयमा सोमबार कोहलपुरमा अभिमूखिकरण गरियो । जहाँ विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले वैज्ञानिक हिसाबले कर निर्धारण गर्न सुझाव दिएका छन् । अभिमुखिकरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका विभागका शाखा अधिकृत तुलसीराम मरासिनीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले एकीकृत सम्पत्ति करका बारेमा जानकारी गराएका थिए ।  कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका लेखा अधिकृत शरदकुमार बरालले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ ३२ गते मंगलबार