20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

आज बेलुका छुट्ने लामोदुरीका सवारी साधन बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७३  

  • चक्काजाम सफल पार्न यातायात मजदुर तथा व्यवसायीद्वारा व्यापक प्रचारप्रसार

  • चक्काजाममा इ–रिक्सा पनि संचालन नहुने

    कोहलपुर, जेठ १२

यातायात व्यवसायी र मजदुरहरुले भोली आव्हान गरेको चक्काजामलाई सफल पार्न पर्चा पम्पलेट टाँस गर्ने, माईकिङ्ग तथा प्रचारप्रसारलाई व्यापकता दिएका छन् । ट्राफिक नियम उल्लंघन गरेवापत सरकारले जरिवाना वृद्धि गरेपछि यातायात व्यवसायी तथा मजदुरहरु आन्दोलित भएका छन् । भोली देशव्यापी रुपमा आव्हान गरिएको चक्काजामको केन्द्रीय कार्यक्रम अन्तरगत बाँकेमा पनि आन्दोलन सफल पार्न सबैलाई आव्हान गरिएको छ ।

13278003_1069417823105142_324327587_n

 

यात्रुहरु अलपत्र पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आज बेलुका यहाँबाट छुट्ने सम्पूर्ण लामोदुरीका रात्री सेवा बन्द गरिएको आन्दोलन परिचालन मुल कमिटी कोहलपुर संयोजक निरज चलाउनेले बताए । सडकको दुरावस्था,पर्याप्त ट्राफिक संकेतको अभाब, लेन अनुशासनको ज्ञान नदिनु लगायतका कारण दुर्घटना हुने गरेको बताउँदै जरिवना वृद्धि गरेर मात्र समस्याको समधान नहुने उनले बताए ।

भोली सार्वजनिक भाडाका सवारीसाधन सञ्चालन नहुने प्रवक्ता गोविन्द पौडेलले जानकारी दिए । साथै उनले निजी सवारीसाधनहरु मोटरसाइकल, अन्य राता नम्बर प्लेटका गाडीहरुलाई पनि आन्दोलनमा ऐक्यवद्धता जनाउनका लागि आव्हान गरिएको बताए । त्यस्तै मध्यपश्चिम जनसेवा अन्तरगत सञ्चालित इ–रिक्साहरु पनि बन्द रहने उनले बताए । भोली बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि चक्काजाम आव्हान गरिएको छ । ‘हाम्रो शान्तिपूर्ण बन्दमा सरकारले दमन गर्न खोजे अनिश्चितकालिन बन्द गर्न पनि पछाडि पर्दैनौं’ उनले भने ।

एम्बुलेन्स, पत्रकार, शवबाहन, मानवअधिकारकर्मी, अत्यावश्यक सवारीसाधनहरुलाई पनि निर्वाध रुपमा सञ्चालन गर्न दिइने प्रवक्ता पौडेलले बताए ।

आफूहरुको असहमति जरिवना वृद्धिसँग मात्र नभई भौतिक पूर्वाधारको तीव्र विकास हुनुपर्ने पनि माग रहेको आन्दोलन परिचालन केन्द्रीय संयोजक डोलनाथ खनालले बताए । साथै उनले यातायात क्षेत्रले योगदान गरेको करबाट भौतिक पूर्वाधारको निर्माण र श्रमिकको हितमा प्रयोग हुनुपर्ने, श्रमिकहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी र अन्तरदेशिय असमान प्रतिस्पर्धा तत्काल रोकिनुपर्ने लगायतमा माग राखिएको बताए ।

यता गृहमन्त्रालयले आन्दोलन र विरोधका कार्यक्रमबाट नागरिकका मौलिक हक अधिकार कुण्ठित हुने भन्दै एक विज्ञप्ति जारी गरी प्रचलित कानून विपरित कार्य गर्नेलाई कारबाही हुने बताएको छ । साथै गैरकानुनी कार्य नगर्न नगराउन अनुरोध समेत गरेको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७३     5:53:33 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *