19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

रातमा खोलामा स्काभेटर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ७, २०७३  

 केशव राना
कोहलपुर, जेठ ७
जब दिन ढल्दै जान्छ, तब क्रसर उद्योगहरु जाग्न थाल्छन् । बाँकेका विभिन्न खोलाहरुमा अनाधिकृत रुपमा ती क्रसर उद्योगहरुले रातको समयमा स्काभेटर प्रयोग गर्दै प्राकृतिक सम्पदाको दोहन गरिरहेका छन् ।
बाँके जिल्लाको चुरे क्षेत्र अन्र्तगत पर्ने कचनापुर र महादेवपुरी गाविसका खोला नदीबाट स्काभेटर प्रयोग गरेर प्राकृतिक सम्पदा उत्खनन् भइरहेको छ ।
कचनापुर ८ स्थित राप्ती नदी किनारमा बुधबार मध्यरात १२ बजे अनाधिकृत रुपमा स्काभेटर प्रयोग गरेर नदीजन्य वस्तु उत्खनन् गरिरहेका अवस्थामा यातायातका साधनहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश काफ्लेले जानकारी दिए ।
मध्यरातमा नदीजन्य वस्तु चोरी गरिरहेका २ वटा जेसीबी, भे १ त ६९६५ र भे १ त ६९६९ नम्बरको ट्याक्टर तथा ना ४ ख २५७० नम्बरको ट्रिपर गिट्टी सहित नियन्त्रणमा लिइएको उनले
बताए । नियन्त्रणमा लिइएका गाडीहरुलाई जिल्ला वन कार्यालयमा बुझाइएको छ ।
ती अवैध कार्यमा संलग्न गाडीहरु महादेवपुरी २ स्थित दिपक क्रेसरको भएको बुझिएको छ । खोला नदीमा स्काभेटर प्रयोग गर्न नपाइने भएपनि स्काभेटर प्रयोग गर्दै खाडल बनाउँदै दैनिक दर्जनौं ट्रिपर ढुंगा गिट्टी निर्वाध रुपमा क्रेसरमा लैजाने गर्दछन् । खोलामा दिउँसो भन्दा रातीको समयमा स्काभेटर जस्ता हेभी मेशिनबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन् भइरहेको स्थानीयहरु बताउँछन् ।
सरकारले राजमार्ग, पुल, मानववस्ती लगायत स्थानको ५ सय मिटर भित्र ढुंगा, गिट्टी र बालुवा उठाउन नपाउने नियम
छ । तर, बाँकेमा राजमार्ग, पुल र मानव बस्ती नजिकका खोला नदिबाट स्काभेटर प्रयोग गरी प्राकृतिक सम्पदा उत्खनन् गरिरहेका छन् ।
नियम विपरित हुने ढुंगा, गिट्टी र बालुवा निकासी रोक्न जिल्लामा सरकारी निकायका अधिकारी संलग्न रहेको समिति समेत क्रियाशिल छ । जसमा जिल्ला प्रशासन, प्रहरी, वन, जिल्ला विकास समिति लगायत निकाय छन् । अनुगमन समितिले सुरक्षा निकायलाई आदेश मात्र दिने तर, अनुगमन नगर्नाले खोला र नदिमा स्काभेटर प्रयोग गरी बालुवा ढुङ्घा उत्खनन् भइरहेको देख्न पाइन्छ ।
जिल्ला वन कार्यालय बाँकेका जिल्ला वन अधिकृत पुष्पराज बर्तौलाले अनुसन्धान भइसकेपछि कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् । यता जिल्ला विकास समिति बाँकेका स्थानीय विकास अधिकारी जिवलाल भुषालले पनि कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन् ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ७, २०७३     12:23:19 PM  |