केशव राना
कोहलपुर, बेशाख १३
बाँकेमा भित्रिएका इ.रिक्साका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । भारतले लगाएको अघोषित नाकाबन्दीपछि बढ्दो रुपमा प्रयोग भएको ई. रिक्साका कारण यस क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे परेको छ ।
डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थ नचाहिने विद्युत चार्जबाट चल्ने ई. रिक्साको प्रयोग अहिले बढ्दो छ । सयौंंको संख्यामा रहेका ई. रिक्सालाई व्यवस्थापन गर्न नसक्दा समस्या पैदा भएको छ । यस क्षेत्रको ट्राफिक व्यवस्थित गर्न समस्या भैरहेका बेला ई.रिक्साको आगमनले ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिएको छ ।
अधिकांश ई.रिक्सा चालकसँग चालक अनुमती पत्र पनि छैन । त्यस्तै ई.रिक्सा कति छन् भन्ने स्पष्ट तथ्यांक पनि छैन । निजी प्रयोजनका लागि भनेर रातो नं प्लेट लिएका ई. रिक्साहरुले धमाधम रुपमा यात्रु बोक्न थालेका छन् । मापदण्ड अनुसार रातो नं. प्लेट निजी प्रयोजन र कालो नं. प्लेट सार्वजनिक प्रयोजनका लागि हो । तर, यस क्षेत्रका ई. रिक्साहरुले कुनै मापदण्ड पालना गरेका
छैनन् ।
जहाँ पायो त्यहीँ यात्रु भर्ने र झार्ने गरेका छन् । ट्राफिक अव्यवस्थित हुने गरी रिक्साहरु पार्किङ्ग गर्ने गरेको पाइएको छ । ई. रिक्साको व्यवस्थापन गर्न मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरलाई चुनौतीको रुपमा देखा परेको छ ।
ई. रिक्साको व्यवस्थापनका लागि राज्यले ठोस नीति लिन नसक्दा ई. रिक्सा व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई अप्ठ्यारो भइरहेको मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक कमल खरेलले बताए । भर्खरै संचालनमा ल्याइएको ई. रिक्साको व्यवस्थापनका लागि राज्यले तत्काल कदम लिनुपर्ने आवश्यकता रहेको उनी
बताउँछन् ।
कोहलपुर क्षेत्रमा संचालनमा आइरहेका मध्ये ८४ जना ई. रिक्सा चालकलाई व्यवस्थित रुपमा ई. रक्सा संचालन गर्न आइतबार मध्यपश्चिम क्षेत्रिय टाफिक कार्यालय कोहलपुरले प्रशिक्षण दिएको थियो ।
ई. रिक्सा व्यवसायीहरुले ई. रिक्सा यातायात कार्यालयमा दर्ता हुनुपर्ने, रातो प्लेटको नभएर कालो प्लेट हुनु पर्ने, सवारी चालक अनुमपति पत्र लिनुपर्ने, ई. रिक्सा बिमा गर्नु पर्ने, दुर्घटना बिमा हुनुपर्ने, ट्राफिक नियम पालना गर्नु पर्ने, जहाँ पायो त्यहीँ रोकेर यात्रु भर्ना नपाइने लगायतका विषयमा सुझाव दिइएको खरेलले बताए ।
यस क्षेत्रमा संचालनमा आएका ई. रिक्साहरु गाविस र नगरपालिकामा दर्ता भएका छन् । गाविस र नगरपालिकामा नभएर यातायात कार्यालयमा दर्ता गर्नु पर्ने ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पछिल्ला दिनहरुमा यातायात व्यवस्था कार्यालयमा ई. रिक्साहरु दर्ता हुन आइरहेका छन् । धेरै ई. रिक्साहरु गाविस र नगरपालिकामा दर्ता छन् । मापदण्डमा ल्याउने प्रक्रिया अनुसार यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रिया शुरु गरिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
(साथमा रामबहादुर रावत)
प्रकाशित मिति : २०७३ वैशाख १३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्