कोहलपुर, बैशाख १०
अनियमित विद्युत कटौतीले बाँकेका साना देखि ठूला अस्पतालहरु मर्कामा परेका छन् । तत्कालै गर्नुपर्ने शल्यक्रिया, ल्याव परीक्षण लगायतका उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।
बाँकेका भेरी अञ्चल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज लगायतका दर्जनौं अस्पतालमा विद्युत नहुँदा बिरामीहरु मर्कामा परेका छन् । अनियमित विद्युतका कारण जेनेरेटरबाट सेवा प्रवाह गर्दै आइएको भए पनि लगातार रुपमा जेनेरेटर चलाउँदा विग्रने गरेको अस्पताल सञ्चालकहरु
बताउँछन् । अस्पतालसँग ठूलो क्षमताको जेनेरेटर राख्ने अवस्था नभएका कारण गम्भीर खालका विरामीलाई रिफर गर्नु परेको नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक सुरेश कनोडियाले बताए ।
विद्युत अनियमिताले भेरी अञ्चल अस्पतालको अवस्था पनि उस्तै विजोग भएको छ । निमित्त मेडिकल सुपरिटेण्डेण्ट दुर्गालक्ष्मी श्रेष्ठका अनुसार यही अवस्था रहे विरामीलाई उपचार गर्न ठूलो समस्या हुनेछ ।
लामो समयसम्म जेनेरेटर चलाउँदा अस्पतालको आर्थिक भार पनि थपिने भएका कारण प्रशासन चलाउनै नसकिने स्थिति आउने उनले बताइन् ।
प्रकाशित मिति : २०७३ वैशाख १० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्