राम बहादुर रावत
कोहलपुर, फागुन २१
भेरी अञ्चल अस्पतालमा शौचालयको उचित व्यवस्थापन हुन सकेको छैन । शौचालय फोहोर हुँदा बिरामी तथा बिरामीका आफन्तहरु शौचालय बाहिरै दिसापिसाब गर्न बाध्य भएका छन् । दिसा भरिएर ‘ट्वाइलेट प्यान’ माथि नै आएपनि अस्पताल प्रशासनले भने शौचालयको सफा सुग्घर राख्न कुनै चासो दिएको पाइदैन ।
यस क्षेत्रकै ठूलो सरकारी अस्पतालको शौचालयको यस्तो दुरावस्था हुँदा अस्पताल प्रशासनले भने ध्यान नदिएको दैलेखबाट उपचारका लागि आएका रमेश पुन मगरले
बताए । यस्तै नौवस्ता ५ का नहकुल थापाले शौचालयमै वान्ता गरेका छन् । दिसा चेकजाँचका लागि सिसी लिएर शौचालयमा गएका उनी शौचालय फोहर र दिसा बाहिरै भएका कारण वान्ता भएको बताए । ‘बिरामी भएर औषधी गर्न आएको हुँ’, उनले भने ‘यस्तै हो भने अरु रोग पो सर्न सक्ने हो की भनेर चिन्ता लाग्न थाल्यो ।’
हजारौं बिरामीहरु उपचार गर्ने अस्पतालमा शौचालयको उचित व्यवस्थापन हुन नसक्नु गम्भिर विषय भएको नेपालगञ्जकी सविता सुनारले बताइन् । शौचालय भरिएको भए तत्काल दिसा फालेर शौचालयलाई सफा बनाउनु पर्ने उपचारका लागि आएका बिरामीहरु बताउँछन् ।
पहाडि जिल्लाहरुबाट उपचारका लागि आउने यस अस्पतालमा धेरै दिन सम्म बस्ने बिरामीहरुका लागि दिसा पिसाब गर्न अप्ठ्यारो भएको जुम्लाबाट उपचारका लागि आएका रने चँदाराले बताए । गर्मी बढेसँगै बाँके लगायत तराईका जिल्लाहरुमा रुघा, ज्वरो, टाइफाइड जस्ता रोगहरु लाग्ने गर्दछन् । सरकारी अस्पतालमा पैसा कम लाग्ने भन्दै आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरु उपचारका लागि सरकारी अस्पतालमा धाउने गर्दछन् । प्रत्येक दिनमा सयौं बिरामीहरु उपचारका लागि आउने भेरी अञ्चल अस्पतालमा शौचालयको अवस्था भने राम्रो छैन ।
उता अस्पताल प्रशासनले भने प्रत्येक दिन सफा गरे पनि बिरामीको मनोमानीले गर्दा शौचालय फोहोर बनेको जनाएको छ । बिरामीहरु शौचालय बाहिरै दिसापिसाब गर्ने हुँदा सरसफाईमा समस्या आएको प्रशासन स्रोतले जनाएको छ । तर, शौचालय अवस्था हेर्दा भने अस्पताल प्रशासनले दैनिक सफा गरेजस्तो देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्