नियमविपरीतका कार्यमा रोक लगाउने प्रयास गर्दा जोशीमाथि आक्रमण



शेरबहादुर ऐर । कैलाली ।

बिहीबार कैलालीको गौरीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि अभद्र व्यवहार तथा कुटपिट भयो । नगर प्रमुख देवीदत्त कँडेलले नियमविपरीत गर्दै आइरहेका कार्यहरुमा प्रमुख प्रशासकीय अधिकृत जोशीले रोक लगाउन थालेपछि विवाद बढ्दै गएको थियो । सो विवाद बिहीबार वादविवाद र कुटपिटमा परिणत भयो ।

नगर प्रमुख कँडेल र कार्यालय प्रमुख जोशीबीच अपशब्दसहित वादविवाद भएपछि उनका कँडेलका स्वकीय उमेश जोशीकै कार्यकक्षमा छिरेका थिए । कार्यकक्षमा उनीमाथि हातपात गरेर नगर प्रमुख कक्षमा प्रवेश गरेका थिए । त्यसलगत्तै नगर प्रमुखले कार्यालयमै माओवादी कार्यकर्ता बोलाएका थिए । कार्यालय प्रमुखमाथि असुरक्षा बढेपछि इलाका प्रहरी कार्यालय चौमालाबाट सुरक्षाकर्मी खटिएका थिए । प्रहरीले कार्यालय प्रमुखमाथि कुटपिट गर्ने उमेशलाई पक्राउ गरेन् ।

विवादलाई सोही ठाउँमा संवाद गरेर समाधान गराउनतर्फ लाग्यो । कार्यालय प्रमुख जोशीमाथि कुटपिट गरेका उमेशले सो छलफलमा कार्यालय प्रमुखले क्षमायाचना माग्नुपर्ने धम्कीसमेत दिए । अहिले प्रहरीले उमेशको खोजीकार्य गरिरहेको छ । कैलाली प्रहरी प्रमुख बालनरसिंह राणाले प्रहरी टोलीले उमेशको खोजी कार्य गरिरहेको बताए । उनले भने, ‘अहिले मोबाइल बन्द रहेको छ । हामीले खोजीकार्य गरिरहेका छौँ । जोशीले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दर्ता गराएका छन् । हाम्रो खोजीकार्य जारी रहेको छ । पक्राउ गर्छौँ ।’

यसरी सुरुवात भयो विवाद

गौरीगंगाले आफ्नै प्रमुख प्रशासकीय अधिकृत निवास निर्माण सम्पन्न गरि समुद्घाटन गरिसकेको छ । तर, अहिलेसम्म सो भवन प्रयोग भएको छैन । नगर प्रमुख कँडेलले आफ्नो घर भाडामा लगाई प्रमुख प्रशासकीय अधिकृत निवास बनाएका छन् । उनले मासिक २५ हजार नगरपालिकाले उपलब्ध गराउने सम्झौता गरि आफ्नो घर भाडामा दिएको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत जोशीले घरभाडा बढी लिइरहेकोमा असहमति जनाएका थिए ।

उनले भनेका थिए, ‘शहरमा भए यति महँगो भाडा तिर्नु उपयुक्त होला तर, गाउँमा यति महँगो भाडा लिनु उचित होइन । अझै नगरपालिकाकै लगानीमा फर्निचर, एसी जडान गरिएको छ । यो राम्रो भएन ।’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘नगरपालिकाले पूर्वपश्चिम राजमार्गमा जोडिएका छ सटर (साविकमा स्वास्थ्य, शिक्षा, महिला लगायतका) छ शाखाले प्रयोग गर्दै आएका तथा २०८१ असोज २९ गतेमा प्रशासकीय भवनको समुद्घाटन पछि प्रयोग नभएका तथा साविककोे गार्ड भवन उपयोग नगरी राखेको पाइयो ।’

नगरपालिकाले जग्गाकोे भोगाधिकार नभएको भन्दै समुद्घाटन भएको भवन प्रयोगमा ल्याएको छैन । सो भवन सञ्चालनमा ल्याएपछि प्रमुख प्रशासकीय अधिकृत भाडाको घरमा बस्नुपर्ने अवस्था रहने छ । स्थानीय तहको ठुलो आम्दानीको स्रोत हो नदीजन्य पदार्थ उत्खनन, संकलन तथा ढुवानी । नगर प्रमुखकै सहयोगमा उमेशले जथाभावी नदीजन्य पदार्थ उत्खनन तथा संकलन गरिरहेका थिए । महालेखाले नै वातावरणीय प्रभाव मूल्यांकनले तोकिएको भन्दा बढी नदीजन्य पदार्थ उत्खनन र संकलन भइरहेको औँल्याएको छ ।

प्रमुख प्रशासकीय अधिकृत जोशीले संकलन भएको राजश्व बराबरको रकम नगरपालिकामा बुझाउन दबाब दिएका थिए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अहिले आफ्ना नातेदार तथा आसेपासेलाई नियमविपरीत भर्ना गर्ने चर्चा छ । नगर प्रमुखका ज्वाइँसमेत पर्ने उमेश नियमविपरीत कार्यरत रहेका देखिन्छन् ।

उनलाई नगरपालिकाले अक्जिलरी हेल्थ वर्कस (अहेव)मा नियुक्ति दिएको छ । तर, उनी दैनिकजसो नगर प्रमुख कँडेलको सचिवालयमै कार्यरत थिए । उनलाई स्थानीयहरुले स्वकीय सचिवका रुपमा चिन्छन् । प्रमुख प्रशासकीय अधिकृतले यो नियमसंगत नदेखिएपछि सेवासुविधा पाउनबाट रोक्ने कोसिस गरेको जनाइएको छ ।

जब प्रमुख प्रशासकीय आफ्नो कार्यकक्षबाट बाहिर गएनन्…

बिहीबार बिहान नगर प्रमुख कँडेलले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई आफ्नो कार्यकक्षमा बोलाए । प्रमुख प्रशासकीय अधिकृत जोशीले आफू काममा रहेकाले केही मिनेटमा आउने प्रतिक्रिया दिए । दोस्रो पटक बोलाउँदासमेत जोशीले सोही प्रतिक्रिया दिए । जोशी कार्यकक्षबाट नआएपछि नगर प्रमुख कँडेल उनको कार्यकक्षमा प्रवेश गरेका थिए । उनीहरुबीच एकअर्काप्रति आरोपप्रत्यारोप चल्यो । सो क्रममा दुवैले एकअर्कामाथि अमर्यादित र अपशब्द प्रयोग गरेका थिए ।

नगर प्रमुख कार्यकक्षबाट बाहिर निस्केको केही समयमा उनका ज्वाइँ उमेशले अपशब्द प्रयोग गर्दै कुटपिट गरेर निस्केका थिए । नगर प्रमुख कँडेलका ज्वाइँसमेत रहेका सहयोगी उमेशलाई प्रहरीले खोजीकार्य जारी रहेको भन्दै पक्राउ गर्न आनाकानी गरिरहेको छ । शुक्रबार दिनभरी उमेश गौरिगंगामा नै थिए । जाहेरी दर्ता भएको जानकारी पाएपछि उनी फोन बन्द गरि सम्पर्कविहीन बनेको जनाइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार