बैजनाथमा जग्गा नाँपचाँज सुरु



जग्गा नाँपचाँज कार्यक्रमको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही र भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालको उपस्थितिमा शुभारम्भ गरिएको थियो । सोमबार बैजनाथ गाउँपालिका वडा नम्बर ४ र ६ मा एकैसाथ जग्गा नाँपजाँच सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सहिद बैजनाथ थारूको जन्मस्थान बैजनाथ ७ पेडारीबाट जग्गा नाँपजाँच प्रक्रिया शुभारम्भ भएको बताए ।शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँकेको बैजनाथ गाउँपालिकाले जग्गा नाँपचाँज सुरु गरेको छ । गाउँपालिकामा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा नाँपजाँच सुरु गरिएको हो । आइतबार एक कार्यक्रमका बीच वडा नम्बर ७ बाट जग्गा नाँपजाँच सुरु गरिएको हो ।

जग्गा नाँपचाँज कार्यक्रमको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही र भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालको उपस्थितिमा शुभारम्भ गरिएको थियो । सोमबार बैजनाथ गाउँपालिका वडा नम्बर ४ र ६ मा एकैसाथ जग्गा नाँपजाँच सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सहिद बैजनाथ थारूको जन्मस्थान बैजनाथ ७ पेडारीबाट जग्गा नाँपजाँच प्रक्रिया शुभारम्भ भएको बताए ।

विकासका दृष्टिले अन्यभन्दा पछि रहेका वडा नम्बर ७ बाट जग्गा नाँपजाँच सुरु गरिएको उनले बताए । वडा नम्बर ७ का २ सय ७५ जनाको जग्गा नाँपजाँच गरिने गाउँपालिकाले जनाएको छ । उक्त वडामा ३ जना भूमिहीन दलित, २ जना भूमिहीन सुकुम्बासी र २ सय अव्यवस्थित बसोबासी रहेका छन् ।

अध्यक्ष शाहीले भने, ‘गाउँपालिकाले किसानहरूलाई पहिलो प्राथमिकता दिएको छ । त्यसैगरी, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी हुन् । उनीहरूलाई लक्षित गरेर जग्गा नाँपजाँच कार्य सुरु गरिएको हो ।’ बैजनाथमा १० हजार ३१५ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका छन् । वडा नम्बर ६ को अठ्ठाइस घरबाट जग्गा नाँपजाँच सुरु भएको छ । वडा नम्बर ६ मा १ हजार १ सय जना र वडा नम्बर ४ मा १ हजार ३ सय १५ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी छन् ।

‘जनता हालमा लालपूर्जा नहुँदा धेरै सुविधाबाट वञ्चित भएका छन् । लालपूर्जा हातमा नहुँदा उनीहरूमा नेपाली नागरिक हुनुको अनुभव हुन सकेको छैन । स्थानीय सरकारले जनताका समस्यालाई मध्यनजर गरेर अघि बढेको हो । सम्पूर्ण वडामा जग्गा नाँपजाँच हुन्छ,’ उनले भने ।

उक्त अवसरमा बोल्दै भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनालले अहिले जिल्लाभर जग्गा नाँपजाँचको काम भइरहेको बताएका थिए । उनका अनुसार जिल्लाका राप्ती सोनारी, खजुरा, जानकी र नरैनापुरमा जग्गा नाँपजाँच कार्य भइरहेको छ । बैजनाथ गाउँपालिकाका जनतालाई लक्षित गरेर काम सुरु गरिएको र नाँपजाँच कार्य तीव्र गतिमा अघि बढ्ने अध्यक्ष खनालको भनाइ थियो ।

अध्यक्ष खनालले नेपालगन्जमा जग्गा नाँपजाँचको प्रक्रियामा अन्तिम चरणमा रहेको बताए । डुडुवा गाउँपालिकामा सम्झौता नभएका कारण भूमिहीनहरूको समस्या समाधानको प्रक्रिया नै सुरु नभएको उनले जानकारी दिए । कोहलपुर नगरपालिकामा भने सबै प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण भइरहेको छ ।

बैजनाथ गाउँपालिका सम्पूर्ण नागरिकलाई जग्गा र लालपुर्जा उपलब्ध गराउने अभियानमा लागेको अध्यक्ष शाहीको भनाइ छ । अहिले गाउँपालिकाले ३ वटा वडामा सुरु गरेको छ । ती वडामा एकजना प्रर्वेक्षकसहित ९ जना प्राविधिक कर्मचारी खटाइएको छ । यस्तै राष्ट्रिय भूमि समस्या समाधान आयोगबाट चार जना जनशक्ति खटिएका छन् । अबको डेढ वर्षभित्र बैजनाथ गाउँपालिकामा लालपुर्जा वितरण गरिने उनले प्रतिबद्धता गरेका छन् । गाउँपालिकाले ८ वटै वडामा निस्सा वितरण गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार