नियात्राः काठमाडौं हुँदै पेङ्गियो सम्म



नरेन्द्र देवकोटा “प्रशान्त“

सूर्य क्षितिजबाट ओझेल परिसकेको थियो । गोधुली साँझको समय थियो। चराचुरुङ्गी आफ्नो गुँडतिर फर्किदै थिए। आकाश सिन्दुरे रंगमा गुच्छा गुच्छामा फैलिदै थियो । बादलका सेतागुच्छा निलो आकासमा उडिरहेका देखिन्थे । राजधानीका आकाशे पुलबाट हेर्दा रातो लाईट बलिरहेका गाडी र कारहरू अफिस, मन्त्रालय, जस्ता विभिन्न निकायबाट काम सकेर फर्किदै गरेको देखिन्थे । यस्तैबेला टिनटिन गर्दै मेरो मोवाईल बज्यो । भोलि नागरिकताको प्रमाणपत्र र पासपोर्ट बोकेर अफिस आउनु होला भन्दै बिश्वास तिमिल्सिनाजिको मोबाइलबाट फोन आयो । म आश्चार्यचकित भएँ । तीसौँ बर्षको अन्तिम महिनामा एकाएक वैदेशिक यात्रामा जाने खवर आएपछि मलाई दिवा स्वप्न जस्तै लाग्यो । मैले बिस्तारै सोधेँ– बिश्वासजि कुन देशमा जान मनोनित भएकोछु ? उहाँले भोलि थाहा पाई हाल्नु हुन्छ नि ! भनेर फोन राखिदिए । मेरो मनमा खुल्दुली बढिरह्यो, कुन देशको भ्रमण कार्यक्रम होला ? कति दिनको, के कस्तो कानूनी बिषयको प्रोग्राममा ? कुन कुन सर म्याडम भ्रमण कार्यक्रममा पर्नु भयो होला ? कुन सरले भ्रमणको नेतुृत्व गर्दै हुनुहुन्छ होला ? घर परिवारले विदेश भ्रमणमा परेको खवर थाहा पाए भने कस्तो अनुभूती गर्लान् आदि ? भ्रमण गर्ने भनेपछि त्यो देशको मौसम जाडो ÷गर्मी, शान्ति सुरक्षाको अवस्था ? लाग्ने खर्चपर्च लुगालत्तिआदिको ब्यवस्थापन कहिलेसम्म जाने र कतिदिन बस्ने आदि । त्यो राति खाना खाएर कतिखेर निदाएछु थाहै पाईन । भोलिपल्ट नागरिकताको प्रमाणपत्र लिएर दिउँसो महान्यायाधिवक्ताको कार्यालयको बिश्वासजिको कार्यकक्षमा गएँ, तर बिश्वासजि थिएनन् । सहन्यायाधिवक्ता दिनेश घिमिरेज्यूको कार्यकक्षमा पस्दै थिएँ । शाखा अधिकृत उमंग निरौलाजिले लौहै बधाई छ सर, मुस्कान दिँदै कोरियाको भ्रमण प्रोगाममा पर्नु भएको छ, त्यसैले बधाई दिएको हुँ भनेपछि म प्रश्ट भएँ । दिनेश सरले बधाई छ है भन्दै हात मिलाउनु भयो । दक्षिण कोरिया एकात्मक राष्ट्रपतिय शासन प्रणाली भएको लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । पूर्वी एसियाको कोरियाली प्रायद्वीप अन्तर्गत कोरियाली प्रायद्वीपको दक्षिणी भागमा अवस्थित एसिया महादेशकै परिचित विकसित देश हो । सोल ÷सिउल सहर दक्षिण कोरियाको राजधानी हो ।

कोरियाली प्रायद्वीपको दक्षिणमा पर्ने कोरिया देशको उत्तरमा, उत्तर कोरियासँग स्थल मण्डलको सिमाना जोडिएको छ। कोरियालाई एसियाको मात्र नभई विश्वको एक प्रमुख आर्थिक तथा प्राविधिक शक्तिको रुपमा पनि हेरिन्छ । दक्षिण कोरिया प्रविधिको शक्ति राष्ट्र मात्र नभई अटोमोबाइल र पप संस्कृतिको पनि ठुलो प्रभाव क्षेत्र हो ।नेपालको कोरियासँग पहिलो पटक २०३१ सालको पौष अर्थात सन् १९७४ डिसेम्बर १४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत लाखौँ नेपाली रोजगारीका लागि कोरियामा पनि जाने गरेका छन् । बिश्वास तिमिल्सिनासँग भोलिपल्ट जाँदा मनोनित गरेको लिष्टबाट उनकै नाम काटिएर उपन्यायाधिवक्ता प्रकाश घिमिरे सरको नाम थपिएछ । दुबै हितैसी साथी । मनोनित गरिसकेपछि नाम नकाटिएको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो । यही त रहेछ, यात्रा भित्रको यात्राको विशेषता, अनि मानिस भित्रका फरक फरक मनोबिज्ञान । मनोनित हुनेहरूमा नायव महान्यायाधिवक्ता श्री उद्ववप्रसाद पुडासैनी, सहन्यायाधिवक्ता द्वय ईश्वरी प्रसाद ढकाल र लक्ष्मीनारायण दाहाल, जिल्ला न्यायाधिवक्ताहरूमा क्रमशः म आफै, भिम भुर्तेल र हरीवहादुर पुन, उपन्यायाधिवक्ता क्रमशः प्रकाश घिमिरे, कैलास खत्री क्षेत्री, दिनेश कुमार रेग्मी,श्यामप्रसाद दाहाल, कर्मसिंह लामा र सहायक जिल्ला न्यायाधिवक्ताहरू क्रमशः सुस्मिता पौडेल, आश्मा खड्का, मीना थापा, विपना अधिकारी, सागर बराल, प्रतीक्षा खड्का र पछि जिल्ला न्यायाधिवक्ता मोहन खनाल थपिए । हामी सरकारी प्रोग्रामबाट जाने भएकाले हाम्रो विशेष राहदानी बनाउनु थियो । मेरो पासपोर्ट फाराम नायवसुब्बा शारदा पोख्रेल म्यामले भरिदिएर सहयोग गरिन् । उहाँलाई धन्यवाद पनि दिएँ । ईश्वरी सरले आफ्नो पनि राहदानी फर्म भरि दिनु पर्यो भन्दै उनै म्यामसँग कुरा राख्नुभयो । उहाँ पनि हतारमा भएकोले फर्म भर्दाभर्दै आफ्नो नागरिकताको प्रमाणपत्र कहिले पकेटमा, कहिले मोवाईल मुनि राखेको पत्ता नपाई खै मेरो नागरिकता भनिरहनु हुन्थ्यो । मैले मोबाइल मुनि छ सर भनेर देखाईदिएपछि खुसी हुनुभयो ।

अनलाईन फर्म भरेर शुक्रवारका दिन राहदानी बिभाग गएँ । राहदानी अर्थात पासपोर्ट बनाउन। फर्म दर्ता गर्न निर्देशकज्यूले तोक लगाएपछि विशेष राहदानी कक्षकि म्यामले एकजना अफिसर भाईलाई कागजात रुजु गर्न दिइन् । राष्ट्रिय परिचयपत्र मागिन् । भुइँतलाको १५ नं. कोठाबाट राष्ट्रिय परिचयपत्रको प्रतिलिपी मागेर पेश गरेँ ।म राष्ट्रिय परिचयपत्रको प्रतिलिपी बोकेर बायोग्राफी गर्ने म्यामको कार्यकक्षमा पुगेँ । उनी म्यामले फोटो खिचिन् । मलाई डर लागिरहेको थियो कि मेरो आँखाको परेला अलि साना थिए । म्याडमले सोचे भन्दा राम्रो फोटो खिचिएको देखाइन् । बायोग्राफीको लागि मेसिनमै औँठा छाप र दस्तखत गर्न लगाइन् । पासपोर्ट लिन सोमबार दिउँसो आउनु भनिन् । सोमबारको दिन समयमै राहदानी विशेष शाखामा गएँ, त्यहाँ पासपोर्ट बुझेको भरपाई स्वरुप हस्ताक्षर गरेर वैदेशिक मुलुक जाने विशेष पासवुक हातमा लिएर धन्यवाद दिदै फर्केँ ।साथमा गएका जेठा छोरा गणेश अत्यन्तै खुसी भए, हार्दिक बधाई छ बाबा भन्दै एउटा सेल्फी फोटो पनि खिच्न भ्याए । मेरो मोबाइलमा चार्ज कम थियो, त्यस शाखाको एउटा कर्मचारीसँग सहयोग मागेर उनकै डेस्कमा चार्ज गर्न राखेको थिएँ, बिर्सेर महान्यायाधिवक्ताको कार्यालयमा पास बुक बुझाउन गयौँ । त्यहाँ पुगेर मात्र याद भयो कि मेरो मोबाइल राहदानी विभागको विशेष कक्षमा छुट्यो । केही गरि त्यो मोबाइल अर्कैले टिपेर लगेको भए म बर्बाद हुने थिएँ । यदि मोबाइल हराएको भए मोबाइलको मूल्यनै क्षति हुने, सम्पर्क नंवरहरू हराउने, फोटो भिडियो डकुमेन्टहरु हराउने, बैंक सम्पर्क र खातापाताहरु नयाँ सिर्जना गर्नुपर्ने, फेसबुकका साथीहरुको सम्बन्धबाट टाढिने भइन्थ्यो । तुरुन्तै छोरा गणेश र म राहदानी विभागमा गयौँ । चिन्ताको मापन गर्नै सकेको थिइन, मोवाईल भने वरबाटै डेस्कमा चार्ज हुँदै गरेको देखियो । आफ्नो मोवाइल देखेपछि निकै खुसी भएँ । त्यहाँका कर्मचारीहरूलाई जानकारी गराएर आफ्नो मोबाइल टिपेर राखेँ, लामो श्वास फेर्दै भगवानलाई सम्झेर धन्यवाद दिएँ ।

राहदानी विभागमा जानू पूर्व निरोगिताको डकुमेन्ट पनि पेश गर्नुपर्दो रहेछ । बर्दियाको डाक्टर साव शुभास पाण्डे सरको सहयोग मागेँ, सजिलै काम बन्यो । भिसाका लागि तोकिएका साइजका दुई वटा रंगिन फोटो पनि पेश गरेँ । बल्ल भिषा आउनु पूर्वको प्रकृया सम्पन्न गरेको अनुभूती भयो । भिषा आउनुपूर्व अनलाईन फर्ममा नागरिकताको प्रमाणपत्र नंवर, जिल्ला, नगरपालिका र वडा नंवर लगायत नाम थर वतन , धर्म, राष्ट्रियता सहित भेज र ननभेज खानेकुराको विवरण, सम्बन्धित पदमा रहेर काम गरेको अनुभव आदि भर्नुपर्दो रहेछ । कोरियाली सरकारको नीति बमोजिम अंग्रेजी भाषा बोल्न लेख्न पढ्न र सुन्न सक्ने पनि हुनु पर्दो रहेछ, यसको लागि सबै मनोनित सर म्यामहरू सक्षमनै थियौँ । एति गर्दागर्दै पनि कुनै कारणले नाम काटिने होकि भन्ने शंकाले पनि लखेटि रहेको थियो । म सेवाकालिन तालिमको लागि काठमाडौं आएकै बेला कोरिया भ्रमणमा मनोनित भएकोले घरपरिवारले मलाई हरतरहले सहयोग गरिरहे, उनिहरू सबै धन्यवादका पात्र छन् । कोरिया जाँदा आउँदा लाग्ने सम्पुर्ण खर्च र सुविधा सम्बन्धित कोरियन सरकार र नेपाल सरकारले आवश्यक व्यवस्थापन मिलाएका थिए । मौसम अनुसारका लुगालत्ता, आफ्नो देशको औपचारिक र अनौपचारिक पोसाक आदिको तयारीमा ध्यान दिन पनि उत्तिकै जरुरी थियो । निजी खर्चको लागि आवश्यक अमेरिकन डलर साँटेको पनि थिएँ । कोरियन उन डलर दिएपछि कूधरियामा पनि साँट्न मिल्ने रहेछ । कोरिया गएपछि पुग्नैपर्ने र घुम्नैपर्ने केही प्रमुख स्थान रहेछन् ,जहाँ नपुगेर फर्किदा भ्रमण अपुरो होला भन्नेपनि लागिरहेको थियो । सियोल दक्षिण कोरियाको राजधानी र सबैभन्दा ठुलो सहर रहेछ । सियोलपछि घुम्नै पर्ने मुख्य ठाउँ बुसान, इन्चोन, र डेगु हुन् । सियोल कोरियाको राजधानी हो, राजनीति, व्यापारिक र संस्कृतिको केन्द्रको रुपमा चीनिदो रहेछ । ठुलो बन्दरगाह र समुद्री किनारका लागि बुसान प्रसिद्ध र दोस्रो ठुलो सहर मानिदो रहेछ । अन्तर्राष्ट्रिय विमानस्थल र ठुलो बन्दरगाहको रुपमा इन्चोन शहर प्रख्यात रहेछ । उद्योग र प्रविधि एवं कपडाको लागि डेगु शहर चिनिदो रहेछ ।

नायव महान्याधिवक्ताज्यूले २४ सेप्टेम्बरको १.०० बजे महान्यायाधिवक्ताको कार्यालयमा कोरिया भ्रमणमा सहभागी हुने सर र म्याम बिच कोरिया जानू पूर्व आवश्यक तयारीको अवस्था, लैङ्गिक उत्तरदायी न्याय र इण्टरनेट सूचना तथा प्रविधि (आइ.सि.टी.) को प्रयोगको बारेमा छलफलकालागि बोलाउनु भएकोथियो । सूचना प्रविधिमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयबाट जनता र सरोकार निकाय बीच के कसरी प्रविधिको प्रयोग भैरहेकोछ भन्नेनै थियो ।
बेलैमा हामी महान्यायाधिवक्ताको कार्यालयमा पुगेर सामूहिक रुपमा नायव महान्यायाधिवक्ता ज्यूहरूसँग कोरिया जानुपूर्वको अवस्था र कोरिया गइसकेपछि भोगिने सम्भावितसमस्या र समाधानका उपायहरू बारेमा पनि छलफल भएको थियो । नायव महान्यायाधिवक्ता उद्दवप्रसाद पुडासैनी सरले मिति २०८३÷०६÷०२ गते दिनको १ः०० बजे महान्यायाधिवक्ताको कार्यालयको सगरमाथा हलमा अन्य नायब महान्यायाधिवक्ता ज्युहरुको उपस्तिथिमा कोरिया जानू पूर्वको तयारी बारे छलफल गर्ने जानकारी अनुसार भेला भएका थियौँ । उद्वव सर वास्तमा धेरै रमाइलो पनि सरल र रसिक स्वभावको हुनुहँदो रहेछ । सहभागी सबैसँग विभिन्न बिषयमा जोडिएर सहभागी सबैलाई आफुतिर जोड्नका लागि ध्यान केन्द्रीकृत गरिरहनु हुन्थ्यो । उक्त तयारीमा नायव महान्यायाधिवक्ताहरू क्रमशः सन्जिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली र उद्दवप्रसाद पुडासैनी सरहरूबाट विभिन्न अनुभव र आवश्यक सुझावहरु प्रस्तुत भएका थिए । पूर्व तयारीको छलफलमा कन्ट्रि पेपर तयार गर्ने जिम्मा पाउनु भएका सर÷म्यामले आफुले तयार गर्नु भएको पेपर पनि प्रस्तुत गरिने थियो । महान्यायाधिवक्ता नारायणदत्त कडेल ज्यूसँग कोरिया जानुपूर्व कोरिया स्थित कोइका नामक संस्था पेङ्गियोमा नेपालको तर्फबाट सम्बन्धित बिषयमा प्रस्तुत गरिने कन्ट्रि पेपरका बारेमा पनि छलफल गरेका थियौँ ।

सबै तयारी भैसकेको कुरा महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल ज्यूसँग राखे पश्चात उहाँ बाट सबै सरकारी वकीलज्यूहरू अनुभवी हुनुहुन्छ, नेपालको साख राख्ने काम गर्नु होला भन्दै शुभयात्रा सहितको शुभकामना व्यक्त गर्नुभएको थियो । मैले नयाँबानेश्वरमा कपडा सिलाउन दिएको थिएँ । कपडा राख्नु पर्ने भएकोले मेरो साथमा भिर्ने झोला थियो । महान्यायाधिवक्ताको कार्यालय जानू पूर्व म कपडा पसलमा गएको थिएँ । सिलाईएको कपडा मागेर फिर्ता हुँदा झोला त्यही कपडा पसलमा छोडेर आएछु । केही एता आएपछि सम्झिएँ , झोला त बानेश्वरकै कपडा पसलमा छुटेछ । झोलाभित्र सिलाएको कपडा मात्र थिएन । कोरिया जाने भिसा, प्लेन टिकट र अन्य कागजातहरू पनि थिए । म ईश्वर र कुल देवता सम्झिदै तुरुन्तै एक मिनेट भित्रै फर्किहाले । कपडा सिलाउने ठाउँमा धन्नै कसैले व्याग उठाउन पाएको रहेनछ । ईश्वर लाई धन्यवाद दिएर झोला बोकी आएँ । हाम्रो कोरिया जान तीन दिन मात्र बाँकी थियो । त्यस पूर्व ई–एराइवल कार्डको लागि एउटा डाटा फर्म बाँकी थियो । त्यो २५ सेप्टेम्बरको दिउँसो सम्ममा भरि भ्यायौँ । काठमाडौं लगायत देशभरमा ४ दिन लगातार पानी पर्ने भएकोले अति जरुरी काम बाहेक टाढा यात्रा नगर्न र सुरक्षित रहन भनी जलवायु तथा मौसम विज्ञान तथा नेपाल टेलिकमले सूचना जारी गरिरहेका थिए । काठमाडौं लगायत देशभर अविरल बर्षात पनि भैरहेको थियो । २६ सेप्टेम्वरको नेपाली समय ७ः२० बजे सियोल उड्ने समय थियो । उडान समय भन्दा कम्तिमा तीन घण्टा अगाडी अर्थात दिउँसो ४ः०० बजे एयरपोर्टमा पुगि सक्ने सल्लाह भएको थियो । दिनभरी घरी बादल घरी झरी प्रकृतिले लुकामारी गरिरहेको अवस्था थियो । छोरी बशन्ती र दिपशिखा, छोरा गणेश र ज्वाईँसाहेव बिशाल गैरे गाडी रिजर्भ गरेर एयरपोर्टमै पुर्याउन आए । मलाई छोराछोरी र ज्वाइँसाहेवले एयरपोर्टमा पुर्याएनन् मात्र, फोटो खिचेर रमाइलो पनि गर्यौँ । हाम्रा सर म्यामहरू मेरा छोराछोरी र ज्वाइँ साहेवले मलाई बिदाई गरेको देखेर आश्चर्य चकित भएका थिए ।

हामी समयमै त्रिभूवन अन्तरास्ट्रिय बिमान स्थलको अध्यागमन क्षेत्रमा प्रवेश गरेपछि कोरियाको लागि वैध राहदानी कोरियाको भिसा, पासपोर्ट,बोर्डिङपास लिएर चेक गरायौँ । चेक गराउनुपूर्व कोरियाका लागि प्रस्थान फाराम भरिसकेका थियौँ । विमानस्थलको सुरक्षा प्रणाली अत्यन्तै कडा थियो । सामान जाँच गर्दा लफडा हुन्छ भनेर हातमा लैजाने झोलामा सात केजी र अन्य लगेजमा २३ केजीको सुविधाको सामान भन्दा कम नै थियो । काठमाडौंबाट इन्चोन एयरपोर्ट पुग्न ६ घण्टा १५ मिनेट समय लाग्ने रहेछ । कोरियास्थित एयरपोर्ट सम्मको दुरी ३९६५ किलोमिटर अर्थात २४६४ माइल रहेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित हामीलाई १ नं डिपार्टचरको गेटबाट ईन्ट्रि गर्न अनुमति थियो भने इन्चोन एयरपोर्टमा २ नं गेटको डिपार्टचरबाट प्रवेश अनुमति थियो । पावर बैंक, ब्याट्री, र इलेक्ट्रोनिक्स सामानहरू अनिवार्य रूपमा सुरक्षा जाँच गराई एक्सरे गराई राख्नु पर्ने प्रावधान भएकोले सो तर्फपनि ध्यान दिएको थिएँ । हतियार, प्रज्वलनशील रसायन, मट्टितेल, विस्फोटक पदार्थ, र धारिला सामानहरू बिमानमा पूर्ण रूपमा प्रतिबन्धित थिए । यी वस्तु बोक्ने कुरै भएन । नेपालबाट बाहिरिँदा हामीले अध्यागमनबाट अनुमति लिइ न्यूनतम र आवश्यक अमेरिकी डलर मात्र बोकेका थियौँ । विमानस्थलमा सुरक्षा र कानूनी कारणले गर्दा अरु कसैले दिएको अपरिचित झोलासामान बोकेको थिइन । चेक जाँचगर्दा कडा विधि अपनाईएको थियो । छोराछोरी म भित्र पसुन्जेल बाहिरबाटै वाईवाई सेफ जोर्नी भनिरहेका थिए । हामी ६.३० बजेतिर प्लेन भित्र बसेका थियौँ प्राविधिक कारणले आधा घण्टा ढिला हुने सूचना मिल्यो । मेरो सिट ४८ एफ तोकिएको थियो । सिटमा बसेपछि सिटबेल्ट बाँध्यौँ। केही समय पछि कोरियन एयरले नेपालको भुँई छोडेर कोरियातर्फ प्रस्थान गर्यो । जय पशुपतिनाथ भन्दै हाम्रो मन मस्तिष्क कोरिया तर्फ डोर्यायौँ । प्लेनमा एयरहोस्टेजले प्लेनभित्र बस्दा मोवाईल चलाउन नहुने, हवाई मोडमा राख्नुपर्ने, सूचना गरेका थिए। सूचना सुन्नको लागि टिभि थियो । सूचना सुन्न एयरफोन प्रयोग गर्न दिइएको थियो । प्रत्येकलाई एयरफोन सिटमा राखिएको थियो गोडामा सजिलो चप्पल र निदाउनलाई ओड्ने च्यादर राखिएको थियो ।

लगभग ८.३० बजेपछि खाना खुवाउन सुरु गर्यो । मैले भेज खाना खाएँ । हार्ड ड्रिङ्क खानेलाई हार्ड ड्रिङ्क र वियर,जुस, पिउनेलाई सोही व्यवस्था थियो । एयरहोस्टेज कोरियन लेडिजहरूले मुस्कानसाथ पानी र खानेकुरा बाँडेका थिए । खाना पछि मैले दुधकफि पिएँ,आकाशमा प्लेन आफ्नै रफ्तारमा उडिरहेको थियो । कोरिएन एअरले मानौ यात्रुहरूले गरेको रमाइलो नबोलेर मज्जाले हेरिरहेको जस्तो भान भएको थियो । कोरियनहरू साँच्चै सफा, गोरा र हँसिला हुने रहेछन् । एअरहोस्टेजहरू मिडियम उचाईका थाई कट कपाल पालेका देखिन्थे । कसैले लामै कपाल पालेकी देखिन्थिन् । गोहोरो अनुहार चम्किला शुन्दर आँखा देखिन्थे । खानापछि बिस्तारै यात्रु निदाउन थाले । मलाई निदाउन भन्दापनि यात्रुको हाउभाउ बुझ्नमै मज्जा लागि रहेको थियो । प्लेन बाहिर पानी परेको थिएन । प्लेनबाटै हामीहरूले समुद्र÷ द्विप र उपद्विप पार गरेको अनुभूति गर्यौँ । प्लेनले समुद्र पारगर्दा आफुलाई पनि प्रत्यक्ष समुद्रको नजिकै छु भन्ने लागिरह्यो । प्लेनमा उड्दाउड्दै नेपाली समय अनुसार राति २ ः ५ बजे र कोरियाको लगभग ५ः २० बजे कोरियन एयरले इन्चोन विमानस्थलमा सुरक्षित साथ अवतरण गरायो । पहिलोपटक कोरिया पुगेको र मैले आफुलाई एति धेरै बिकसित देशमा बिना झन्झेट आरामसाथ आईपुग्दा एकछिन त साँच्चिकै स्वर्गनै पुगेको अनुभूति भयो । हामीले सिटबेल्ट फुकालेर प्लेन बाहिर निस्केर लगेज आईपुग्ने ठाउँमा आईपुग्यौँ । एयरपोर्टमा पुनः सुरक्षा निकाय र कोरियन इमिग्रेसन टोलिले जाँच गरेपछि बाहिर निस्किदै थियौँ । हामीलाई लिन कोइका बाट डा. सुविन लिम र डा. एप्लिन दुइवटा अनम्यारिज सिस्टर आएका थिए । उनिहरुले भिआइपि बस लिएर आएका रहेछन् । कोइका काउन्टरमा हामी सबैको फोटो खिचेर गन्दै अठार जना पुर्याएर बसमा बसाली आफूहरू पछाडी बसे । हामीहरूलाई बसमा ५०० एमएलको पानी पिउन पनि दिए ।

एयरपोर्टबाट १ घंटा टाढा रहेछ पेङ्गियो स्थित तालिम हुने स्थान कोइकाको ट्रेनिङ हल। बाटोमा शुन्दर गगनचुम्वी आधुनिक डिजाइनका कोरियन भव्य महल र वस्ति, सफा चिल्लो फराकिलो सडक, ठुला ठुला ताल माथी ठुलाठुला लामा पुल र सो माथी कोरियन कोइकाका बस चालकले हुँइक्याउदै गाडी अगाडि बढाए । दक्षिण कोरियाको इन्चोन देखि पेङ्गियो सम्मको क्षेत्र देशकै ठूलो प्रविधि, व्यापार र प्रशासनिक हब मानिदो रहेछ । इन्चोन एक प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार र एक प्रमुख औद्योगिक सहर पनि । पेङ्गियोलाई ’कोरियाको सिलिकन भ्याली’ पनि भनिदो रहेछ । ईन्चोन र पेङ्गियोको यस मार्ग बीचमा इन्चोन महानगरपालिका पर्ने रहेछ । इन्चोन सहरको मुख्य प्रशासनिक केन्द्र हो । यहाँ संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय कार्यालय ग्रीन क्लाईमेट फन्ड पनि रहेछ। साना साना थुम्कामा पनि सुरुङमार्ग बनाउने कोरियाको मौलिक प्रकृति रहेछ । कोरिया नयाँ मानिसको लागि एक भूस्वर्ग, जादुको शहर, आधुनिकता भित्रको पनि आधुनिकताले सजिएको सहर लाग्यो । हामी कोरियन समयानुसार करिव ६.३० बजे पेङ्गियो स्थित कोईकाको एक होटेलमा पुग्यौँ । त्यहाँ हामी सबैलाई होटेल प्रवन्धकले स्वागत गरे । स्वागत पश्चात् चावी जिम्मा लगाए । बिहानको सफा स्वच्छ निर्मल कोरियन ८.०० बजेको समयमा ब्रेकफास्ट गर्नेगरी आ–आफ्नो रुमभित्र आराम गर्न प्रवेश गरेका थियौँ । मैले पनि आफ्नो ३०७ नं रुमभित्र प्रवेश गरेँ मात्र १५ दिनको लागि ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार