पदमुक्त हुने सांसदहरूमा उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा) रहेका छन् ।
काठमाडौँ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाका पाँचजना सांसदलाई पदमुक्त गरेका छन् । सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि बिहीबार उनले पाँच सातजना सांसदलाई कारबाही गर्दै पदमुक्त गरेका हुन् । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलले सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरीत प्रदेशसभामा संसदीय दलको नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको, एक दलको निर्देशनबमोजिम सभामुुखले पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा चलाएको भन्दै ७ दलले ‘सभामुखले पदअनुकूल आचरण नगरेको प्रस्ताव’ दर्ता गरेका थिए ।
त्यसपछि सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै दुई दलका पाँचजना सांसदलाई बिहीबारबाटै लागू हुनेगरी पदमुक्त गरेका हुन् । पदमुक्त हुने सांसदहरूमा उर्मिलादेवी सिंह (नागरिक उन्मुक्ति पार्टी), मनिषकुमार सुमन (जसपा), संजयकुमार यादव (जसपा), सिंहासन साह कलवार (जसपा) र शारदाशंकरप्रसाद कलवार (जसपा) रहेका छन् । उनीहरूलाई पदमुक्त गरिएको सूचना सभामुख मण्डलले निकालेका छन् ।
‘संविधानमा मधेश प्रदेशसभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेशसभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२–०७–२७ गतेदेखि प्रदेशसभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेशसभा सदस्यहरूको स्थान रिक्त भएको बेहोरा प्रदेशसभा कार्यसञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ जारी सूचनामा उल्लेख गरिएको छ ।
थुनिएका सांसद प्रहरीको सहयोगमा बाहिरिए
मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू बिहीबार २ घण्टापछि प्रहरीको सहयोगमा बाहिरिएका छन् । मधेश प्रदेशका सभामुखले पदअनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न उनीहरू बिहीबार उपसभामुखको कार्यकक्षामा पुगेका थिए । तनावका बीच प्रस्ताव दर्ता गरेपछि उपसभामुखको कार्यकक्षबाट बाहिर खोज्दा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका नेता–कार्यकर्ताहरूबीच हात हालाहालसमेत भएको थियो ।
प्रस्ताव दर्ताका लागि उपसभामुखले तोक लगाए पनि सभामुख मण्डलले कर्मचारीलाई सचिवालयमा दर्ता गराउन रोकेका थिए । लामो रस्साकस्सीपछि कर्मचारीले प्रस्ताव दर्ता गरेका थिए । त्यसपश्चात् निस्किन खोज्दा सभामुख र तिनका कार्यकर्ताहरूले आफूहरूलाई थुनेको सात राजनीतिक दलका सांसदहरूले बताएका छन् । सभामुख मण्डलसहित उनका कार्यकर्ताहरूले आफूहरूमाथि हातपात गरेको उनीहरूको आरोप छ । परिस्थिति असहज बनेपछि प्रहरीको सहयोग लिएर सांसदहरू उपप्रमुखको कार्यकक्षबाट निस्किएको जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले बताए ।
सभामुख मण्डलले भने आफूले कसैलाई नथुनेको र कसैमाथि कुनै हातपात नगरेको दाबी गरेका छन् । ‘प्रदेश सांसदहरू आफैँ आउनुभएको थियो । उपसभामुखको कार्यकक्षमै बस्नुभएको थियो । त्यहीँ लामो समय बस्नुभएका उहाँहरूलाई मैले पनि आफ्नो कार्यकक्षमा बोलाएँ । तर, आउनु भएन,’ सभामुख मण्डलले भने, ‘पछि डीएसपीसहितको प्रहरी टोली आयो र उहाँहरू निस्किनुभयो । हामीले कसैलाई कुनै बन्धक बनाएका छैनौँ ।’









प्रतिक्रिया दिनुहोस्