बाँकेमा थपिए नौं संक्रमित, थप १५ जना कोरोना जितेर घर फर्के



कोहलपुर ।

पछिल्लो २४ घण्टामा बाँके जिल्लामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ मा कोरोना संक्रमण देखिएको हो । ५ महिला र ४ पुरुषमा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ महिला र १ पुरुष गरी ५ जना, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा २ पुरुष तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा १ महिला र १ पुरुष गरेर २ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेका कुल कोरोना संक्रमितको संख्या १७ हजार ४४ सय ३५ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार तीमध्ये ७ हजार ४ सय २७ महिला र १० हजार ८ जना पुरुष रहेका छन् ।

सोमवार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका १४ महिला र १५ पुरुष गरेर २९ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १५ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका थिए । ११ महिला र ४ पुरुष गरेर थप १५ जना कोरोना जितेर डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । उनका अनुसार योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार ८४ रहेका छन् ।

तीमध्ये कोरोना संक्रमण जितेर घर फर्किनेहरुमा ७ हजार २ सय ८२ महिला र ९ हजार ८ सय २ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । सोमवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या १६ महिला र २५ पुरुष गरेर ४१ जना रहेको थियो । जिल्लामा बाहिरी जिल्लाका सक्रिय संक्रमितको संख्या भने ३३ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । दुवै स्थानमा सक्रिय संक्रमित भने ७८ जना रहेका थिए ।

तीमध्ये होम आइसोलेसनमा रहनेको संख्या २१ महिला र १८ पुरुष गरेर ३९ जना रहेको थियो । ३५ जना भने बाँकेका विभिन्न अस्पतालहरुमा उपचाररत रहेका थिए । अहिलेसम्म बाँकेमा जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर कोरोना संक्रमणका कारण ६७१ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २ सय ४० महिला र ४ सय ३१ पुरुष रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १५ गते मंगलबार