नन्दराम जैशी । सुर्खेत ।
पछिल्लो समय सामान्य लापारबाहीले सुर्खेतमा सवारी दुर्घटना बढ्दै गएका छन् । तीव्र गतिले सवारी चलाउने, मादकपदार्थ सेवन फोन गर्दै सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने जस्ता लापरबाहीले सवारी दुर्घटना बढिरहेका हुुन् । तर कतिपय सन्दर्भको हकमा सडकको अवस्थाका कारण पनि सवारी दुुर्घटना हुने गरेका छन् । जसले गर्दा पछिल्लो चार वर्षको अवधिमा सुुर्खेतमा मात्रै १२१ जनाको सवारी दुुर्घटनाबाट अकालमा ज्यान गएको छ ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा पछिल्लो चार आर्थिक वर्षमा सवारी दुर्घटनामा परी १२१ जनाको मृत्यु भएको हो । जसमा आर्थिक वर्ष २०७८-०७९ देखि २०८१-०८२ सम्म चार वर्षको अवधिमा १ हजार ६७० वटा सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा परी १२१ जनाको ज्यान जानुका साथै ७३० जना गम्भीर र २ हजार १८९ जना सामान्य घाइते भएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै चालू आर्थिक वर्ष २०८१-०८२ को १० महिनामा मात्रै ३४३ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ । भने २७८ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालयले जनाएको छ । उक्त दुुर्घटनामा ५०६ जना सामान्य घाइते भएका थिए ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०७८-०७९ मा १९३ सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको थियो भने १२९ जना गम्भीर घाइते र २४६ जना सामान्य घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९-०८० मा ३१९ वटा सवारी दुर्घटना भएको तथ्यांक छ । उक्त दुर्घटनामा परी ३० जनाको मृत्यु भएको थियो भने १४२ जना गम्भीर घाइते र ४२३ जना सामान्य घाइते भएका थिए ।
आर्थिक वर्ष २०८०-०८१ मा ८१५ सवारी दुर्घटना हुदाँ ३१ जनाको मृत्यु भएको थियो भने १८१ जना गम्भीर घाइते र १ हजार १४ जना सामान्य घाइते भएका थिए । तथ्यांक अनुसार सुर्खेतमा सबैभन्दा धेरै दुई पांग्रे सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । दुईपांग्रे सवारीसाधन मोटरसाइकल र स्कुटर बढी दुर्घटना हुने गरेका छन् ।
गत आव २०८०-०८१ मा सुर्खेतमा ५७ प्रतिशत दुई पांग्रे्रे सवारीसाधन दुर्घटनामा परेको तथ्याङ्क जिल्ला ट्राफिक कार्यालय सुर्खेतसँग छ । यस्तै १३ प्रतिशत अटोरिक्सा, १० प्रतिशत जीप कार, ७ प्रतिशत माइक्रो फोर्स, ४ प्रतिशत बस र ट्रक, ३ प्रतिशत ट्याक्टर, १ प्रतिशत टिपर र साइकल दुर्घटना भएका छन् । चालू आर्थिक वर्षको तथ्याङ्क भने असार मसान्तमा मात्र सार्वजनिक हुनेछ ।
दुर्घटनाको मुख्य कारण तीव्र गति
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका कार्यालय प्रमुख वकिल सुनारका अनुसार दुर्घटनाको मुख्य कारणहरू विश्लेषण गर्दा सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने गरेका छन् । अघिल्लो वर्ष ५७ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको कार्यालय प्रमुख सुनारले बताए । यो चालू वर्षमा पनि ५५ प्रतिशत दुर्घटना तीव्र गतिकै कारण सवारी दुर्घटना भएका छन् ।
त्यस्तै सडकको अवस्था, मादकपदार्थ सेवन, लापरबाही र ट्राफिक नियम उल्लंघनको कारण पनि दुर्घटना हुने गरेको उनको भनाइ छ । चार वटै आर्थिक वर्षमा दुर्घटनाको आधारमा विश्लेषण गर्दा सबैभन्दा बढी तीव्र गतिको कारण र दोस्रोमा सडक संरचनाका कारणले दुर्घटना हुने गरेको उनले बताए ।
उनका अनुसार सुर्खेत कर्णाली प्रदेशको राजधानी भएका कारण सवारी चाप धेरै हुने र सडकको अवस्था साँघुरो हुदाँ सवारी दुुर्घटना हुुने गरेका छन् भने आम जनमानसमा ट्राफिक नियमको पालना नगर्ने प्रवृत्ति (सडक सुरक्षा सचेतनाको अभाव)का कारण जिल्लामा दिनानुदिन सवारी दुर्घटना बढिरहेका हुन् ।
तीव्र गति, मापसे, ट्राफिक नियम उल्लंघन, सवारी चलाउँदा मोबाइल फोनको प्रयोग, ट्राफिक संकेतको बेवास्ता लगायतका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सवारी चालकहरूले आधारभूत ट्राफिक नियम नमान्दा पनि दुर्घटनाको जोखिम बढिरहेको उल्लेख छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षाबारे जनचेतना अभियान सञ्चालन भइरहेको छ । तर न्यूनीकरण हुन सकेको छैन । कडाइका साथ ट्राफिक नियम कार्यान्वयन गर्नुुपर्नेमा सवारी चालकहरू चुुकेका छन् भने उनीहरूलाई तालिम र अनुशासन सिकाउन आवश्यक छ । आम नागरिक पनि सवारी सुरक्षाबारे सचेत हुन जरुरी छ । सबैले ट्राफिक नियम पालना गरे सवारी दुर्घटना न्यूनीकरण हुनसक्छ ।









प्रतिक्रिया दिनुहोस्