नेपालगन्ज ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा राजाबारे कुरा गर्नु समयको बर्बादी भएको बताएका छन् । उनले राजसंस्थाको पक्षमा सडकमा रहेकाहरूलाई सम्झाइ बुझाइ गरेर घर फर्किन लगाउनुपर्ने पनि बताए ।
नेपाली काँग्रेस बाँके क्षेत्र २ को क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा राजसंस्था कहिल्यै पनि राजावादी नभएको बताए । उनले नेपाली काँग्रेसले राजसंस्थालाई लामो प्रयास गरेर राजावादी बनाउन खोजेपनि राजसंस्था राजतन्त्रमै फर्किएर प्रजातन्त्रको घाँटी निमोठेको बताए ।
थापाले काँग्रेसनै कुनैबेला संवैधानिक राजसंस्थाको पक्षमा रहेको पार्टी र राजसंस्था संवैधानिक भूमिकामा कहिल्यै नबसेको पीडा पनि सबैभन्दा बढी काँग्रेसले नै भोगेको जिकिर गरे । अहिले पनि केही मानिसहरूले संवैधानिक राजसंस्थाको लागि आन्दोलन भनेपनि राजा त्यो दायरामा नबस्ने इतिहासले प्रमाणित गरिसकेकोले राजा फर्काउँछु भन्नु समयको बर्बादी मात्रै भएको बताए ।
उनले भने, ‘अहिले जो सडकमा राजसंस्था चाहियो भनिराख्नु भएको छ । यो राजसंस्थाले सिंहासनमा जसले बस भन्यो त्यसैलाई पहिला झ्यालखानामा हाल्छ । यो कुरा हामीले भोगेका छौँ । उनीहरूलाई बुझाउन जरुरी छ ।’ महामन्त्री थापाले गणतन्त्रमा केही समस्याहरू रहेको तर ती समस्यालाई समाधान गर्न पनि अहिलेकै व्यवस्थामा सुधार जरुरी रहेको बताए ।
उनले नेपाली काँग्रेस देशको ठूलो पार्टी मात्रै नभई एक जिम्मेवार राष्ट्रिय शक्ति भएकोले अहिलेको समस्याको समाधान दिने जिम्मेवारी पनि नेपाली काँग्रेसकै भएको बताए । राष्ट्रिय शक्तिले उत्तेजनामा आउन नपाइने र निष्क्रिय रहन पनि नपाइने बताउँदै उनले अहिलेको समस्याको समाधानमा नेपाली काँग्रेसनै सबैभन्दा जिम्मेवार हुनुपर्ने बताए ।
उनले अहिलेको जस्तो संघीयता कसैले नचाहेको बताउँदै संघीयतामा सुधार जरुरी रहेको बताए । संघीयतलाई काम चल्ने बनाउनु र खर्च घटाउनु जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘उपराष्ट्रपति, उपसभामुख किन चाहियो ? प्रदेशको मन्त्री घटाउनुपर्छ ।’
उनले नेपालमा चुनाव अघि र चुनाव पछिको गठबन्धन नफापेको बताउँदै निर्वाचन प्रणालीनै गठबन्धन गर्न नमिल्नेगरी सुधार गर्नुपर्ने, संसद् अहिलेको भन्दा बढी समावेशी पनि बनाउनुपर्ने र यसका लागि संविधान संशोधन गर्न जरुरी रहेको बताए । अहिलेको सरकारमा रहेका दुई ठूला दलहरूले गरेको संविधान संशोधनको मुख्य बाचा बिर्सिएको स्वीकार पनि गरेका उनले अब तत्काल संविधान संशोधनको काम अघि बढाउनुपर्ने पनि बताए ।
महामन्त्री थापाले अबको दशक विकास, रोजगारीको दशक बनाउनुपर्ने र त्यसको अगुवाइ काँग्रेसले गर्नुपर्ने बताएका छन् । आफूहरूले मिसन रोजगारी सुरु गरेको बताउँदै थापाले स्थानीय तहको बजेटकोे केन्द्रमा रोजगारी कसरी सृजना गर्ने कुरालाई राख्न काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएका स्थानीय तहमा परिपत्र गरिसकेको पनि जानकारी दिए ।
नेपाली काँग्रेसको बाँके क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको अध्यक्षतामा भएको सम्मेलनमा आर्थिक तथा सांगठनिक प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो । तर, उक्त कार्यक्रममा किशोरसिंह राठौर समूहका केही नेताहरू भने सहभागी भएनन् । राठौर पनि कार्यक्रममा सहभागी थिएनन् । क्षेत्रीय कोषाध्यक्ष ललित रौनियारले एउटा समूहले सम्मेलन बहिष्कार गरेको देखिएको बताउँदै पार्टीभित्रको गुटबन्दी दुःखद भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा गएका र नागरिक उन्मुक्ति पार्टी बाँके जिल्ला अध्यक्ष रहेका चन्तराम थारूले फेरी नेपाली काँग्रेसमै फर्किएको घोषणा गरेका छन् । उनलाई महामन्त्री थापाले पार्टीमा स्वागत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्