शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
हरेक दिन बिहानको झिसमिसेसँगै ब्युँझिएर मध्यरातसम्म कोलाहल र भीडभाड हुन्छ, बाँकेको कोहलपुरस्थित बसपार्क । जहाँबाट हरेक दिन सयौँको सङ्ख्यामा छोटो तथा लामो दूरीका सवारीसाधन आवातजावत गरिरहन्छन् । हजारौँ यात्रुहरूको भेटिने, छुट्ने र गन्तव्य तय गर्ने बिन्दुसमेत हो । पश्चिम नेपालकै ठूलो बसपार्क सोमबार दिनभर सुनसान थियो । न मानिसको भीडभाड, न त गाडीहरूको कोलाहल नै ।
बसपार्कका टिकट काउन्टरका ढोका बन्द थिए । आधा बसपार्क खाली थियो । बसपार्कको छेउतिर भने केही थान गाडी पार्किङमा राखिएका थिए । त्यही खाली बसपार्क चिहाउँदै टोलाइरहेका भेटिए रूकुम पश्चिमका ६२ वर्षीय लोकबहादुर बुढा र ५८ वर्षीया डिलकुमारी बुढा दम्पत्ति । बसपार्कमा गाडी खोज्दै हिँडिरहेका उनीहरूले झोला भिरेका थिए । बुढा दम्पत्ति आइतबार मात्रै बसमा लामो यात्रा गरेर नेपालगन्ज आइपुगेका थिए ।
राति अबेर पुगेका उनीहरू साँझ नेपालगन्जको एक होटलमा बसे । थाकेका उनीहरू सबेरै सुते । भोलिपल्ट उठेर उनीहरूलाई बुटवल जानु थियो । सोमबार बिहानै उठे । हतारहतार झोला बोकेर हिँड्न खोजे । होटल मालिक भएतिर गएर लोकबहादुर हिसाबकिताब सोधे । होटल मालिकले हिसाबकिताब दिएनन्, गाडी बन्द भएको सन्देश दिए ।
बन्द हुने जानकारीपछि बुढा दम्पत्तिको यात्रा अकस्मात रोकियो । उनीहरू दिउँसोसम्म नेपालगन्जको प्रचण्ड गर्मी खेप्दै बसे । त्यसपछि भने कोहलपुरबाट गाडी पाइएला नी भन्ने आशामा अटो समाते । प्रतिव्यक्ति तीनसय रूपैयाँ तिरेर कोहलपुर आउँदा उनीहरू बसपार्कमा टिकट काउन्टर खोजिरहेका थिए । लोकबहादुरले बसपार्कमै भेटिएका अर्का यात्रुलाई सोधे ? ‘बुटवल जानुपर्ने । नेपालगन्ज गाडी पाइएन । यहाँ आएका छौँ, पाइएला त ?’ दाङ जान गाडी खोजिरहेका एक अधवैँशे युवा उनलाई प्रतिप्रश्न गरे, ‘मपनि गाडी खोजिरहेको छु । भेटाएको छैन । गाडी चल्दैन र ?’ बुढा दम्पत्ति र ती युवकको गन्तव्य र समस्या एउटै थियो । बुढा दम्पत्ति बुटवल जान हिँडेका र युवकको गन्तव्य चाहीँ दाङसम्मको । टिकट काउन्टरमा कोहीपनि नभेटेपछि उनीहरू गाडी कुरिरहे ।
यसैगरी कोहलपुरको चौराहामा अलपत्र अवस्थामा भेटिए सुर्खेतका विरेन्द्र रावत । उनी काठमाडौँबाट सुर्खेतका लागि हिँडेका थिए । तर, काठमाडौँबाट आएको गाडीले उनलाई कोहलपुरमै छाडिदियो । कारण थियो, सोमबार देशभर आह्वान गरिएको सार्वजनिक यातायात बन्द । बन्दकै कारण उनले घर पुग्न पाएनन् । काठमाडौँमा पानी बोक्ने गाडी चलाउने उनी राज्यप्रति आक्रोशित बने ।
मिसन टुडे दैनिकसँग कुराकानी गर्दै रावतले भने ‘यो बन्द सरकारकै कारण भएको हो । कसैको माग सम्बोधन गर्दैन सरकार । माग सम्बोधनका लागि बन्दै गर्नुपर्ने कस्तो बिडम्बना । यसको मार हामी सर्वसाधारणले भोगिरहेका छौँ ।’ हामीसँग कुराकानी गर्दै आमासँग फोनमा कुरा गर्दै उनी भन्दै थिए, ‘आमा बिहानैदेखि यहाँ छु । गाडी नै पाउँदैन । गाडी पाइयो भने आउँछु । नत्र बर्दिया जान्छु दिदीको घर ।’ उनले साँझसम्म लामो दूरीको गाडी पाए सुर्खेत जाने, नत्र केही विकल्प बोकेर बर्दिया जाने बताए ।
सार्वजनिक यातायातको मारमा सार्वसाधारण र यात्रु मात्रै होइन, सुरक्षाकर्मीसमेत परे । पूर्वी इलामबाट पश्चिम कञ्चनपुर जान हिँडेका १२ जनाको एक समूह चौराहामा गाडी खोजिरहेको थियो । उनीहरूले सोमबारनै कार्यालयमा हाजिर हुनपर्ने थियो । तर सोमबार दिउँसोसम्म उनीहरू गाडी खोजिरहेका थिए । बुढा दम्पत्ति, दुई युवक र सुरक्षाकर्मीहरू त प्रतिनिधि पात्र मात्रै हुन् ।
गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायीले गरेको बन्द प्रभाव चौतर्फी रुपमा परेको छ । व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले धेरैनै सास्ती भोग्नु प¥यो । निजी सवारीसाधन नहुनेहरू पैदल यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि महिला, बालबालिका, बिरामी तथा वृद्धवृद्धालाई झनै मुस्किल भएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा फूलबारीदेखि वैदेशिक रोजगारीमा जानका लागि काठमाडौँको बस कुरेर बसेका थिए– ‘सफीतुला अन्सारी ।’ सोमबार दिनभरी बस नचलेपछि बसपार्कमै अन्यौलताकाबीच बस चल्ने आशामा पर्खाइमा थिए । तर, सोमबार कुनैपनि सवारीसाधन नचलेपछि उनी निराश बनेका छन् । उनले भने, ‘गाडी खुल्छ कि खुल्दैन थाहा छैन । बन्द गरेर त के फाइदा हुन्छ होला । तर, हामीलाई अलपत्र पारियो ।’
कैलालीको घोडाघोडी नगरपालिका सुखड बस्दै आएकी छिन्, कल्पना राना । उनी धनगढीस्थित स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा आगामी बजेटको कार्ययोजनासम्बन्धी गोष्ठीमा सहभागी हुन शुक्रबार धनगढी पुगेकी थिइन् । शनिबारसम्म चलेको गोष्ठी सकेर सोमबार घर जान लागेकी उनी सवारी नपाउँदा बाटोमा अलपत्र अवस्थामा भेटिइन् । उनले भनिन्, ‘गाडी बन्द रहेको मलाई जानकारी थिएन । अहिले सडकमा अलपत्र छु । घर कसरी पुग्ने भन्ने अन्यौलमा छु ।’
सुदूरपश्चिममा सडकमै खटिएर अवरोध
सोमबार कैलालीको धनगढीका चोकचोकमा समूह बनाइ खटिएका थिए निजी बस व्यवसायी समितिका पदाधिकारी तथा सदस्यहरू । कोही विद्युतीय गाडी वा निजी गाडी गुडेको देख्यो कि रोक्दै अगाडी जानबाट रोकिरहेका देखिन्थे । विद्युतीय रिक्सामा कस्ता यात्रु आइरहेका छन् भन्ने पनि हेक्का राख्दैनन् । सडकमा गुडिरहेको विद्युतीय रिक्सालाई अगाडि बढ्न नदिन पाङ्ग्रामा हावा निकाल्छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आदेशअनुसार आइतबारदेखि आन्दोलनरत यातायात व्यवसायीहरूले सोमबार लामो दूरीको मात्र नभई छोटो दूरीका पनि बस तथा सार्वजनिक तथा निजी सवारीहरू सडकमा गुड्न दिएनन् । जसका कारण यात्रुहरूले मार खेप्नुपरेको छ । व्यवसायीबाट सास्ती खेप्नेमध्येका एक हुन्, धनगढीका स्थानीय बसन्तराज भट्ट । उनी विद्युतीय रिक्सा चलाउँछन् । दुई जना यात्रुको आपतकालीन विमानस्थल पुग्नुपर्ने थियो ।
उनी यात्रुलाई विमानस्थल छोड्न जाने क्रममा आन्दोलनरत पक्षले उनको विद्युतीय रिक्साको पाङ्ग्राको हावा फुस्काइदियो । उनले भने, ‘दुई यात्रुको प्लेन टिकट थियो । छोड्न जाँदा आन्दोलनरत पक्षले दुव्र्यवहार गरे ।’ सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आदेशअनुसार देशभरी सवारी चालकहरूले आफ्ना सवारीसाधन घरमा थन्क्याएर सडकमा आएका थिए । उनीहरूले सडकमा आफना गाडी त गुडाएनन् । तर, आम सर्वसाधारणका निजी गाडी, विद्युतीय रिक्सासमेतलाई रोके ।
यात्रु बोकिरहेका सबै यातायातका साधनहरू बन्द गरिरहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अत्तरिया शाखा इन्चार्ज शिवराज भट्टराईले जानकारी दिए । उनले कालो नम्बर प्लेटका सवारीसाधनहरू मात्रै नभई यात्रु बोकिरहेका सबै सवारीसाधनहरू बन्द गरिरहेको बताए । भट्टराईका अनुसार यातायात व्यवसायीहरूको आन्दोलनलाई विभिन्न श्रमिक संघसंगठनहरूले समेत साथ दिएका छन् । ‘यो यातायात व्यवसायीहरूको मात्रै आन्दोलन हैन, सबै श्रमिकहरूको हो । आन्दोलनमा यातायात व्यवसायी मात्रै नभई सबै पार्टीका श्रमिक संघसंगठनहरूले ऐक्यबद्धता जनाएका छन् ।’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्