
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित एक ऐतिहासिक र धार्मिक महत्व बोकेको तथा करोडौँको सम्पत्ति भएको महाविहार ६५ वर्षदेखि बेवारिसे अवस्थामा रहेको पाइएको छ । शक्तिपिठ बागेश्वरी मन्दिरको छेउमा रहेको बौद्ध धर्मावलम्वीहरूको आस्थाको केन्द्र हर्षकृति महाविहार स्थापना भएदेखि नै बेवारिसे अवस्था रहेको नेपालगन्ज उपमहानगरपालिकाले गरेको एक अध्ययनले देखाएको हो ।
उपमहानगरपालिकाले महाविहारको सञ्चालन तथा आयव्ययका विषयमा विवाद उत्पन्न भएपछि अधिवक्ता चित्रबहादुर शाहीको संयोजकत्वमा महाविहारको सम्पत्ति संरक्षण र अध्ययनका लागि ७ सदस्यीय समिति गठन गरेको थियो । समितिले सोमबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई बुझाएको प्रतिवेदनमा उक्त महाविहार हालसम्म आधिकारिक रूपले दर्ता नभएको, व्यक्तिद्वारा सञ्चालन भइरहेको, आयव्ययको हरहिसाब नराखिएको र दाताले दिएको जग्गाको उपयोग पनि हुन नसकेको उल्लेख छ ।
संरक्षण र सम्बद्र्धनको अभावमा महाविहार कुरुप अवस्थामा रहेको र बाहिरबाट नदेखिने गरी पसलहरूले ढाकेको अवस्थामा रहेको छ । महाविहारको ढोकैदेखि पूजा सामग्री बेच्ने पसलहरूले ढाकेका छन् । उक्त पवित्र धार्मिकस्थल एकान्तजस्तो अवस्थामा रहेको कारण लागूऔषध प्रयोगकर्ताहरूको अखडाको रूपमा रहेको पाइएको छ ।
२०१५ सालमा राजा महेन्द्रले भ्रमणमा आएका बेला बज्रयान बौद्ध धर्मावलम्वीहरूले धार्मिकस्थल मागेबमोजिम बागेश्वरी मन्दिर परिसरमा बनाउनु भन्ने आदेश दिएपछि समाजसेवी हर्षमान पतिले उक्त महाविहार निर्माण गरेका थिए । पछि २०५१ सोही ठाउँमा हिराकाजी शाक्यले पनि अर्काे महाविहार निर्माण गरेका पाइएको छ । तर, हालसम्म पनि उक्त महाविहार सरकारको आधिकारिक रेकर्डमा छैन । महाविहारको सञ्चालन पुजारीहरूको मातहतमा भइरहेको र दुई वटा महाविहारका पक्षहरूबीच पनि किचलो रहेको पाइएको छ ।
उक्त महाविहार नेपालको कुनै गुठी, संस्था, औपचारिक व्यवस्थापन समिति, सञ्चालक समिति, राजकीय बौद्ध विहार वा चैत्य कुनै संरचनाको मातहतमा नरहेको पाइएको छ । स्थानीय तहसँग पनि उक्त महाविहारको कुनै समन्वय नरहेको उक्त प्रतिवेदनमा उल्लेख छ । महाविहारका निर्माणकर्ता हर्षमान पतिले हालको जानकी गाउँपालिका वडा नम्बर ४ मा करिब १५ दशमलव ५ बिघा जग्गा महाविहारलाई दान दिएकोमा त्यसको आयस्ताको हिसाबकिताब पनि नराखिएको र सदुपयोग पनि हुन नसकेको पाइएको छ । हाल हर्षमान पतिका नाति विजयमान पतिले उक्त जग्गाको रेखदेख गर्ने गरेको र जग्गाबाट आएको आम्दानी विहारकै लागि खर्चेको समिति समक्ष बयान दिएका प्रतिवेदनमा उल्लेख छ । तर, हरहिसाबको आधिकारिक रेकर्ड राखिएको छैन ।
राजा महेन्द्रले बागेश्वरी मन्दिरको करिब साढे एक बिघा जग्गा महाविहारलाई हुकुम बक्स भएकोमा अहिले उक्त जग्गामा पनि निजी घरहरूसमेत बनेका र हाल महाविहार करिब ६ कठ्ठा जग्गामा मात्रै फैलिएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ । अध्ययन समितिले अब विहारको संस्थागत सञ्चालन र व्यवस्थापन गर्न, सौन्दर्यकरण गर्न, चलअचल सम्पत्तिको व्यवस्थापन गर्न, धार्मिक पर्यटकीय स्थलको रूपमा विकास र प्रचारप्रसार गर्न उपमहानगरपालिकालाई सिफारिस गरेको छ ।
जानकी गाउँपालिकामा रहेको महाविहारको जग्गामा बौद्ध विहार, पार्क, गुम्बा वा बौद्ध अध्ययन केन्द्र राख्न समितिको सुझाव छ । अध्ययन समितिमा समाजसेवी कृष्णप्रसाद श्रेष्ठ, प्रभातकुमार ठकुरी, उषा गौतम, केवलकुमार वैश्य एवं अधिवक्ताहरू वसन्त गौतम, हिराबहादुर श्रेष्ठ सदस्य रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्