रास्वपाको रक्तदान कार्यक्रममा ८४ पिन्ट रगत संकलन



नेपालगन्ज ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेको आयोजनामा नेपालगन्जमा सम्पन्न रक्तदान कार्यक्रममा ८४ पिन्ट रगत संकलन भएको छ । जिल्लामा देखिँदै आएको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ८४ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा विशेषगरी युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । डा. श्रेष्ठसँगै किरणकुमार श्रेष्ठ र सौरभ कर्माचार्यले संयोजन गरेको कार्यक्रम नगर सभापति नवीन खड्काको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य शुष्मा स्वर्णकार प्रमुख अतिथि रहेकी थिइन् भने क्षेत्रीय सभापति विवेककुमार श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक डा. श्रेष्ठले मानवजीवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनालाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

युवाहरूको सक्रिय सहभागिताले अभियान सफल भएको महसुस भएको उनले बताए । उनले बाँकेका विभिन्न अस्पतालहरूमा पश्चिम नेपालका जिल्लाबाट उपचारका लागि आउने बिरामीको चाप उच्च रहे पनि मागअनुसार रगत संकलन हुन नसक्दा बेला–बेलामा रगत अभाव हुने गरेकोले आफूहरूले कार्यक्रम आयोजना गरको पनि बताए ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार