कोहलपुरमा हुने गोल्डकप फुटबल प्रतियोगिताका लागि बाहिरी जिल्लाबाट आउने खेलाडी, प्रशिक्षक, अफिसियल र खेलप्रेमीहरूको आगमनले कोहलपुरका होटल तथा रेस्टुरेन्ट व्यवसायको व्यापारमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव परेको छ । आवास र खानपानका लागि हुने खर्चले स्थानीय सेवा क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ । खेल हेर्न आउने दर्शकहरूको भीडका कारण स्थानीय साना तथा मझौला उद्योग, खुद्रा पसल र हस्तकलाका सामग्रीहरूको बिक्री बढ्ने अपेक्षा गरिएको छ ।
वीरेन्द्र जैशी । नेपालगन्ज ।
बाघका लागि प्रसिद्ध दुईवटा राष्ट्रिय निकुञ्ज (बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज)को बीचमा रहेको कोहलपुर सहर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक चौराहा पनि हो । यही सहरमा हुँदैछ, खेलको राजा मानिने फुटबलको गोल्डकप प्रतियोगिता । गोल्डकपको अघिल्ला संस्करणमा दर्शकहरूको उल्लेखनीय साथले प्रतियोगिताको महत्व झनै बढाइदियो ।
फुटबलजस्तो प्रशंसक र दर्शकहरू अत्यधिक रहेको खेलको व्यवस्थित प्रतियोगिता आयोजनाले सिधा रूपमा आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन्, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक खगराज पन्त । ‘खेलले बहुआयामिक रूपमा सकारात्मक प्रभाव पार्छ । आर्थिक क्षेत्रमा पनि फुटबल प्रतियोगिताको सकारात्मक प्रभाव पर्छ,’ पन्तले भने, ‘प्रतियोगिताकै कारण प्रतियोगितास्थलमा पानी बेच्नेदेखि होटल रेस्टुरेन्टसम्म धेरैजसो आर्थिक गतिविधिले चलायमान हुने अवसर पाउँछन् ।’
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई गोल्डकपमा हुने दर्शकहरूको उपस्थितिले कोहलपुरको आर्थिक क्षेत्रमा नयाँ आशा जगाएको बताउँछन् । उनले यसअघिका संस्करणमा केही व्यवस्थापकीय कमजोरीहरू रहे पनि दर्शकहरूको व्यापक साथले व्यावसायिक क्षेत्रलाई हौस्याएको बताए । स्थानीय र प्रदेश सरकार समेतको साथ पाएको प्रतियोगिता सबैको साझा प्रतियोगिता भएकोले यसको स्तरोन्नति र निरन्तरताका लागि सबैले साथ दिनुपर्ने धारणा भट्टराईले व्यक्त गरे ।
त्यसमा पनि व्यावसायिक क्षेत्रका लागि ठूलो दर्शकहरूको उपस्थिति हुने प्रतियोगिता एक अवसर भएको उनले बताए । ‘विभिन्न किसिमका उत्सवहरूमध्ये खेलकुद पनि एक उत्सव हो । विशेषगरी कोहलपुरमा फुटबलको गोल्डकपको निरन्तरता र दर्शकहरूको साथलाई हामीले प्रशंसा गर्नैपर्छ,’ भट्टराईले मिसन टुडेसँग भने । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट पनि आर्थिक उन्नतिका लागि अनेक गतिविधिजस्तै खेलकुद प्रतियोगिताहरूको ठूलो महत्व हुने बताए ।
उनले आफूले पनि खेलकुद गतिविधिमा रुची राख्ने गरेको बताउँदै कोहलपुरमा हुने प्रतियोगिताको प्रभाव कोहलपुरमा मात्रै सीमित नहुने बताए।
उनले बाँकेमा नेपालगन्ज रंगशालामा फुटबलको स्तरीय मैदान भए पनि त्यसको सदुपयोग हुन नसकेकोमा भने दुःख व्यक्त गरे । ‘हामीले पाएको ठूलो संरचना एउटा अवसर पनि हो । तर हामीले त्यसको सदुपयोग गर्ने सकेनौँ । यहाँ नियमित रूपमा ठूला खेलकुद गतिविधिहरू हुन सकेनन्,’ रानाभाटले भने, ‘कोहलपुरमा हुने गोल्डकप फुटबल प्रतियोगिताले पनि समग्र रूपमा यहाँको आर्थिक क्षेत्रलाई नै सकारात्मक प्रभाव पार्ने हाम्रो विश्वास छ ।’
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेल पर्यटन क्षेत्रका लागि खेलकुद गतिविधिहरू निकै फलदायी हुने बताउँछन् । उनले कोहलपुरमा हुने खेलकुद प्रतियोगिताले कोहलपुरको पर्यटन मात्रै नभई आसपासका सबै पर्यटकीय गतिविधिलाई टेवा दिने बताए । ‘होटेलमा आउने पाहुनाकै कुरा गर्दा पनि कोहलपुरले शतप्रतिशत लाभ लिन सक्छ भने आसपासका होटलहरूले त्यसको आधा भए पनि लाभ पाउन सक्छन् ।
यस्ता प्रतियोगिताहरूले आयोजना हुने सहरमा मात्रै भन्दा पनि समग्र क्षेत्रमै सकारात्मक प्रभाव पार्ने हुन्छन्,’ कँडेलले भने । उनले होटल व्यवसायी संघले खेलकुद प्रतियोगिताहरूका सन्दर्भमा सरकारलाई निरन्तररूपमा घचघच्याउँदै आएको पनि बताए । कोहलपुरमा हुने गोल्डकप फुटबल प्रतियोगिताका लागि बाहिरी जिल्लाबाट आउने खेलाडी, प्रशिक्षक, अफिसियल र खेलप्रेमीहरूको आगमनले कोहलपुरका होटल तथा रेस्टुरेन्ट व्यवसायको व्यापारमा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव परेको छ ।
आवास र खानपानका लागि हुने खर्चले स्थानीय सेवा क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ । खेल हेर्न आउने दर्शकहरूको भीडका कारण स्थानीय साना तथा मझौला उद्योग, खुद्रा पसल र हस्तकलाका सामग्रीहरूको बिक्री बढ्ने अपेक्षा गरिएको छ । विशेषगरी खेलमैदान आसपासका पसल र खाजाघरहरूमा आर्थिक कारोबार बढ्नेछ ।
अर्काेतिर प्रतियोगिता आफैँमा ठूलो जनशक्ति उपयोग हुने अवसर हो । प्रतियोगिताको तयारी, व्यवस्थापन, सुरक्षा र स्वयंसेवाका लागि ठूलो सङ्ख्यामा जनशक्ति परिचालन हुँदा अल्पकालीन रोजगारी सिर्जना भएको छ । यसका साथै यातायातका साधनको प्रयोग बढेको छ ।
धेरै दर्शकहरूको उपस्थिति हुने खेलकुद प्रतियोगिताहरू उद्योगी तथा व्यवसायीहरूले आफ्ना उत्पादनको प्रवद्र्धन गर्न पाउने प्लेटफर्मको समेत हुन् । यस अवसरलाई व्यवसायीहरूले आफ्नो व्यवसायको प्रवद्र्धन गर्ने अवसरको रूपमा पनि प्रयोग गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्