सुर्खेत ।
जिल्लामा निर्माण भएको मौसमी राडार बिग्रेको तीन वर्ष बित्यो । राडार बिग्रिएपछि अझै मर्मत भएको छैन । जल तथा मौसमजन्य विपत्बाट जोगाउनका लागि तत्कालको मौसम पूर्वानुमान गर्न राडार निर्माण गरिएको हो । सो राडार मर्मत गर्न चालू आर्थिक वर्षमा डेढ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । मर्मतका लागि बजेट विनियोजन भएपछि आगामी वर्षायामदेखि सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।
विसं २०७६ मंसिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा सो मौसमी राडार सञ्चालनमा ल्याइएको थियो । विसं २०७९ मा चट्याङ परेर राडारका महत्वपूर्ण उपकरण बिग्रेको, जेनेरेटरमा पनि क्षति पुगेकाले बजेट अभावमा मर्मत हुन सकेको थिएन । मर्मतका लागि जल तथा मौसम विज्ञान विभागले पटक पटक सूचना आह्वान गर्दा पनि कसैले दरखास्त नहाल्दा मर्मत हुन सकेको थिएन ।
राडार बिग्रँदा मौसमजन्य विपत्का बेला तत्काल मौसमको पूर्वानुमान गर्ने काम ठप्प थियो । जल तथा मौसम विज्ञान विभागको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाको पहलमा अर्थ मन्त्रालयले सुर्खेतको मौसमी राडार मर्मत गर्न डेढ करोड छुट्याएको छ । आयोजनाका प्रमुख नीराजन सापकोटाले सुर्खेतको मौसमी राडार मर्मत गर्नका लागि अर्थ मन्त्रालयले डेढ करोड बजेट सुनिश्चित गरेकाले आगामी वर्षायामदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको बताए ।
उनले अमेरिकी कम्पनीले नेपाली एक कम्पनीसँग समन्वय गरी राडारको सामान ल्याउने सम्झौता भएको जानकारी दिए । आगामी मध्यअसारसम्म उपकरण ल्याइसक्ने तयारी छ । मर्मत गर्न १५ दिनदेखि बढीमा एक महिना लाग्ने भएकाले साउनदेखि राडारलाई सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । सुर्खेतको राडारमा निकै महँगो र महत्वपूर्ण मानिने एमआरपी डिभाइससहित १२ वटा उपकरण बिग्रिएका छन् । उक्त मौसमी राडार विश्व बैंकले करिब १८ करोडको लागतमा निर्माण गरिदिएको हो ।
निर्माणको केही वर्षसम्म राडार राम्रोसँग सञ्चालन भएको थियो । तर २०७९ मा चट्याङ परेपछि राडार ठप्प भएको थियो । आयोजना प्रमुख सापकोटाले बजेट सुनिश्चित भएसँगै राडार मर्मतको काम थालिने र आगामी साउनदेखि सञ्चालनमा आउनेमा विश्वस्त रहन आग्रह गरे । उनले भने, ‘राडारमा प्रयोग हुने उपकरण नेपालमा पाइँदैन । अमेरिकी सामान मात्र उक्त राडारमा प्रयोग हुने गर्दछन् ।’
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कँडेलले सुर्खेतको राडार मर्मतका लागि विभिन्न पहल भइरहेको जानकारी दिइन् । राडार बिग्रँदा अहिले जल तथा मौसमजन्य विपत्को पूर्वानुमानको काम गर्न नसकिएको उनको भनाइ छ । उनका अनुसार एक दिनको तत्काल मौसम पूर्वानुमानसहितको सूचना दिने यस्ता राडार नेपालमा तीन वटा मात्र छन् । सुर्खेतको राडारले प्युठानदेखि पश्चिम क्षेत्रको कभर गर्दछ भने अर्को पाल्पा र उदयपुरमा रहेका छन् । दुई घण्टादेखि एक दिनभरको मौसम कस्तो छ, कस्तो विपत् आउँछ भन्ने कुराको पूर्वानुमान सो राडारले गर्दछ ।









प्रतिक्रिया दिनुहोस्