कोहलपुर ।
नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले नयाँ वर्ष २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । शनिबार एक कार्यक्रमका बीच मञ्चले प्रकाशन गरेको भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रमको नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय सहकोषाध्यक्ष तथा संस्थाका वरिष्ठ सल्लाहकार तिलकसिंह कार्कीले उद्घाटन गरेका थिए ।
भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले देशमा रहेको घरबहालको समस्या समाधानका लागि मञ्चले महत्वपूर्ण काम गरिरहेको बताए । उनका अनुसार नागरिकहरूका सरोकारका विषयमा वकालत गर्नका लागि महासंघले काम गरिरहेको छ ।
‘नयाँ वर्षको अवसरमा सम्पूर्णलाई शुभकामना दिन चाहन्छु । मञ्चले आफ्ना गतिविधि समेटेर भित्तेपात्रो प्रकाशन गरेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दछु ।’ उनले भने । विशिष्ट अतिथि नेपाल सरोकारका लुम्बिनी प्रदेश सचिव देवेन्द्र पौडेलले अहिले पनि घरबहालमा विभिन्न समस्या रहेको भन्दै समाधानका लागि प्रयास भइरहेको बताए ।
उनका अनुसार घरबहालका विषयमा सरकारले उचित ध्यान दिन आवश्यक छ । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेका सल्लाहकार डोलराज अर्यालले मञ्चले बाँके जिल्लामा घरबहालसम्बन्धी रहेका समस्या समाधानका विषयमा कार्य गरिरहेको बताए । उनले आगामी दिनमा जिल्लाभर मञ्चलाई विस्तार गरेर अघि बढ्नुपर्ने भन्दै त्यसका लागि मञ्चले जिल्लाका आठवटै पालिकामा काम गर्नुपर्ने बताए ।
भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता गरेका नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेका अध्यक्ष ढकबहादुर थारूले नयाँ वर्ष २०८२ को अवसरमा मञ्चले प्रकाशित गरेको भित्तेपात्रोका लागि विज्ञापन दिने विज्ञापनदाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा विज्ञापनदातालाई कदरपत्र समेत प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा घरबहाल मञ्च नेपालगन्ज नगर इकाई कमिटीको पहिलो अधिवेशन ताथा साधारणसभा समेत सम्पन्न भएको छ । पहिलो नगर अधिवेशनबाट नेपालगन्ज नगर कमिटी अध्यक्ष सुशीलाश्री विकको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा छमी नगरकोटी, सचिवमा दिपक चन्द, कोषाध्यक्षमा प्रज्वल सुवेदी, सदस्यहरू राजेशकुमार यादव, ताराबहादुर थापा र पुरनलाल वर्मा रहेका मञ्चका बाँके जिल्ला अध्यक्ष थारूले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्