लेकप्रसाद प्याकुरेल
१) शैलीविज्ञानको परिचय
समालोचनाको क्षेत्रमा भाषा साहित्यलाई पर्गेल्न विभिन्न दृष्टिकोण र मान्यताहरू अघि सारिएको छ । यसै सन्दर्भमा अमेरिकामा सन् १९५८ मा भएको पहिलो तथा अमेरिका को सोसल साइन्स रिसर्च काउन्सिल तथा इन्डिया विश्वविद्यालयको संयुक्त तत्त्वावधानमा सन् १९६९ मा भएको दोस्रो अन्तर्राष्ट्रिय गोष्ठीले अघि सारेपछि क्रमश विकसित हुँदै गएको मान्यता हो शैली विज्ञान। संस्कृतको शी धातुमा लक प्रत्यय लागेर शील शब्दको निर्माण भएको शैली शब्दले कुनै पनि कार्य वा गतिविधिको ढड्ग ढाँचा वा विधिलाई जनाउँछ । शैली शब्दलाई संकेत गर्ने अङ्ग्रेजीको क्तथभि स्टाइल शब्द ल्याटिन भाषाको क्तथगिक शब्दबाट विकसित भएको हो जसको अर्थ फलामको कलम भन्ने हुन्छ । सुरुका चरणमा अक्षर मेट्न प्रयोग हुने मुडो भाग र अक्षर लेख्न प्रयोग हुने तीखो र मसिनो भागलाई ल्याटिनमा स्टाइलस भनेको पाइन्छ । प्रारम्भिक चरणमा स्टाइलिस शब्दले लेख्ने साधन विशेषलाई संकेत गरे तापनि कालान्तरमा यस शब्दले लिखित तथा मौखिक अभिव्यक्तिको तौर तरिकालाई जनाउँदै आएको छ। क्तथभि शब्दलाई विभिन्न अर्थमा प्रयोग गरिए तापनि साहित्यशास्त्रमा यसलाई भाव अभिव्यक्तिको पद्धति, लेखकको अभिव्यञ्जना पद्धति र उसको वैयक्तिक विशिष्टता, व्यक्तिको आचार, विचार र व्यवहारको तरिका जस्ता अर्थमा बुझ्न सकिन्छ । शैलीको शब्दगत अर्थ “तरिका”, “रीति”, “ढङ्ग” वा “प्रस्तुत गर्ने विधि” हो। यस सन्दर्भबाट हेर्दा शैलीलाई मूलतः चार प्रकृतिबाट परिचित गराउन सकिन्छ ।
१) लेखक वा वक्ताले आफ्ना विचार र भावनालाई व्यक्त गर्ने विशिष्ट तरिका,
२) भाषा, शब्द चयन, वाक्य संरचना र अभिव्यक्तिको विशिष्ट ढङ्ग,
३) कुनै स्रष्टाको व्यक्तिगत अभिव्यक्तिको पहिचान दिने माध्यम,
४)“कसरी भनिएको छ” मा केन्द्रित विषयवस्तु जुन सामान्य भनाइ वा तरिकाभन्दा विशिष्ट हुन्छ। समग्रमा शैली भनेको कुनै लेखक, वक्ता वा स्रष्टाले आफ्नो विचार, भावना र सन्देश प्रस्तुत गर्ने विशेष तरिका हो।शैली भनेको “कसरी भनिएको छ” मा केन्द्रित हुन्छ जहाँ के भनिएको छ भन्ने विषय गौण भएर आउने गर्दछ।
अभिव्यक्तिको शैलीलाई विज्ञानसम्मत ढङ्गले हेर्ने मान्यता शैली विज्ञान हो। साहित्यलाई सामान्य विचारभन्दा विशिष्ट, पठनीय र रुचिकर बनाउनका लागि शैली विज्ञानले खेल्ने भूमिका सर्वोपरि छ। साहित्यको शैलीलाई निर्धारण गर्ने प्रमुख तत्त्व भाषा हो । भाषाले जति धेरै कलात्मक स्वरूप निर्माण गर्न सक्छ शैली पनि त्यति नै स्तरीय र विशिष्ट बन्दै जान्छ। यसर्थ सामान्य रूपमा शैलीविज्ञानले शैलीको अध्ययन गर्ने विज्ञान भन्ने बुझाउँछ भने विशिष्ट रूपमा यसले भाषाको माध्यमबाट गरिने वस्तुनिष्ठ आलोचना प्रणालीलाई बुझाउँछ (ढुङ्गेल र दाहाल, २०५९, पृष्ठ १२९) । त्यसैगरी शैली वैज्ञानिक समालोचक मोहनराज शर्माका अनुसार “शैली विज्ञानले साहित्यिक कृतिको संरचना, बनोट आदिलाई खोतल्छ र विश्लेषणद्वारा त्यसमा अन्तर्निहित कला, सौन्दर्य र साहित्यिकताको उद्घाटन गर्दछ ।” भने आर फर्नोल्ड डिजका अनुसार “शैलीविज्ञान भाषाको त्यस्तो तत्त्वको अध्ययन हो, जुन तर्कातित हुन्छ अर्थात् नियमहरूबाट टाढा हुन्छ ।“ समग्रमा शैलीविज्ञानलाई रचनाकारको विशिष्ट प्रकृतिको अभिव्यक्तिगत कौशलतासँग जोड्नु सान्दर्भिक हुन्छ। यसर्थ अभिव्यक्ति दिने व्यक्तिले छनोट गर्ने शब्द, वाक्य संरचना, कथन पद्धतिको विशिष्टता नै शैली हो । जसमा भाषिक एकाइको सौन्दर्यबोधक समुच्चय हुन्छ र भाषा एवं विषयका दृष्टिबाट विचलन हुन्छ । भाषाको यही शैलीगत विविधतासम्बन्धी अध्ययन गर्ने विशिष्ट ज्ञानलाई नै शैलीविज्ञान भनिन्छ । “शैली विज्ञानलाई भाषिक शैलीविज्ञान र साहित्यिक शैलीविज्ञान गरी दुई वर्गमा बाँड्ने प्रवृत्ति पाइन्छ। भाषिक शैलीविज्ञानलाई प्रायोगिक भाषाविज्ञानको एउटा शाखाका रुपमा हेर्ने र साहित्यिक शैलीविज्ञानलाई भाषा विज्ञानको शाखाका रूपमा नहेरी स्वतन्त्र विज्ञान वा शास्त्रका रूपमा हेर्ने चलन छ“ (शर्मा र लुइटेल,२०७६, पृष्ठ २४२)। भाषाका संरचनात्मक पक्षहरू (जस्तै—ध्वनि, शब्द, वाक्य, अर्थ) को आधारमा शैलीको अध्ययन गर्ने विज्ञान भाषिक शैलीविज्ञान हो।यसअन्तर्गत शब्द चयन,वाक्य संरचना, ध्वन्यात्मक विशेषता , व्याकरणको अध्ययन गरिन्छ। त्यसैगरी साहित्यिक शैलीविज्ञान भनेको साहित्यिक कृतिहरू (कविता, कथा, उपन्यास आदि) मा प्रयोग गरिएको शैलीको अध्ययन हो। यसअन्तर्गत मुख्य रूपमा अलंकार,प्रतीक , बिम्ब, भाव र अभिव्यक्ति तथा लेखकको व्यक्तिगत शैली को विश्लेषण गरिन्छ।
२ कृति विश्लेषणको शैलीवैज्ञानिक मान्यता
साहित्य कृतिहरूको विश्लेषण गर्ने मान्यताहरू मध्ये विशेषतः कृतिको आन्तरिक पक्षलाई वस्तुवादी कोणबाट विश्लेषण गर्ने मान्यता नै शैली विज्ञान हो। सामान्यतया कृतिको समग्रताका आधारमा विश्लेषण गरिनु कठिन र असम्भव प्राय नै हुन्छ। एकैपटकमा कृतिको सर्वपक्षीय विश्लेषण गरिँदा कृतिभित्रका पूर्ण सूचनाहरू निक्र्योल गर्न गाह्रो भई सिंगो कृतिमाथि नै अन्याय हुने भए देखिन्छ। यसर्थ शैली वैज्ञानिक विश्लेषणले कृति र कृतिकारको शिल्पपक्षमा केन्द्रित भई गरिने रौँचिरा अध्ययनलाई बुझाउँछ। भाषाका माध्यमबाट अभिव्यक्ति कलाको अध्ययन गर्ने शैली विज्ञानले विशिष्ट भाषा अर्थात् काव्य भाषाको प्रयोग भएको संकथनलाई आफ्नो अध्ययनको विषय बनाउँछ। शैलीविज्ञान विश्लेषणका लागि वर्णनात्मक, संरचनात्मक, रूपार्थपरक, प्रजनक, रूपान्तरणत्मक, व्यवस्थापरक आदि पाश्चात्य भाषा वैज्ञानिक आधारहरू अस्तित्वमा आएका छन् भने वक्रोक्ति पद्धति, औचित्य पद्धति, गुण पद्धति, ध्वनि सिद्धान्तबाट पनि शैलीवैज्ञानिक अध्ययन गर्न सक्ने देखिन्छ (शर्मा, २०४८ ः २२६) । शैलीवैज्ञानिक दृष्टिले कृतिको विश्लेषण गर्नका लागि भाषिक पक्ष नै मुख्य आधार हो। यति हुँदाहुँदै पनि शैली वैज्ञानिक विश्लेषणमा साहित्यिक संरचनाको महत्वलाई नजरअन्दाज गर्न मिल्दैन। त्यसैले साहित्यको शैलीवैज्ञानिक विश्लेषण गर्दा भाषिक संरचना र साहित्यिक संरचना दुवै पक्षमा गम्भीर हुनु जरुरी छ। शैली वैज्ञानिक विश्लेषणका क्रममा आउने भाषिक संरचना अन्तर्गत ध्वनि, वर्ण, रूपदेखि सङ्कथनसम्मका एकाइमा विस्तारित भई आबद्ध एवं संरचित हुन्छ। भाषिक उपकरणहरूको संरचनालाई साहित्यिक विशिष्टता दिन क) विकल्प र चयन, ख) अग्रभूमि निर्माण, ग) विचलन, घ) समानान्तरता, ङ) शैली चिन्हक जस्ता घटकहरूको आवश्यकता पर्दछ (अधिकारी, २०६२ ः २६८) । यिनै घटकहरूको केन्द्रीयतामा रहेर साहित्यकार हरिप्रसाद तिमल्सिनाको लिम्पियाधुरा कवितासंग्रहको विश्लेषण गरिनु सान्दर्भिक देखिन्छ।
३) लिम्पियाधुरा कविता सङ्ग्रह
लिम्पियाधुरा साहित्यकार हरिप्रसाद तिमिल्सिनाद्वारा लिखित काव्य विधाअन्तर्गतको फुटकर कविताहरूको सङ्ग्रह हो । भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा वि.सं. २०७७ मा प्रकाशित यस कृतिमा जम्मा ४४ वटा कविताहरू समेटिएका छन् । नेपालको भूगोल विशेषलाई सम्बोधन गरी नामकरण गरिएको लिम्पियाधुरा कवितासङ्ग्रहमा प्रकृति, भूगोल, राष्ट्रियता, व्यक्तित्व, चाडपर्व लगायतका विषयक्षेत्र सम्बन्धी शब्द, शब्दावली र आंशिक रूपमा वाक्य स्तरका शीर्षकहरू रहेका छन् । शार्दूलविक्रीडित, उपजाति, वंशस्थ, भुजङ्गप्रयात, मन्दाक्रान्ता, शिखरिणी, स्रग्धरा, अनुष्टुपजस्ता शास्त्रीय छन्दहरूको प्रयोग भएका कविताहरूमा मानवता, देशप्रेम, राष्ट्रियता, समाजमा देखापरेका विकृति विसङ्गतिहरूको विरोध, निम्नवर्गीय व्यक्तित्वहरूप्रति घर सहानुभूतिर उनीहरूको उन्नति र प्रगतिको कामना, प्रकृति चित्रण, कविहरूको प्रशस्ति र उनीहरूले देखाएको सत्मार्गको अनुसरण, समाजमा साहसिक काम गर्ने व्यक्तित्वहरूको प्रशंसा र प्रेरणा, वीर नेपालीहरूको स्मरणजस्ता विषयक्षेत्रहरूलाई आधार बनाएर लेखिएका प्रायः कविताहरूले कृषक तृतीय पुरुषात्मक कथनपद्धतिलाई आत्मसात् गरेका छन् । तत्सम र तद्भव पृर शब्दको तुलनामा आगन्तुक शब्दहरूको प्रयोग कम गरेर लेखिएका कविताहरूमा खण्ड श्रुतिमधुरता कायम गर्न माधुर्य गुणलाई प्राथमिकतामा राखिएको छ । कृतिमा समेटिएका कविताहरूले अन्त्यानुप्रास, मध्यानुप्रास र कहीँकतै आध्यानुप्रासको परिस्थिति सिर्जना गरेर शब्दालङ्कारमाथि न्याय गरेका छन् भने उपमा, रूपक, दृष्टान्त जस्ता अर्थालङकारहरूले पनि यथोचित स्थान पाएका छन् ।
लिम्पियाधुरा कविता संग्रहमा प्रयुक्त शैलीवैज्ञानिक मान्यता
शैलीवैज्ञानिक मान्यताले कृतिको संरचना, बनोट, अग्रभूमीकरण, गत्यात्मक शक्ति र आयामलाई महत्व दिने गर्दछ। संरचना अन्तर्गत कृतिको पूर्णता, घटकहरूको प्रकार्य, कृतिको स्वायत्ततालाई महत्वका साथ हेरिन्छ भने बुनोट अन्तर्गत छन्द, अलङ्कार, अर्थ, बिम्ब, प्रतीक, कथानक चरित्र आदिलाई महत्व दिइएको हुन्छ। विचलन र समानान्तरता जस्ता विषयहरू अग्रभूमिकरणमा समेटिन्छन् भने विचलन अन्तर्गत पनि कोशीय विचलन, व्याकरणिक विचलन, वर्णात्मक विचलन, आर्थी विचलन, भाषिकागत विचलन पर्दछन् । त्यसैगरी समान्तरता अन्तर्गत बाह्य र आन्तरिक समानतातालाई समेटिएको हुन्छ। शैलीवैज्ञानिक मान्यता अन्तर्गत कवितात्मक शक्ति र गद्यात्मक शक्तिसहितको गत्यात्मक शक्ति तथा आयाम पनि पर्ने गर्दछन्। माथि उल्लेख गरिएका तथ्यअन्तर्गत रहेर शैलीविज्ञानले कुनै पनि कृति विश्लेषणका लागि विकल्प र चयन, अग्रभूमि निर्माण, विचलन, समानन्तरता र शैली चिन्हक जस्ता तत्त्वहरू अघि सारेको छ जसका आधारमा लिम्पियाधुरा कविता सङ्ग्रहको विश्लेषण गरिनु बान्छनीय ठहर्छ।
लिम्पियाधुरामा विकल्प र चयन
कृतिभित्र प्रयुक्त भाषालाई सबल र पाठकको मन छुने प्रकृतिको बनाउनका लागि वर्ण, पद, पदावली, उपवाक्य, वाक्य जस्ता उपयुक्त भाषिक एकाइहरूको चयनमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ। उखान टुक्काको चयन, थेगो व्यक्ति भाषा र आञ्चलिक भाषाको चयन उपयुक्त चिन्हको चयन आदिले पनि कृतिलाई प्रभावकारी बनाउन सक्छन्। कहिलेकाहीँ एउटै सन्दर्भ उल्लेख गर्नका लागि अनेक भाषिक विकल्पहरू उपलब्ध हुन्छन्। यसबेला सबैभन्दा उपयुक्त र विषयवस्तुलाई धारण गर्न सक्ने विकल्पलाई छनोट गर्न सकियो भने मात्रै कृति को प्रभावकारिता बढ्छ। जस्तै कुनै पनि साहित्यकारको सक्रियतालाई उल्लेख गर्नका लागि साहित्यकार अनवरत रुपमा साधनारत छन्; साहित्यकारले निरन्तर लेखिरहेका छन्; साहित्यकारले अझै लेख्न छाडेका छैनन् जस्ता वाक्य स्तरका विकल्पहरू मध्यबाट उपयुक्त र सार्गर्भिक विकल्प छनोट गरिनु आवश्यक हुन्छ। चार हरफको एक श्लोक निर्माण हुनेगरी तयार पारिएको लिम्पियाधुरा कवितासङ्ग्रह भित्रका प्रत्येक हरफभित्र परेका पद पदावलीहरूको निकै सतर्कतापूर्वक चयन गरिएको छ। सङ्ग्रहभित्र परेको पहिलो कवितामै पृथ्वीलाई सुन्दर नभनेर जादु जस्तै, गुराँसलाई गुराँसे रानी जस्ता शब्द जुराइएको छ भने पानी माग्दा दही दिने, वनमा कोइली बास्ने, खोला कलकल गर्ने र अनेकौं गाथाहरूलाई स्मरण गराउने दैलेखको विशेषता, पृथ्वीलाई उज्यालो बनाउन रातमा तारा आउने अथवा माटोलाई मुटु सम्झने नेपालीहरूको स्वभावको प्रसङ्गलाई प्रकटीकरण गर्न चयन गरिएका विशिष्ट पद पदावली तथा वाक्यहरू साहित्यिक एवं कविताले अभिव्यक्त गर्न खोजेको आशयलाई बहन गर्न सक्षम देखिन्छन्। भाषिक स्रोत अन्तर्गत तत्सम तद्भव र आगन्तुक तिनै स्रोतलाई प्राथमिकतामा राखेर शब्द चयन गरिएको छ । पहिलो कविता जन्मभूमि को पहिलो श्लोकमै तीर, प्रज्ञा, ज्योति, निरन्तर, पादुका, कोटिला, सभ्यता, धन, डुङ्गेश्वर, मनोहर लगायतका तत्सम शब्द छन् भने खोला, जादु जस्ता आगन्तुक शब्द र धुलो, धरती जस्ता तद्भव शब्दहरूको चयन गरिएको छ । पदवर्ग अन्तर्गत प्राय नाम विशेषण र क्रियापदलाई अधिक मात्रामा चयन गरिएको छ भने कहिँ कतै है,ल, हो जस्ता निपातहरू को चयनले थेगोको निर्माण गरी रचनालाई अझ आकर्षक बनाएको छ कृतिभित्र परेका अधिकांश शब्दहरू मानक हुँदाहुँदै पनि केही रचनाहरुमा छन्द मिलान गर्नका लागि मानकइतर शब्दहरू पनि चयनमा परेका छन्। रचनाहरूमा केही हरफहरू अभिधापरक ढङ्गले आएका छन् भने केही हरफहरूमा प्रतीकात्मक शैलीको चयन गरिएको छ। तुलनात्मक रूपले अभिधापरक कथ्य शैलीभन्दा ध्वन्यात्मक कथ्य शैली सबल देखिन्छ।
लिम्पियाधुरामा अग्रभूमि निर्माण
कुनै पनि भाषा प्रयोगका क्रममा एउटै कुरा धेरैपटक वा धेरै पहिलेबाट प्रयोग प्रचलन हुँदै आएको खण्डमा त्यो यान्त्रिक बन्दछ। त्यसबाट जोगाउन लेखकले त्यसको परम्परागत प्रयोग क्षेत्रमा परिवर्तन ल्याएर प्रयोगमा नयाँ सन्दर्भ दिनु अग्रभूमि निर्माण हो (दाहाल, २०५८ः १३)। अग्रभूमि अन्तर्गत विचलन र समानान्तरता पर्ने गर्दछन्। सामान्य भाषामा प्रयोग हुने सामान्य भाषिक नियमको अतिक्रमण उल्लङ्घन वा व्यतीक्रमलाई विचलन भनिन्छ(दाहाल, २०५८ः १३)। विचलन भनेको साहित्यिक भाषामा नियमभन्दा फरक तर अर्थपूर्ण प्रयोग हो, जसले अभिव्यक्तिलाई अझ प्रभावकारी बनाउँछ।यो सामान्य भाषाबाट भिन्न प्रयोग हो जसले साहित्यमा सौन्दर्य, प्रभाव र आकर्षण बढाउने गर्छ। विचलनअन्तर्गत कोषीय विचलन, व्याकरणिक विचलन, ध्वनि प्रक्रियात्मक विचलन, लेखन प्रक्रियात्मक विचलन, अर्थतात्विक विचलन आदि पर्दछन्। सामान्यतया व्याकरणिक भाषामा कर्ता,कर्म र क्रियाको संयोजन गरिएको हुन्छ तथापि लिम्पियाधुराका थुप्रै कविताका हरफहरूमा कर्ता,कर्म र क्रियाको सिलसिलेवार रखाई नभई क्रियालाई अगाडि नै राखेर हरफ निर्माण गरी विचलनको परिस्थिति सिर्जना गरिएको छ। यसरी निर्माण गरिएका विचलनयुक्त हरफहरुले साहित्यिकता र काव्य आस्वादनमा अझ प्रभावकारी भूमिका निर्वाह गरेका छन्।
म घस्रेँ देख्दैनौ जब पयरमा बिच्दछ किला
म हल्लेँ देख्दैनौ धरमर भए आशनशिला
दिएँ मैले सारा अमृतसरीका यी जडीबुटी
थिए मेरा इच्छा म पनि बनौला सुन्दर भनी।(पृष्ठ ३)
लिम्पियाधुरा कवितासंग्रह भित्रका केही कवितामा परेका कतिपय हरफहरुमा प्रयोग गरिएका शब्दहरूले सामान्य अर्थ नदिएर विशिष्ट अर्थ प्रदान गर्दा अर्थगत विचलन भएको देखिन्छ। यस्तो अर्थगत विचलन व्यङ्ग्यात्मक हरफहरूमा बढी प्रयोग भएको छ। यसका अतिरिक्त कृतिभित्र आंशिक रुपमा कोशीय विचलन, ध्वन्यात्मक विचलन तथा कथ्य एवं लेख्यगत विचलन पनि पाउन सकिन्छ। लिम्पियाधुरा कविता संग्रह भित्र अग्रभूमि निर्माण अन्तर्गत समानान्तरताको सशक्त प्रयोग भएको पाइन्छ।समानान्तरता भनेको भाषामा एउटै शैली वा संरचना दोहोर्याएर प्रयोग गरी अभिव्यक्तिलाई स्पष्ट, सुन्दर र प्रभावकारी बनाउने कला हो। यसले भाषालाई आकर्षक र प्रभावकारी बनाउनुकासाथै भाषामा लय सिर्जना गर्छ। समानन्तरता पनि बाह्य समानान्तरता र आन्तरिक समानान्तरता गरी दुई प्रकारका हुने गर्दछन्। एकभन्दा बढी ध्वनि शब्दहरू पदावली वाक्य आदिको आवृत्ति बाह्य समानन्तरता हो। जस्तै चाचाले चाचीलाई चाँदनी चोकमा चाँदीको चम्चीले चटनी चटाए। यसमा सम्पूर्णको पुनरावृत्ति पटकपटक भएको हुँदा यो बाह्य समानान्तरताको उदाहरण हो। यस कोणबाट लिम्पियाधुरालाई हेर्दा हरफहरूमा देखिएका अन्त्यानुप्रास, अन्तरअनुप्रास आदिका कारण ध्वनिका समानन्तरताका स्थिति व्यापक देखिन्छ भने आंशिक रूपमा वर्णहरूको समानान्तरता पनि देखिन्छ। हो हो हो रा लय विलय झैँ खेत खन्दै किसान (पृष्ठ ८)। प्रस्तुत उदाहरणमा हो, ए र ख वर्ण तथा अक्षरहरूको पुनरावृत्ति भई समानन्तरता कायम भएको छ। त्यसैगरी इच्छापूर्ण गर्यौ सबै सुख दियौ वात्सल्य छायाँ दियौ (पृष्ठ १६)। यस हरफमा दियौ शब्दको पुनरावृत्ति भई समानन्तरता आएको छ। यसर्थ बाह्य समानन्तरताका दृष्टिले सबल बनेको लिम्पियाधुरामा आन्तरिक समानन्तरताको पनि प्रयोग गरिएको छ सामान्यतया भावार्थ र वाचार्थको पक्षमा हुने आवृत्तिलाई आन्तरिक समानान्तरता भनिन्छ जस्तैः आजको परिणामबाट म खुसी भएँ, दङ्ग परेँ र झन्डै उफ्रिएँ पनि। यस उदाहरणमा खुसी हुनु दङ्ग पर्नु र झन्डै उफ्रिनुले समान अर्थ अभिव्यक्त गरेका छन्। यस प्रकृतिको समानान्तरता लिम्पियाधुरामा समेटिएका प्राय सबै जसो कवितामा प्राप्त गर्न सकिन्छ। समग्रमा हरिप्रसाद तिमल्सिनाको लिम्पियाधुरा कविता संग्रहमा संग्रहित कविताहरूमा शैली वैज्ञानिक मान्यता अनुरूपका विकल्प र चयन, अग्रभूमि निर्माण, समानान्तरता, विचलन जस्ता आधारहरूको सशक्त उपस्थितिका कारण प्रस्तुत कृति शैली वैज्ञानिक कोणबाट सफल रहेको छ ।









प्रतिक्रिया दिनुहोस्