फुटबलमार्फत कोहलपुरलाई चिनाइरहेका खेलाडी



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

समकालीन फुटबलका महान फुटबलर को हुन् ? प्रश्न जति सजिलो छ, उत्तर त्यति नै कठिन छ । एकथरि क्रिस्टियानो रोनाल्डोलाई मान्छन्, अर्कोथरी लियोनल मेस्सीलाई । हुन पनि विश्व फुटबलमा पछिल्लो दुई दशक यी दुई हस्तीले राज गरे । ४१ वर्षीय रोनाल्डो गोल सङ्ख्यामा अघि छन् । ट्रफी जित्नेमा अघि छन् ३९ वर्षीय मेस्सी । एउटै पेसामा भइकन यी दुई जादुयी फुटबलर धेरै कुरामा फरक छन् ।

रोनाल्डो निकै मेहनती र आत्मविश्वासी छन् । सेलिब्रिटी जीवनशैली मन पराउने खेलाडीका रूपमा चिनिन्छन् । मेस्सी स्वभावले लजालु र शान्त छन् । व्यक्तिगत जीवनमा रमाउने खेलाडी हुन् उनी । रोनाल्डो मैदानमा निकै स्पष्ट र आक्रमक रूपमा प्रस्तुत हुन्छन् । उनी चिच्याएर, इशारा गरेर वा आफ्ना सहकर्मीहरूलाई उत्साहित बनाउँछन् ।

मेस्सीको शैली शान्त र प्राविधिक छ । उनी धेरै नबोली आफ्नो खेल कौशल र प्रदर्शनमार्फत टोलीलाई प्रेरित गर्छन् । रोनाल्डोलाई कठोर परिश्रम र अनुशासनको प्रतीक मानिन्छ । मेस्सीलाई प्रायः प्राकृतिक प्रतिभा भएका खेलाडीका रूपमा हेरिन्छ । उनको ड्रिब्लिङ र खेललाई बुझ्ने क्षमता जन्मजात जस्तो देखिन्छ ।

यी खेलाडीको बयान गर्दै ब्राजिलियन महान फुटबलर पेलेको भनेका थिए, ‘रोनाल्डो विश्व फुटबलका स्थिर खेलाडी हुन् । उनको लय उत्कृष्ट छ। मेस्सी पनि विश्व फुटबलले बिर्सन नहुने खेलाडी हुन् । आधुनिक फुटबलले पाएका राम्रा खेलाडी हुन् ।’ रोनाल्डो अहिले साउदी क्लब अल नासर र मेस्सी अमेरिकी क्लब इन्टर मायामीबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

विश्वभर मात्र होइन नेपालमा पनि हजारौँको सङ्ख्यामा यी दुई खेलाडीका फ्यान छन् । तीमध्ये फुटबललाई मन आफ्नो जीवनको अभिन्न अंग बनाएका व्यक्ति हुन्, चक्र चिमला क्षेत्री । रोनाल्डो र मेस्सीमध्ये उनी कसका फ्यान हुन् ? यो उत्तर चाहीँ सजिलो छ, क्षेत्री मेस्सीका फ्यान हुन् । उमेरले मेस्सीभन्दा तीन वर्ष जेठा उनी बाल्यकालदेखि मेस्सीलाई हेर्दै हुर्किए ।

बाँकेको कोहलपुर–२ का ४२ वर्षीय क्षेत्री आफैँ पनि फुटबल खेलाडी हुन् । जसले ८ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेका थिए । ‘हामी सानो हुँदा फुटबलको माहोल अहिलेको जस्तो थिएन । न राम्रो बल, न मैदान र न त कोच । रहरकै भरमा फुटबल खेलिन्थ्यो,’ उनी सम्झन्छन् ।
उनी किशोरावस्थादेखि नै स्थानीय तथा क्लबस्तरीय प्रतियोगिता खेल्दै आएका थिए । क्षेत्रीले २०६१ सालमा सशस्त्र प्रहरी जागिर सुरु गरे ।

जसको प्रमुख उद्देश्य जीविकोपार्जनका साथै व्यावसायिक फुटबल खेल्ने थियो । ‘ए’ डिभिजन क्लबबाट फुटबल खेल्ने उनको सपना २०६६ सालमा पूरा भयो । जहाँ उनले विभागीय टिम नेपाल एपीएफ क्लबबाट २०६८ सालसम्म खेले । त्यसपछि २०७३ सालसम्म पश्चिमाञ्चल फुटबल टिमको कप्तानी गरे । यसैगरी, २०७५ सालसम्म क्षेत्रीले सुदूरपश्चिम टिमको कप्तानी गरेका थिए । आफ्नो व्यावसायिक जीवनमा उनले देशभरका दर्जनभन्दा बढी प्रतियोगिता खेलेका छन् ।

अवकाशप्राप्त वरिष्ठ सशस्त्र प्रहरी हवल्दार समेत रहेका क्षेत्री अहिले फुटबल विकासमा सक्रिय छन् । खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित स्थापित कोहलपुर रेसिङ साहारा क्लबको अध्यक्ष छन् । उनी क्लबको अध्यक्ष भएपछि २०७९ सालमा कोहलपुरमा पश्चिम नेपालकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोहलपुर गोल्डकप सुरु भएको हो ।

जहाँ देशी विदेशी क्लब र खेलाडीहरूको उपस्थिति रहँदै आएको छ । उनी हाल कोहलपुर नगरपालिका नगर खेलकुद विकास समितिको अध्यक्ष समेत छन् । कोहलपुरलाई खेलकुदका माध्यमबाट चिनाउने र नयाँ खेलाडी उत्पादन गर्ने उनको प्रमुख लक्ष्य रहेको छ । कोहलपुर रेसिङ साहारा क्लबका संस्थापक अध्यक्ष हुन्, युवराज शाही । शाही कोहलपुर–५ का स्थानीय समेत हुन् ।

उनी पनि कोहलपुरलाई प्रतिनिधित्व गर्दै नेपालका ‘ए’ डिभिजन क्लबहरूबाट खेलिसकेका खेलाडी हुन् । उनले आफ्नो व्यावसायिक फुटबल थ्री स्टार क्लबाट खेले । अहिले पनि खेलकुद क्षेत्रको विकासमा लागिपरेका छन् । शाहीको नेतृत्वमा सिटी युथ क्लबले ग्रासरुट फुटबल प्रशिक्षण, खेलकुद गतिविधि र नयाँ खेलाडी उत्पादन कार्य गरिरहेको छ ।

फुटबलमार्फत कोहलपुरलाई चिनाएका अर्का खेलाडी हुन्, कोहलपुर नगरपालिका वडा नम्बर ३ का हरि कठायत । उनी कोहलपुर गोल्डकपको आयोजक कोहलपुर रेसिङ साहारा क्लबका उत्पादन हुन् । कोहलपुर गोल्डकपमा उनले आयोजक क्लबको कप्तानी समेत गरिसकेका छन् । कोहलपुरको प्रतिनिधित्व गर्दै ‘ए’ डिजिभन क्लबहरूबाट खेलिसकेका चर्चित खेलाडी समेत हुन् उनी ।

उनले विभागीय टिम नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबाट समेत देशभरका प्रतियोगिता खेलिसकेका छन् । ट्राइकर भूमिकामा खेल्ने उनी निकै प्रभावशाली खेलाडी समेत हुन् । तर दुई महिनाअघि मात्रै फुटबलमा भविष्य खोज्दै नेपाली पुरुष फुटबल खेलाडीको प्रमुख गन्तव्य बनेको अष्ट्रेलिया गएका छन् ।

जनप्रकाश बम ठकुरी ‐विशाल) नेपालको अन्डर २० पुरुष राष्ट्रिय टोलीबाट सन् २०२४ को साफ च्याम्पियनसिप खेलिसकेका खेलाडी हुन् । कालीकोट जन्मस्थान भई कोहलपुर २ मा बसोबास गर्दै आएका उनी कोहलपुर रेसिङ साहाराकै उत्पादन हुन् । उनले दोस्रो र तेस्रो संस्करणको कोहलपुर गोल्डकप समेत खेलेका थिए । अहिले उनी विभागीय टिम नेपाल पुलिस क्लबमा अनुबन्ध भएका छन् ।

जहाँबाट उनी देशभरका ‘ए’ डिभिजन क्लबस्तरका प्रतियोगिता खेल्दै आएका छन् । यसपटक उनले नेपाल पुलिस क्लबबाट कोहलपुर गोल्डकप खेल्दैछन् । कोहलपुर–११ का विशाल थापा मगर अहिले नेपाल एपीएफ क्लबको अन्डर १७ टिमको कप्तान छन् । मगरले राष्ट्रिय टोलीमा अन्डर १७ को प्रतिनिधित्व गरिसकेका छन् ।

तेस्रो संस्करणको कोहलपुरकप खेलेका उनी चौथो संस्करण समेत खेल्दैछन् । कोहलपुर रेसिङ साहारा क्लबका उत्पादन लक्ष्मण (ललित) राना मगर नेपालको टप ‘ए’ डिभिजन क्लब चित्लाङ एफसीबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले राष्ट्रिय लिग समेत खेलिसकेका छन् । कोहलपुरको फुटबलको कुरा गर्दा बिर्सनै नहुने नाम हो, पूजा राना ।

नेपाली महिला राष्ट्रिय टिमकी डिफेन्डर पूजा राना कोहलपुर–१२ की हुन् । उनी लामो समयदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएकी छन् । उनी विभागीय क्लब नेपाल पुलिस क्लबकी नियमित सदस्य समेत हुन् । उनले अहिलेसम्म बंगलादेश र भुटानका क्लबबाट समेत व्यावसायिक फुटबल खेलिसकेकी छन् । रानाले बंगलादेशी क्लब फाराशगन्ज एससीबाट गत सिजन खेलिन् ।

पूजा २०७६ मै भुटानको सनराइज क्लबमा आबद्ध भएकी थिइन् । उनले फेरि सन् २०२५ को सिजन भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसीबाट महिला लिग खेलिन् । अध्यक्ष क्षेत्री क्लबले जिल्ला लिग–२०८२, डि–लाइसेन्स कम्युनिटी कोचिङ कोर्स, १२ जिल्ला सम्मिलित लुम्बिनी प्रदेशस्तरीय छनौट र जिल्लास्तरीय अन्डर १२ र १९ छनौट लगायतका थुप्रै राम्रा कार्य गरेको बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार