विद्यार्थीसँग वडा अध्यक्ष राना



बाँके ।

कोेहलपुर नगरपालिका–८ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग वडा अध्यक्ष लाल बहादुर रानाले साक्षत्कार गरेका छन् ।

वडाध्यक्ष एवम् सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले कक्षा कोठामा पुगि विद्यार्थीहरूसँग छलफल गरेका हुन् । विशेष गरी विद्यार्थीहरूको कक्षा सहभागिता, शिक्षण सामग्रीको प्रयोग, शिक्षण विधिको प्रयोग जस्ता पक्षमा केन्द्रित भएर वडाध्यक्ष रानाले विद्यार्थीहरूसँग अन्तक्र्रिया गरेका थिए ।

कक्षाकोठामा शिक्षणका क्रममा विद्यार्थीहरूकाबीच आईपरेका समस्याहरू पहिचान गरी आवश्यक सुधारका लागि ‘विद्यार्थीसँग वडाध्यक्ष’ अभियानलाई जोड दिइएको उनले बताए । साथै सो अभियानले शिक्षण कार्यमा पाठ्यक्रम, शिक्षक र विद्यार्थीहरूबीच त्रिकोणात्मक सम्बन्ध विकास हुने र शिक्षकसँगै विद्यार्थीले शिक्षणका विभिन्न विधिहरूको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नका लागि आवश्यक सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सो वडामा रहेको एक मात्र सरकारी विद्यालय श्री सरस्वती माविलाई शैक्षिक तथा भौतिक रूपले अब्बल बनाउन विद्यालयका अध्यक्ष एवं वडाध्यक्ष रानाले सम्बन्धित निकायसँग छलफल, सहकार्य तथा समन्वय गरिरहेका छन् । ‘विद्यार्थीलाई विद्यालय प्रती जिम्मेवारी, आफ्नो भविष्यको चिन्तन र विद्यालयमा भएका कमि कमजोरीका बारेमा सबै कक्षाका विद्यार्थीहरूसँग छलफल तथा अन्तक्र्रिया गरेको छु’ उनले भने ।

साथै वडाध्यक्ष रानाले सो विद्यालयको विव्यस अध्यक्ष भएदेखि विद्यालयको भौतिक विकासतर्फ भवन निर्माण, हरियाली वातावरण निर्माणसँगै विद्यालयको गुणस्तरिय शिक्षा तथा प्रविधिमैत्री पठनपाठनमा जोड दिइरहेका छन् । विद्यालयलाई आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरी शिक्षण कार्यलाई प्रभावकारी बनाइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार